चितवन । गत माघदेखि देखापरेको बर्डफ्लुका कारण प्रभावित बनेका कृषकले राहत पाउने विषय अन्योलमा रहेको छ ।
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका अनुसार बर्डफ्लुबाट क्षति व्यहोरेका जिल्लाका कृर्षकले रु २६ करोड राहत पाउनुपर्ने हुन्छ ।
जिल्लामा चार महिनामा देखिएको बर्डफ्लुका कारण तीन लाख ५८ हजार ४११ वटा लेयर्स कुखुरा नष्ट गरिएको थियो ।
ब्रोइलर ६४६ वटा, कडकनाथ ८९६ वटा, हाँस ३५ वटा, बट्टाई आठ वटा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा नष्ट गरिएको कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ३४ स्थानमा बर्डफ्लु देखिएको थियो ।
बर्डफ्लुका कारण नष्ट गरिएका कुखुराको विवरण सङ्कलनको काम भइरहेको भए पनि क्षतिपूर्तिका लागि कार्यविधि नबन्दा राहत पाउने नपाउने भन्ने विषय अन्योलमा रहेको उनले बताए।
राहतका लागि बजेट नहुनु र बर्डफ्लु नियन्त्रण नियमावली २०७८ जारी भए पनि प्रष्टसँग कति राहत दिने भन्ने उल्लेख नहुनुले कृषक समस्यामा परेको उनको भनाइ छ ।
सङ्क्रमण रोगमा बिमा आकर्षण नहुँदासमेत कृषकले ठूलो क्षति व्यहोर्नु परेको उनले बताए । सरकारले राहतका लागि कुनै परिपत्र नगरेको उनले जानकारी दिए।
उनले भने, “राहत दिनुपर्ने हो । तर स्पष्ट निर्देशन आएको छैन । हामीले सबै तयारी गरेका छौं ।” प्रदेश सरकार वा सङ्घीय सरकार कसले पीडित किसानलाई राहत दिने हो त्यो पनि अन्योलमा नै रहेको उनले बताए । जिल्लामा पहिलो पटक विसं २०७८ माघ २८ गते पूर्वी चितवनको राप्तीस्थित अनिता पशुपक्षी तथा कृषि फार्ममा बर्डफ्लु देखिएको थियो ।
पछिल्लो पटक वैशाख २४ गते भरतपुर १६ को बुद्धिमाया गुरुङको फार्ममा बर्डफ्लु देखिएको थियो ।