काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइयो ।
श्रीपञ्चमी तथा वसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुको भीड लागेको छ भने अधिकांश विद्यालयमा विद्यार्थीहरु पुगेर सरस्वतीको पूजा गरिएको छ ।
विद्यालय नपठाएका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
आजकै दिन स्कुलमा नयाँ भर्ना सुरु गर्ने भएकाले स्कुलहरुमा भर्नाको लागि भीडभाड हुने गरेको छ ।
आजको दिन स्कुल भर्ना गर्दा निःशुल्क तथा थोरै शुल्कमा भर्ना गर्ने चलन रहेकाले धेरै बालबालिकाहरुलाई स्कुल भर्ना गर्ने र आजैबाट पढाइ सुरु गराउने परिपाटी रहेको छ ।