• २०८१ बैशाख १७ सोमबार

चुनाव जित्ने ओली, ‘पावर सेन्टर’ बने प्रचण्ड 

kharibot

काठमाडौँ । आम निर्वाचनको प्रत्यक्षतर्फको मत परिणाम लगभग आइसकेको छ । अहिले समानुपातिकतर्फको मतपरिणाम आउने क्रममा रहेको छ । यससँगै अब नयाँ सरकार बनाउने गृहकार्य पनि सुरु हुन थालेको छ । 

यस चुनावको जनादेश अनुसार केपी ओलीले चुनाव जितेका छन् भने ‘पावर सेन्टर’ पुष्पकमल दाहाल प्रचण्डको हातमा पुगेको छ ।

कस्तो बन्ला संसदको अंक गणित ?

अहिलेको स्थितिमा बाम गठबन्धनले बहुमत ल्याउने भए  पनि दलका हिसाबले भने कुनै दलको बहुमत भने आउने देखिदैन । किनकी एमालेले प्रत्यक्षतर्फ ७७ सिट जितेको छ भने माओवादी केन्द्रले ३६ सिट जितेको छ भने काँग्रेसले २१ सिट जितेको छ । त्यस्तै मधेसवादी दल राजपा र संघीय फोरमले १०, १० सिट जितेका छन् ।

त्यस्तै समानुपातिकतर्फको अहिलेसम्मको मतपरिणामको ट्रेन्ड हेर्दा एमालेका कम्तिमा ४० (अनुमानित) सिट जति थपिने देखिन्छ । यसरी हेर्दा एमालेको कुल सिट संख्या ११६-१२० सम्म पुग्ने देखिन्छ । त्यस्तै काँग्रेसको पनि अहिलेको ट्रेन्ड हेर्दा बढीमा ४० (अनुमानित) सिटकै हाराहारी आउने देखिन्छ । प्रत्यक्ष र समानुपातिक गर्दा काँग्रेसको ६० सिट जति हुने देखिन्छ । त्यस्तै माओवादी केन्द्रको समानुपातिकको अहिलेसम्मको ट्रेन्ड हेर्दा २० (अनुमानित) सिट आउने देखिन्छ । प्रत्यक्षमा जितेको ३६ सिट गर्दा माओवादीको ५६ सिट हुने देखिन्छ । 
यस हिसाबले संसदमा एमाले पहिलो दल, कांग्रेस दोस्रो र माओवादी तेस्रो दल हुने देखिन्छ ।

एमाले-माओवादी गठबन्धन मै सिमित की एकता पनि होला ?

अब सरकार कसरी बन्छ भन्ने कुरा एमाले र माओवादीबीच कुरा कसरी अगाडी बढ्छ भन्ने कुरामै भर पर्ने देखिन्छ । किनकी दुवै दलले गठबन्धनको नाममा मत लिएपनि पार्टी एकता र ‘पावर सेयरिंग’ कै आधारमा नयाँ सरकार र राजनीति अगाडी बढ्ने देखिन्छ । 

चुनाव पछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डका कुराम फरक फरक धारणा बाहिर आएकाले सजिलै सरकार बन्छ या एमाले-माओवादी पार्टी एकता गर्छन भन्ने कुरामा शंका उब्जिएको छ । 

प्रचण्डले सरकार र पार्टी एकतासँगै हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् भने ओलीले पहिला सरकार अनि पार्टी एकता भनेका छन् । तर प्रचण्डले ओली र आफु दुई कार्यकारी पदमा हुने भन्ने कुरा पनि ओलीले सिधै खारेज गरेका छन् । अझ रोचक कुरा त दुबैले मिडिया एक अर्काका कुरा काटेका छन् । 

प्रचण्डका सार्वजनिक अभिव्यक्ति हेर्दा र सुन्दा उनि पार्टी एकता पछि अध्यक्ष हुन् चाहन्छन र ओलीलाई प्रधानमन्त्री बनुन् भन्ने चाहेको देखिन्छ । तर ओलीका अभिव्यक्तिले उनले प्रचण्डलाई सजिलै पार्टीको नेतृत्व दिने मुडमा देखिदैनन् । त्यस्तै ओलीले प्रचण्डले उठाउदै आएको कार्यकारी राष्ट्रपतिको एजेन्डा र संबिधान संशोधनको एजेन्डालाई पनि सिधै खारेज गरेका छन् । 

अब यस्तो अवस्थामा प्रचण्ड र ओलीबीच कसरी शक्ति सन्तुलन मिलाउछन् भन्ने कुरा रोचक र घोचक देखिएको छ ।  

शक्ति केन्द्रको चलखेल हुने सम्भावना :

नेपालको राजनीतिमा विभिन्न विदेशी शक्ति केन्द्रको चलखेल ओपन सेक्रेट कुरा हो । अब बन्ने संसदमा पनि यसको गुन्जायस देखिएको छ । कुनै एक दलको बहुमत नआउने अवस्थामा र एमाले माओवादी एकीकरण नभएको अवस्थामा शक्ति केन्द्रको चलखेलमा नेपाली राजनीति फेरी फस्ने सम्भावना देखिएको छ । 

यँहा निर एमाले-माओवादी चुनाव अघि नै एकता भएको भए यी सब कुराको कुनै गुन्जायस नै हुने थिएन तर कुनै एक दलको बहुमत नआउने अहिलेको स्थितिमा शक्ति केन्द्रको चलखेल बढ्ने ठाउ प्रशस्त देखिएको छ । 

सिधा हिसाबमा बाम गठबन्धनको बहुमत आएकाले सरकार बन्ने र देशलाई विकासमा केन्द्रित गर्नुपर्ने कुरामा कनै शंका छैन र जनादेश पनि त्यहि हो तर नेपालको राजनीति कहिल्लै सिधा हिसाबले अगाडी नबढ्ने पुरानै रोग भएकाले राजनीति सिधै अगाडी बढ्छ भन्ने कुरामा धेरै शंका गर्न सकिन्छ ।

यी सब घटनाक्रम र परिस्थितिलाई विश्लेषण गर्दा चुनाव ओलीले जितेपनि राजनीतिको पावर सेन्टर प्रचण्डको हातमा पुगेको छ । ओलीले प्रचण्डलाई चित्त नबुझाएमा वा शक्ति सन्तुलन नामिलाएमा स्थिर सरकार फेरी कोरा कल्पना हुन सक्ने देखिन्छ, यद्यपी अहिले नै यस्तो भन्नु अलि हतार हुन्छ । 

विगतमा प्रचण्डको अस्थिर राजनीतिक यात्रा देखिएकाले शक्ति केन्द्रको चलखेलमा पर्छन की यसलाई चिरेर जनमतको कदर गर्दै बाम गठबन्धनको स्थिर सरकार चलाउन मद्धत गर्दछन त्यो भने केहि दिनमा निर्केयौल हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय