• २०८१ बैशाख १६ आइतबार

एमालेको बिचित्रको तालमेल !

kharibot

काठमाडौँ । उम्मेदवारले चुनाव चिन्ह पाएर अन्तिम सूची समेत सार्बजनिक भएसँगै अब उम्मेदवारहरु चुनाव प्रचारमा जुटेका छन् । यस पटकको चुनावमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच नै प्रमुख प्रतिष्पर्धा हुने देखिएको छ । एमालेले पनि सत्तारुढ गठबन्धनलाई चुनौती दिन हरसम्भव प्रयास गरेको देखिन्छ । एमालेले चुनावी तालमेल गर्न कसैलाई बाँकी राखेको देखिदैन । गत निर्वाचनमा पाएको बहुमतलाई बचाउन नसकेको एमाले नेतृत्वले यस चुनावमा गरेको चुनावी तालमेल निकै बिचित्र किसिमको देखिएको छ ।

एमालेले एकातिर सत्तारुढ गठबन्धनलाई सम्बिधन विपरित गठबन्धन गरेको भन्दै कडा आलोचना गर्ने गरेको छ भने आफैले निर्वाचनमा सकेजति सबैसँग चुनावी तालमेल गरेको छ ।

एमालेले राजा ल्याउनु पर्छ, हिन्दुराज्य पुनर्स्थापित गर्नुपर्छ भन्ने प्रमुख एजेन्डा बोकेको राप्रपासँग चुनावी तालमेल गरेको छ । एमालेले झापामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई, बाँकेमा धवलशमशेर जबरालाई र रुपन्देहीमा दिपक बोहोरालाई समर्थन गरेको छ । 

अर्को तर्फ एमालेले मकवानपुरबाट आफ्नै चुनाव चिन्ह सुर्यबाट लड्ने गरि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएको छ ।

अर्को तर्फ एमालेले गठबन्धन छोडेर आएका जनता समाजवादी पार्टी (जसपा) सँग प्रतिनिधि सभाका १७ स्थानमा तालमेल गरेको छ ।  जसपा अध्यक्ष उपेन्द्र यादव यस अघि तत्कालिन नेकपाको नेतृत्वमा रहेको सरकारमा रहेपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग असहमत हुदै सरकारबाट बाहिरएका थिए । त्यसपछि यादवले काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएका थिए । तर टिकट वितरणको अन्तिम समयमा गठबन्धनसँग कुरा नमिलेपछि एमालेसँग तालमेल गरेका छन् ।

त्यसैगरी एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेको डडेल्धुरामा नेपाली काँग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्ललाई समर्थन गरेको छ । एमालेले सो क्षेत्रमा आफ्नो उम्मेदवारी फिर्ता लिएर मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ । मल्ल हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा काँग्रेसबाट निस्कासित भएका थिए ।

त्यस्तै एमालेले चुनावी तालमेल काँग्रेसका बागी उम्मेदवारलाई पनि समर्थन गरेको छ । एमालेले चितवन-३ मा गठबन्धनका उम्मेदवारविरुद्ध बनेका काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गरेको छ । एमालेले सो क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको छ ।

एमालेले गरेको चुनावी तालमेलको स्वरूप हेर्दा सत्तारुढ गठबन्धनसँग डराएको देखिन्छ । अन्यथा गठबन्धन गरेको भन्दै काँग्रेस र माओवादी केन्द्रलाई सत्तोसराप गर्ने एमालेले आफुले कमल थापा, राप्रपादेखि काँग्रेसकै बागी उम्मेदवारसँग तालमेल गर्नु आफैमा बिचलित मनस्थितिसहित निर्वाचनमा जान लागेको बुझ्न सकिन्छ । एमाले नेतृत्वले आत्मविश्वास गुमाएर चुनावमा जान लागेको बुझ्न सकिन्छ  ।

पार्टीभित्र टिकट वितरणमा पक्षपात गरिरहेको विषयमा नेतृत्वको आलोचना भइरहेका बेला एमाले नेतृत्वलाई घनश्याम भुसाललाई टिकट नदिएर दिपक बोहोरालाई भोट माग भनेर कार्यकर्तालाई कसरी भन्छ भन्ने प्रश्न आम मतदाताको रहेको छ । त्यस्तै भीम रावल जस्ता नेतालाई टिकट नदिएर कमल थापालाई आफ्नो चुनाव चिन्हमा लडाउने नेतृत्वको रणनीति आफ्नै कार्यकर्तालाई कसरी बुझाउछ भन्ने पनि आम रुपमा कौतुहलता रहेको पाइन्छ ।   

सत्तारुढ गठबन्धन दिनप्रति अलोकप्रिय भइरहेको अवस्थामा एमालेले आफुले जनतालाई एक अवसरका लागि अपिल गर्नसक्ने मौका थियो यो । एमाले नेतृत्वले चुनावी तालमेलमा देखाएको अपरिपक्कता र विचित्रताले त्यो मौका गुमाएको बुझ्न सकिन्छ । एमालेको यस कदमबाट आमरुपमा अन्योलमा रहेका मतदातालाई थप अन्योलमा पारेको देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै