• २०८१ बैशाख ८ शनिबार

एकीकृत समाजवादी: गठबन्धनलाई दोष पनि आश पनि !

kharibot

काठमाडौं । सरकारले मङ्सिर ४ गतेका लागि एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै देश अब आम निर्वाचनमा होमिएको छ । संबिधान निर्माणपछि भएको निर्वाचनको ५ बर्षे कार्यकाल समाप्त हुदै गर्दा दोस्रो आम निर्वाचनमा देश जाने निश्चित भएको छ । यस अवसरमा हाल गठबन्धनसँग सत्तामा रहेको नेकपा एकीकृत समाजवादीका कस्ता चुनौती रहेका छन् ? कस्तो रणनितिसहित एकीकृत समाजवादी निर्वाचनमा जानसक्छ भन्ने बारे विश्लेषण गरिएको छ ।  

माधवकुमार नेपालले नेकपा एमालेलाई फुटाएर एकीकृत समाजवादी बनाएपछि स्थानीय चुनावमा सोचे जस्तो सफलता नपाएको गुनासो यस बीचमा उनले धेरै ठाउमा गरेका छन् । यसका लागि उनले काँग्रेसले गठबन्धनको धर्म ननिभाएको आरोप पटक पटक लगाएका छन् । तर काँग्रेसलाई आरोप लगाइरहदा एकीकृत समाजवादीले स्थानीय तहमा जति जितेको छ त्यो माओवादी र कांग्रेसको सहारामै जितेको भन्ने विर्सेका छन् ।

एमालेबाट बिभाजन भएपछि देखि नै सोचे जस्तो सांगठानिक संरचना बनाउन एकीकृत समाजवादीले सकेको छैन । सरकारमा आफ्नो भागमा परेका पदहरुलाई पालै पालो दिने शर्तमा नेताहरुलाई आफ्नो पार्टीमा ल्याएको जस्तो एकीकृत समाजवादीको यस बिचको क्रियाकलापले देखिन्छ । हालै केन्द्रमा गरिएको मन्त्री परिवर्तन पनि यसैको एउटा सिलसिला थियो । अर्को भाषामा भन्दा एकीकृत समाजवादी अहिलेसम्म संगठन नै बन्न सकेको छैन । अध्यक्ष नेपाललाई रिझाउने र लाभको पद लिने समुहको झुण्ड जस्तो बनेको देखिन्छ ।

पछिल्लो समय अध्यक्ष नेपालले देखाएको निराशापनले पनि एकीकृत समाजवादी पार्टीको रुपमा स्थापित हुन नसकेको र आउदो निर्वाचन धेरै ठुलो परीक्षा भएको बुझ्न सकिन्छ । आउदो निर्वाचनमा एकीकृत समाजवादीका मुख्य रुपमा दुई चुनौती रहेका छन् ।

गठबन्धन

स्थानीय चुनावमा गठबन्धन राम्रोसँग हुन सकेन र काँग्रेसले आफुहरुलाई मत दिएन भन्नु र काँग्रेसको आलोचना गर्नु एकीकृत समाजवादीलाई प्रत्युत्पादक हुने देखिन्छ । किन भने अहिले गठबन्धनमा रहेका दलहरु मध्य सबैभन्दा बढी गठबन्धनको आवश्यकता एकीकृत समाजवादीलाई नै रहेको देखिन्छ । एक्लै निर्वाचन लडेमा एकीकृत समाजवादीले शायदै एक सिट मणि जित्न सक्छ । यस्तो अवस्थामा गठबन्धन दलहरुको आलोचना गरेर समय बिताउनु ठुलो जोखिम मोलेको हुने छ । यसको साटो नेता नेपालले काँग्रेस र माओवादी केन्द्रसँग घनिभूत छलफल गरेर गठबन्धनको वातावारण राम्रो बनाउनुनै फाइदाजनक हुने देखिन्छ ।

अझ एकीकृत समाजवादीका नेता झलनाथ खनालले त स्थानीय निर्वाचनमा काँग्रेसले  गठबन्धनकोधर्म पालना नगरेको भन्दै आउदो चुनावमा बरु एमालेसँग सहकार्य गर्न सकिनेसम्मको अभिव्यक्ति दिएका थिए । तर अब एकीकृत समाजवादीले सत्तारुढ गठबन्धन मै रहेर चुनाव लड्ने भएपछि गठबन्धन दलहरुको आलोचना गरेर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम बन्द गर्नु पर्छ । त्यसैले एकीकृत समाजवादीका पछिल्ला गतिबिधिले गठबन्धनका दलहरु र तिनीहरुका कार्यकर्ताको मन जित्नुपर्ने चुनौती रहेको छ ।

आफैभित्रको मतभेद

पछिल्लो समय केन्द्रीय सरकारमा मन्त्री फिर्ता बोलाउने क्रममा एकीकृत समाजवादी भित्रको विवाद छताछुल्ल भएको थियो र यो क्रम अहिले पनि देखिएको छ । एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि अध्यक्ष नेपालसँग असन्तुष्टि व्यक्त गरिरहेको देखिन्छ ।

यसै क्रममा अध्यक्ष नेपालले शहरी विकास मन्त्रालय अन्तर्गतका केहि योजना आफ्नो गृह जिल्ला रौतहटमा उद्घाटन गरेको विषयमा पूर्वमन्त्री झाँक्रीले बिना योजना उद्घाटन गरेको भन्दै टिप्पणी गरेपछि नयाँ विवाद सिर्जना भएको छ । झाँक्रीको टिप्पणी पछि मन्त्रालयले विज्ञप्ति निकालेर नै खण्डन गरेको थियो । यो प्रकरणले एकीकृत समाजवादीमा रहेको विवाद बाहिर आएको छ । निर्वाचनको मुखमा देखिएका यस्ता असहमति पक्कै राम्रो संकेत होइन । यसलाई चिर्न सक्नु एकीकृत समाजवादीका लागि चुनौतीपूर्ण देखिन्छ ।

यी त बाहिर आएका असन्तुष्टिहरु हुन । दल खुलेको छोटो समयमा नै सत्ता केन्द्रित राजनीति गरेको आरोप लागेको एकीकृत समाजवादीको चुनाव पछिको हैसियत के हुन्छ भन्ने ठुलो प्रश्न रहेको छ । नत पुगेकाहरुले पार्टीको छबिलाई राम्रो बनाउने कुनै काम गर्न सकेका छन् नत पार्टीले नै कुनै आकर्षक कार्यक्रम दिएर आम जनतालाई आकर्षित गर्न खोजेको छ । अहिले एकीकृत समाजवादी एमालेको सानो भाईको रुपमा स्थापित हुने तरखरमा रहेको मात्र देखिन्छ ।

आम जनता बिच स्थापित हुन नसक्नु एकीकृत समाजवादीका लागि सबैभन्दा ठुलो चुनौती देखिएको छ । गठबन्धनका कारण प्रत्यक्षमा २-४ सिट जित्ने अनि समानुपातिकमा पाएको मतको आधारमा राष्ट्रिय दलसम्म हुन सके एकीकृत समाजवादीका लागि ठुलो उपलब्धि हुने देखिन्छ ।

निष्कर्षमा. एकीकृत समाजवादीको चुनावी भविष्य गठबन्धनमा रहेका दलहरुको हातमा रहेको छ । इमान्दार रुपमा गठबन्धन भए अनुसार मतदान भएमा मात्र एकीकृत समाजवादीले चुनावमा अपेक्षित सफलता पाउने छ र आउदा दिनको राजनीतिक दिशा प्रष्ट हुने देखिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै