• २०८१ बैशाख १४ शुक्रबार

प्रचण्ड-माधव-बाबुराम-वामदेव एक ठाउँमा, के हो राजनीतिक सन्देश ?

kharibot

 काठमाडौं । आम निर्वाचन नजिकिदै गर्दा दलहरुबीच गठबन्धन र तालमेलको क्रम पनि चलिरहेको छ ।

आउदो निर्वाचनले सँगै सशस्त्र लडाई लडेका पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई फेरी एक पटक एक ठाउमा आएका छन् । बाबुराम नेतृत्वमा हालै जन्मिएको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने र चुनाव पछि एकीकरण सम्म हुने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय एकता अभियान चलिरहेका वामदेव गौतमले पनि माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका छन् ।

यस घटनालाई बाबुरामको बाध्यता र प्रचण्डको महत्वकांक्षाको नतिजाको रुपमा पनि विश्लेषण गरिएको छ । बाबुरामसँग उपेन्द्र यादवसँग अलग भएपछि धेरै विकल्प बाँकी थिएनन् । गत निर्वाचनमा काँग्रेको सहारामा चुनाव जितेपनि यस पटक काँग्रेससँगको सिधा सहकार्य त्यति सहज थिएन । त्यसैले बाबुरामले प्रचण्डको सहारा लिएर संसदमा जाने बाटो रोजेका छन् । यसले उनलाई कम्तिमा सांसद बन्ने बाटो केहि हदसम्म खुलेको देखिन्छ । अर्कोतर्फ एक पटक प्रधानमन्त्री बन्ने महत्वकांक्षा बोकेका प्रचण्डले एमाले र काँग्रेस पछि निर्वाचनमा बलियो शक्तिको रुपमा स्थापित हुने पहलकदमी स्वरूप स-साना दल र समुहलाई आफ्नो नेतृत्वमा एक ठाउमा ल्याउन सफल भइरहेको देखिन्छ । यसमा बाबुराम भट्टराई र वामदेव गौतम आइसकेका छन् भने अब माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि आउने भएको छ ।

प्रचण्डले एकीकृत समाजवादीसँग पनि संयोजन समिति गठन गरेर एकै चुनाव चिन्हबाट चुनावमा जाने बताएका छन् । स्थानीय चुनावमा सोचे जस्तो सफलता नपाएको र गठबन्धन पनि तल्लो तहसम्म कार्यान्वयन हुने सम्भावना कम रहेको अवस्थामा नेपालपनि माओवादी कै चुनाव चिन्ह हसिया हथौडाबाट निर्वाचनमा जाने निष्कर्षमा पुगेको बुझिएको छ । प्रचण्डले अहिले एकीकृत समाजवादीसँग पनि पार्टी एकता र संयोजन समिति बनाएर जाने र निर्वाचनपछि पार्टी एकीकरण नै हुने दाबी गरेका छन् । एकीकृत समाजवादीले यस विषयमा अहिलेसम्म स्पष्ट नबताए पनि उ सँग पनि धेरै विकल्प बाँकी नरहेको देखिन्छ ।

बलियो हुने रणनीतिमा प्रचण्ड

बाबुराम भट्टराई, बामदेव गौतम र माधवकुमार नेपाल एकठाउमा आएर चुनाव लडेपछि प्रचण्डको शक्ति चुनाव पछि स्वत: बढ्ने अनुमान गर्न सकिन्छ । साथै यसको अर्को अर्थ गठबन्धनमा नेपाली काँग्रेससँग चुनावमा सिटको भागबण्डामा पनि बार्गेनिङ बढ्ने देखिन्छ । प्रचण्डले आम निर्वाचनमा काँग्रेस पछिको शक्ति बन्ने गरि जान खोजेको प्रष्ट देखिन्छ ।

एमाले भन्दा बढी सिट नजितेमा प्रधानमन्त्री बन्न नपाइने उनले राम्रोसँग बुझेका छन् । समानुपातिक मतमा एमालेलाई पछि पार्न मुस्किल रहेकाले प्रत्यक्षमा काँगेसपछि धेरै सिट जित्ने जोडबल अनुसार नै उनले अहिले काम गरिरहेको देख्न सकिन्छ ।

साथै प्रचण्ड जसरी भएपनि एमालेलाई सत्ताको वरिपरी आउननै नदिने रणनिति अनुसार अगाडी बढेको देखिएको छ । जस अनुसार उनले आफु बलियो हुने र स-सानो समुहमा रहेका दल तथा नेताहरुलाई एक ठाउमा लिएर आफु बलियो शक्ति रहेको सन्देश दिन खोजेको देखिएको छ ।

निष्कर्षमा प्रचण्डले यस सहकार्य र एकीकरणको अभियानबाट काँग्रेस  र एमालेलाई सन्देश दिन खोजेको देखिन्छ । एमालेलाई काँग्रेसको सहयोगमा सत्ताबाट बाहिर राखिरहने प्रचण्डको स्पष्ट सन्देश देखिन्छ । साथै प्रचण्ड-माधव-बाबुराम-बामदेव एकठाउमा आएपछि एमालेको समस्या थप बढ्न सक्ने पनि देखिन्छ ।  

काँग्रेससँग आफ्नो शक्ति बढाएर कम्तिमा एक पटक प्रधानमन्त्री बन्ने रणनीतिमा अगाडी बढेको बुझ्न सकिन्छ । उनको रणनिति अनुसार निर्वाचनको परिणाम आएमा त्यो सम्भव पनि देखिएको छ तर काँग्रेसले सिट बाँडफाँडमा प्रचण्डसँग अब कसरी सहमति गर्छ भन्ने कुरामा धेरै कुरा निर्भर गर्दछ । काँग्रेस भित्र पनि धेरै गुट-उपगुट रहेको र ठुला नेताहरु नै निर्वाचन जित्नेमा ढुक्क नरहेकाले प्रचण्ड यसै कमजोरीमा खेलेर आफु सफल हुने रणनितिमा रहेको देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै