• २०८१ बैशाख १७ सोमबार

चुनावको मुखमा देउवाको मास्टर स्ट्रोक : पृथ्वी जयन्तीमा बिदा 

kharibot

काठमाडौँ । तत्कालिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एक अन्तर्वार्तामा पृथ्वी जयन्तीमा सरकारले बिदा दिने निर्णय गरेको खुलासा गरेका थिए । 

एक वर्ष अघि प्रचण्ड नेतृत्वको सरकारका उपप्रधानमन्त्री निधिकै त्यो खुलासाले आधुनिक नेपालका एकीकरणकर्ता राजा पृथ्वी नारायण शाहको मान सम्मान खोज्ने देशभित्र र बाहिरको ठूलो तप्का प्रफुल्लित पनि भएको थियो । तर सो खुलासा अघिल्लो साल व्यवहारमा लागू नहुदै तुहियो । अनि पृथ्वी जयन्तीमा बिदा हुने लालसाको ठूलो पक्ति तत्कालिन प्रचण्ड सरकार विरुद्ध क्रुर आक्रमणमा उत्रियो ।

पृथ्वी जयन्तीमा बिदा दिने सरकारी प्रयाश अघिल्लो वर्ष हात्ति आयो हात्ति आयो फुस्सा भएको आलोकमा यसवर्ष भने क्रमभंग भएको छ । सरकारले माईन्यूट सार्वजनिक नगरे पनि पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको खुलासा हालका उपप्रधानमन्त्री कमल थापाले गरिसकेका छन । अघिल्लो सरकारमा निधिका काउन्टर पार्ट उपप्रधानमन्त्री रहदा उपको वरिष्ठ बिवादमा नाट्क गरेका थापाले अहिले काँग्रेसकै नेतृत्वको सरकारका पालामा निधि मन्त्री समेत नभएको बेला पृथ्वी जयन्तीमा बिदा दिने सरकारी निर्णय भएको बताएका छन ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले स्यावासी पाएको संभवतः यही नै पहिलो निर्णय हुनुपर्छ, जहाँ सरकारप्रति सामाजिक संजाल र खास मिडियाहरुमा सरकार प्रमुख देउवाको उच्च प्रशंसा गरिएको छ । एक हिसाबले सरकारी निर्णयमा खुसीयाली मनाउदै सरकार प्रमुख देउवा धेरै सामाजिक तप्काबाट धन्यवादका पात्र भएका छन । भलै, यो निर्णयको कुनै दस्तावेज सार्वजनिक भएको छैन । 

उपप्रधानमन्त्रीले नै भनेका कारण आम मानिसले पृथ्वी जयन्तीमा बिदा दिने सरकारी निर्णय भएको ठानेका छन । तर साच्चो कुरो अर्को महिना पौष मसान्ततिर पर्ने पृथ्वीजयन्तीकै दिन स्पष्ट होला शायद ।

सरकारी निर्णय सही थियो, हो, भएको हो भने । किन भने गणतन्त्रको आगमनसंगै देश बनाउने पहिलो शाहवंशीय राजालाई अनाहकमा राज्यले ओझेल पार्ने बिगत सरकारहरुको भुल क्षम्य थिएन । राजा पृथ्वी नारायण शाहले जुनसुकै नियतले गरेको भए पनि नेपाल एकीकरण गरेको तथ्य ईतिहासको अकाट्य सत्य हो । यो सत्यलाई गणतन्त्रको राप र तापले खुईल्याउने वा छोप्न खोज्नु गलत नै थियो । अहिले देश राजाविहिन गणतन्त्रको शासकीय स्वरुपमा अभ्यस्त भएकै कारण देश बनाउने राजालाई राज्यले नसंझनु पर्ने कारण थिएन । केही ढिलो त अवश्य भएको हो तर प्रधानमन्त्री देउवाले पृथ्वी जयन्तीबारेको बिगत सरकारको भुल सच्चयाएर नयाँ कीर्तिमानी इतिहास नै बनाएका हुन ।

कथित राजावादी दल राप्रपा  नै काँग्रेस नेतृत्वको सरकारमा सामेल भएको मौकामा सरकारले पृथ्वी जयन्तीको बिदाबारेको सरकारी भुलमा गरेको करेक्सनको जस लिन कमल थापा अग्रभागमा देखिए । तर यो झुट हो । किन भने कार्यकारी प्रधानमन्त्री देउवाले नचाहेको भए यो निर्णय नहुन पनि सक्ने थियो । कमल थापा नै सरकारमा रहेका बेलामा सरकारी निर्णय हुनुले कमल थापालाई जस लिने कागताली संयोग मात्रै जुरेको हो । कमल थापाको जोडबलले मात्रै यस्तो निर्णय हुनेथियो भने उनले  केपी ओली र प्रचण्ड प्रधानमन्त्रीको सरकारमा उपप्रधानमन्त्री हुदै यस्तो निर्णय गराउन सक्नुपर्ने थियो । तर सकेनन् । सत्य त्यति मात्रै हो । किन भने सत्तास्वादमा रमाउदा एजेण्डा बिर्सने रोगले कमल थापा ग्रस्त थिए, छन् पनि ।

बरु पशुपतिशम्शेर राणा र उनै नेतृत्वको राप्रपा प्रजातान्त्रिकले यो निर्णयमा भित्री भुमिका खेलेका हुन् । किन भने पशुपतिशम्शेर राणाले हिन्दू राष्ट र पृथ्वी जयन्तीबारे सरकारप्रमुख देउवासँग भद्र सहमति गरेरै सत्तायात्रा र चुनावी सहकार्य गरेका हुन् । यहाँनेर प्रधानमन्त्री पत्नी डा. आरजु राणा राप्रपा प्रजातान्त्रिककी नेतृ तथा पशुपतिशम्शेर राणाकी दाहिने हात हुनुको पारिवारिक संवन्धको पनि भित्री कनेक्सन कारक बनेको छ । 

जे होस प्रधानमन्त्री देउवाको एक साहसिक र बोल्ड निर्णय हो की उनले आधुनिक नेपालका निर्माता राजालाई राज्यले संझिने तोडिएको परम्परालाई पुनः व्यूताएर ईतिहासको गल्तीलाई करेक्सन गरेका छन ।

रणनीतिक रुपमा पनि र राजनीतिक रुपमा पनि देश संघीय र संसदीय चुनावको आखिरी अभ्यासमा मस्त र व्यस्त भएका भएका बेला सरकारले पृथ्वी जयन्तीमा बिदा दिने गरी लिएको बोल्ड निर्णय सही भएका हदसम्म सत्तारुढ दल काँग्रेसका लागि हार्डलाईनर राजावादी तथा राष्टवादी तप्काको भोट आफूतिर तान्ने एक चलाखीपूर्ण अस्त्र पनि हो । 

यो सरकारी निर्णयसंगै विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय, जो निवर्तमान राजा ज्ञानेन्द्रको पहिलो विश्वनीय संस्था हो , ले पनि जारी चुनावी प्रक्रियामा सहमति र लोकतान्त्रिक गठबन्धनलाई विज्ञप्ती मार्फत दिएको समर्थनले पनि यो निर्णयको राणनीतिक पाटोलाई उजागर गर्छ । किन भने विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह अर्थात तत्कालिन राजा ज्ञानेन्द्रका शाही पाश्र्ववर्तीले वालुवाटारमा प्रधानमन्त्रीलाई ज्ञापन बुझाएकै सेरोफेरोमा सरकारी निर्णय आउनु केवल कागताली संयोग मात्रै थिएन र होईन पनि ।

देशमा वामपन्थी गठबन्धन नयाँ सरकार आफ्नै नेतृत्वमा बनाउने उदघोषका साथ चुनावी समरमा आक्रामक रुपमा होमिएका बेला देशको परम्परागत शक्ति राजावादी र हिन्दूवादीलाई रहर वा वाध्यता जुनसुकै कारणले भए पनि सत्तारुढ दल काँग्रेसले राजनीतिक लाभका लागि उपयोग गरिरहेको तथ्य राजनीतिको ओपन सेक्रेट हो । यसको लाभ काँग्रेसलाई चुनावी भोटमा देखिने छ भने राजावादी हिन्दूवादीहरुलाई गुम्दै गएको आत्माविश्वास पुर्नताजगी गर्न बल मिलेको प्रतिक्रियाहरुले नै देखाईरहेका छन ।

अचम्म र उदेक लाग्दो कुरा चाहि नेपाल सरकार बिदामैत्री धेरै नै देखिएको छ । सबैका जयन्तीमा बिदा दिदा पृथ्वी जयन्तीमा किन बिदा नदिने भन्ने आम प्रश्न जति स्वभाविक थियो, उति नै बिदाको बेढंगी सरकारी शैली भने आर्थिक सम्वृद्धिको बाटोमा अघि बढ्ने प्रण गरिरहेको देशका लागि शुभ खबर होईन नै । किन भने हिरोसिमा र नागासाकीलाई अमेरिकी बमले ध्वस्त पारेपछि जापानीहरुले बिदामा थप एक दिने बढी श्रम र सृजनात्मक काम गरेर युद्धको घाउलाई निर्माण र सृजनाले पुर्दै लगेको कथा होईन, प्रेरणा नै हो । तर हामी त्यो पुर्खा संझिने जापानी काईदालाई हप्तैपच्छिेका सरकारी बिदा अभ्यासले गिज्याईरहेका छौं ।

तर हामीकहाँ बिदा भने पछि हात बाँधे बस्ने र जुवा तास वा खानपान र मनोरंजनमा व्यस्त हुने दैनिकी छ । 

यसले कुनै पनि ईतिहास पुरुषको जयन्ती अघि बढ्ने अवसर होईन, थकाई मार्ने र बरालिने तिथि बनेको क्रुर यथार्थ छ । बिदाले मात्रै राजा पृथ्वी नारायण शाहको अतुलनीय योगदानको सम्मान हुन्छ भन्ने तर्क केवल अतिबादी कुतर्क नै हो । बरु पृथ्वी जयन्ती वा कुनै पनि युगपुरुषहरुको जयन्तीलाई थप रचनात्मक र परिणाममुखी बनाउने जाँगरिलो नयाँ संस्कृति र संस्कारको थालनी गर्न सके मात्रै यसको औचित्य थप उजागर हुनेछ । के पृथ्वी जयन्ती निर्माण वा सम्वृद्धि यात्राको राजकीय नविन पाईला बन्न सक्छ ? यसमा राज्य , राजनीतिक दल र जनस्तरबाट नयाँ नमुनालायक उदाहरण पेश होला त यसवर्षको पृथ्वी जयन्तीमा ? त्यसो हुने सके मात्रै सबको भलो होला ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै