• २०८१ बैशाख १७ सोमबार

आदिम देवको खोजी र जातिय द्वेष

kharibot

देवता या ईश्वरको स्रोत शक्ति हो । शक्तिका आधारमा वेदमा ३ प्रकारका देवकाे उपस्थिती छ, अदृश्य, प्राकृतिक र अर्धप्राकृतिक, र मानविकृत । अदृश्य देव या ईश्वरकाे रूपमा ब्रम्ह( ब्रम्हा) लाई लिइएकाे छ । ब्रम्हाण्ड, प्रकृति र चराचरकाे श्रृष्टिकर्ता ब्रम्ह अगाेचर छन्, यसैले ब्रम्हकाे कुनै रूप, गुण, आकार छैन,  ज्ञानेन्द्रियकाे शक्ति बाहिरकाे याे मशाशक्ति सर्वव्याप्त छ । याे अदृश्य महाशक्तिलाई हरेक धर्ममा स्वीकार गरिएकाे छ । बुद्धले यसलाई केवल प्रकृति भनेर अधिक ब्याख्या गरिरहन आवश्यक ठानेनन्, यसैलाई इस्लामले पनि आत्मसात गरेर अल्लाह मात्र भन्याे, इसाईले पनि आत्मसात गरेर हाेलि फादर भन्याे । तर पछि अदृश्य श्रृष्टिकर्ता शक्तिलाई सादृश्य बनाउने प्रयाशमा उपमा अलंकार र भाैतिक रूप दिएर व्याख्या गर्न खाेज्दा हरेक धर्ममा अनेक नामका श्रृष्टिकर्ता जन्मिन गए ।

प्राकृतिक देवमा अग्नि, वायु र सूर्य  आदि विशुद्ध प्राकृतिक देव हुन् । यी प्राकृतिक शक्ति हुन्, यी देवहरू समसादृश्य छन्,  ज्ञानेन्द्रियबाट महशुश गर्न सकिन्छ । यस बाहेक उषा, पर्वत, नदी, पितृ र मेघलाई पनि यसै वर्गमा देव समान स्तुत्य मानिएकाे छ । यी देवहरूलाई उपमाका रूपमा विभिन्न देवसँग तुलना मात्र गरिएकाे छैन अपितु समागम समेत गरिएकाे छ जस्ताे कि इन्द्रलाई वर्षासँग । 

अन्य देवहरू भने अर्धप्राकृतिक या मानविकृत नै हुन्, यसमा आस्था र विश्वासको आधारमा गरिने तर्क निष्फल छ । देव भन्नाले वेदकालमा शक्ति, ज्ञान, धनमा सर्वाेच्च व्यक्ति, या क्षेत्रपति भन्ने अर्थ लाग्छ भने कतिपय गणपति समेत देव भनेर लिइएका छन् । मित्र, वरूण, विष्णु, रुद्र, इन्द्र कृष्ण आदि देवहरू सशरीर मानव नै थिए । वेदमा यी वीज रूपमा मात्र देखा परेका छन् । इन्द्रका बारेमा लेखिएका ऋचाहरूबाट याे स्पष्ट हुन्छ । ऋग्वेदमा सुरुमा इन्द्रलाई रक्षा गर, नास गर, खाऊ पिऊ, लेऊ, प्रशन्न हाेऊ भनेर लेखिएकाे छ । तैत्तिरीय ब्राम्हण कथा अनुसार देवासुर संग्राममा प्रजापतिले आफ्ना जेठा छाेरा इन्द्रलाई सशक्त असुरहरूले मार्लान् भनेर लुकाएकाे वर्णन छ । यस अर्थमा इन्द्र शादृस्य छन्, सशरीर छन् । त्यसपछि इन्द्रकाे बयान छ, कार्य विवरण छ, प्रशंसा छ, अर्थात् इन्द्र पराेक्ष रूपमा विगत भइसकेकाे आभास हुन्छ । त्यसपछिका ऋचाहरूमा  भने इन्द्रलाई आव्हान गरिएकाे छ, अर्थात् इन्द्र अब भने कल्पित शक्ति श्राेत मात्र रहेका छन्, स्पष्ट रूपमा अदृश्य छन्, ईतिहास बनेका छन् । सादृश्य, अल्पदृश्य र अदृश्य इन्द्रकाे याे भेदबाट इन्द्र पहिला सशरीरका याेद्धा, नेता गणपति हुन भने अन्त्यमा कल्पित शक्तिदेव मात्रै हुन गएका छन् । विष्णुले यज्ञफल एकलाैटी गर्न खाेजेपछि इन्द्रले अग्नि वरुण र आफूमा तीन भाग लगाएकाे ऋचा वेदमा छ । यसरी वेदमा सुरुमा पूजित अदृश्य, प्राकृतिक र मानविय शक्तिहरू वेदपछि भने अलाैकिक शक्ति या देवता हुन गएका छन् ।

वेदका ऋचाहरू अध्ययन गर्दा सप्तसिन्धुमा जम्मा भएका आर्यहरूलाई तीन भागमा विभाजन गर्न सकिन्छ, यज्ञ पूजन गर्ने आर्य, यज्ञ पूजन नगर्ने आर्य तथा यज्ञ पूजन गर्ने अनार्य । सप्तसिन्धुमा जम्मा भएर वेदका ऋचा लेख्ने आर्य ऋषिहरू एकै जातका थिएनन्, अतः यिनीहरूमा रहेको जातिय भावना र द्वेष वेदमा मात्र नभएर पुराण कथाहरूमा समेत देखिन्छ । यस्ता जातिय भाव र द्वेषको झलक वेदका ऋचाहरूमा प्रचुरता पाइन्छ । वेदका ऋचाहरूमा समानता नभएर कतै कुनै जातिको मंगलकामना गरिएको पाइन्छ भने कतै नास कामना । यिनलाई आफ्नै गणपतिको महिमा प्यारो थियो । जातिय तत्त्वका कारण ऋषिहरू एक मतका थिएनन्, पनि एक आपसमा वैमनष्यता राख्दथे । ऋषिहरूलाई आफ्नो जाति प्रति गौरव थियो, उनीहरू इन्द्रसँग अन्य जातिको अमङ्गल कामना गर्छन् भने आफ्नो जातिको मङ्गल कामना । यो भाव उत्तर वैदिक कालमा गएर छताछुल्ल भएको छ ।

तीन लोकको कल्पनाः

तीन लोकको कल्पना वेदको नभएर वेद पूर्वको हो, किनभने वेदमा स्वर्ग भनेर त्रिविष्टप (तिब्बत) तिर सङ्केत गरिएको छ भने यमलोक भने यसभन्दा अझ उत्तर तिर सङ्केत गरिएको छ । वालकृष्ण पोखरेलले खस जातिको इतिहासमा वेदकाल पूर्व आर्यहरू पशु चराउँदै चलायमान हुँदैको समयको भूगोलमा स्वर्ग, भूलोक र पातालको बारेमा यसरी उल्लेख गर्दै भनेका छन् “स्वर्ग (सिरिया) हालको इरानको उत्तरी प्रान्त शिरमा पर्दछ, यी सूर्य उपासक थिए । मर्त्य या भूलोक (अस्सिरिया) र पातालमा अचेलको लेबनान र प्यालेस्टाइन । यहाँभन्दा पश्चिममा समुन्द्र छ, यसलाई वैकुण्ठ या क्षीर सागर भनिएको छ । वालकृष्ण पोखरेलका अनुसार स्वर्गमा बस्ने अमरोइट जाति नै अमर हुन्, मर्त्य लोक (अस्सिरिया) असुरहरूको देश हो भने पाताल (नागलोक या वैकुण्ठ) नागहरूको लोक हो । नागलोकमा नाग, दैत्य राक्षस (हिक्सोस) आदि जातिका बस्दथे । ऋग्वेद लेखिनु धेरै अगाडिको वालकृष्ण पोखरेलको यो भौगोलिक जानकारी धेरै नै महत्त्वपूर्ण छ । ऋग्वेदमा दाशराज्ञ युद्धभन्दा अगाडिका सङ्घर्षका कथाहरू, इन्द्र, वरुण, मित्र आदि देवहरूका वर्णन, जेन्द अवेस्तामा उल्लेखित देवहरूको विवरण, अग्नि र प्रलयका कथाहरू आदि यही भूमिमा घटित घटनाहरू हुन् । यी घटनाहरू, देवहरू, स्थान तथा जातिहरूको स्पष्ट सम्बन्ध ऋग्वेद र पुराण कथाहरूमा देख्न सकिन्छ ।

अश्विन जाति

आर्य मध्येका एक मूल जाति या वेदका मेरुदण्ड आश्विन जाति हुन् । वेदमा आश्विनी–द्वय भनिनुले आश्विन सम्भवतः जुम्ल्याहा या एकै जातिका दुई गणहरू हुन सक्छन् । आश्विनलाई देव जाति भनेर भनिनुले आश्विन आर्यका मूल जाति हुन् भन्ने स्पष्ट हुन्छ । आश्विनलाई यज्ञलाई प्रधानता दिइएको छ । आश्विन जातिलाई भिषज (वैद्य) पनि भनिएको छ । गन्धमादन पर्वत औषधीको घर भनिएकोले आश्विनहरू यसै क्षेत्रका थिए । जडीबुटीका ज्ञाता र वैद्य भएको आधारमा आश्विनहरूलाई पहाडी क्षेत्रका जाति (सम्भवतः किरात या अन्य कुनै जाति) मान्न सकिन्छ । रुद्र बादल माथि पहाडमा बस्ने किरात प्रदेशका हुन् जहाँ जडीबुटी अत्यधिक पाइन्छ । रुद्रलाई भिषज भनिनुको कारण उनी पनि जडीबुटीका राम्रा ज्ञाता भएर हुन सक्छ । ऋग्वेद अनुसार आश्विनले मनुलाई खेती गर्न सिकाएका थिए । अश्विनले अन्धालाई नेत्र दिए, लङ्गडालाई गति (हिँड्न सक्ने) दिए, च्यवनलाई फेरि जवान बनाइदिए, विश्वपाललाई कृत्रिम खुट्टा लगाइदिए भनेर उल्लेख गरिएको छ । यिनै आश्विनलाई बोगाजकोइ अभिलेखमा नासत्य भनेर उल्लेख गरिएको छ । तथापि आर्य मूलका भएर पनि अनाश्विनहरू वैदिक आर्यका मित्र रहन सकेनन् । आर्यहरू आश्विनहरूकहाँ मिसिन आएका जाति थिए । आर्यहरू यज्ञ गर्दथे, आश्विनहरू लाई यज्ञमा प्रधानता दिन्थे तर आश्विनले इन्द्रलाई माने पनि यज्ञलाई मानेका भने देखिँदैनन् । उच्च पहाडी मूलका आश्विनहरू बोन धर्मावलम्बी भएको देखिन्छ ।

अग्नि जाति

पूर्व वैदिक कालमा आगो अत्यावश्यक वस्तु थियो । मानवले यसको प्रयोगसँगै जीवन पद्धति नै फेरिएको थियो । त्यति बेला अग्नि प्राप्तिको दुई श्रोत प्रमुख थियो, चकमक र काष्ठ घर्षण । चकमक ढुङ्गा ठोक्काएर आगोको झिल्को उत्पन्न गरेर आगो सल्काउने र काठमा काठ घर्षण गरेर आगो उत्पन्न गर्ने प्रक्रिया आदिम हो । यस अनुसार प्रमेथसको कथामा अग्नि चोरेको अर्थ अग्नि बनाउने चकमक ढुङ्गा चोरेर ल्याएको प्रतीत हुन्छ भने वेदमा शमीमा अग्नि लुकेको अर्थ शमीको हाँगाबाट सजिलै आगो पार्न सकिन्छ भन्ने ज्ञान हो । पाषाण कालमा वेल्जियमको स्पीनेसको चकमकको खानीमा चकमक निकाल्न गएका पिता पुत्र दुवै पुरिएर मरेका थिए । ब्रसेल्स राष्ट्रिय म्युजियममा उनीहरूको लास अझै राखिएको छ ।

“द्याम आरोहन्ताम्,” देवासुर संग्रामपछि आर्यहरू उत्तरतिर लागेको बुझिन्छ । यस संग्रामपछि वेद र जेन्दअवेस्ताले इन्द्रलाई नायक र खलनायकको रूपमा चित्रित गर्न सुरु गर्यो ।
“एतानि वायश्विना वीर्याणि प्र पूव्र्वाराययवोऽवोचन्”    

“हे इन्द्र, पूर्वजहरूले तिम्रा यी प्राचीन कार्यहरूका वर्णन गरेर गएको छन्,” ऋग्वेद । वेदमा इन्द्र नायक भएर छाउन थाले । तर देव असुरहरू बीच फाटो भएपछि पनि दुवैमा आगो भने मान्य रहँदै आयो, पूजित रहँदै आयो । आगो इरानबाट उत्तरतिर लिथुवानिया र दक्षिणमा सप्तसिन्धुसम्म पूजित र देव कहलायो । अहुरहरूको अथ्रि र वेदको अग्नि साम्य शब्द हुन् । वेदमा अथर्वन् ऋषिले स्वर्गबाट आगो ल्याउने काम गरेका छन् । यस्तै साम्य कथा ग्रिसमा तितान प्रमेथसले गरेका छन् । अंगिरा देवहरूमा आगोका प्रथम आविष्कर्ता थिए अर्थात् अंगिराले नै प्रथम पटक शमीधाबाट आगो सल्काउने विद्या या उपयोग गरेका थिए । वेदमा अग्नि शमीधामा पाइएको र यसैमा सुरक्षित राखिएको कथन छ । यसको अर्थ के हो भने अंगिराले शमीको हाँगा रगडेर अग्नि उत्पन्न गर्ने विद्या सिके र समिधालाई नै जलाउँदै आगोलाई अखण्ड राखे । यसरी आगोलाई अखण्ड जलाएर राख्ने कार्य अंगिरा र उनका सन्तानले गर्दै आएकोले अंगिराका वंशजलाई वेदमा अग्नि भनेर पूजनीय स्थान प्राप्त भयो । पुरातन कालदेखि अहिलेसम्म पनि अखण्ड धुनी या अखण्ड दीप जलाउने जुन प्रचलन छ, त्यो यही आगो रक्षा गर्ने कार्यको निरन्तरता हो । वेदमा अग्नि सशरीरकै देखिएका छन् । अग्निलाई इन्द्रको मित्र तथा गन्धर्व भनिएको आधारमा अग्नि आर्य जातिका नभए पनि आर्यमै सम्मिलित वैदिक जाति हो ।

राम

वेदमा रामको कुनै उल्लेख छैन र राम उपासनाले कुनै ठाउँ पाएको छैन । यसैले रामलाई अवैदिक र अनार्य देव पनि मानिन्छ । मितान्नीहरूको राजा सगर (जाग्रोस) कृष्ण वर्णका थिएनन् तर उनको राज्यका अन्य जातिहरू भने काला पनि थिए । मितान्निहरूसँग ई.पू. १४०० अगाडि नै माधव (मादेली) मागध (मेगिद्दो) र केशु (काशी) तीन कृष्ण वर्णका जाति मिसिइसकेका थिए । यिन तीन जातिहरूको सहयोग लिई माधव मूलकाहरूले सगर (जाग्रोस) लाई ब्राह्मणको भेषमा षडयन्त्र गरेर पराजित गरे । यसैलाई पुराणमा वामन अवतार भनियो, जसका तीन पद भनेको माधव मागध र केशु जाति हुन् ।

रामलाई अवैदिक मानिनुमा केही कारणहरू छन् । राम सूर्य उपासक सूर्य वंशीय मितान्नी राजा सगरका (जाग्रोस) सन्तान हुन् । सगरका वंशजहरू आर्य भए तापनि यी वैदिक या यज्ञ पूजक थिएनन् । सूर्यलाई पुज्ने सिरियाका मितान्नी थिए भने चन्द्रदेव (आमोन) लाई पुज्ने त्यस पश्चिमका र इजिप्सियन थिए । राम सूर्य पूजक आर्य भएता पनि रामका पिता दशरथका पुरेत जावलि थिए जो चार्वाक मतका अनुयायी थिए । चार्वाकहरू वैदिक आर्यको दर्शन, संस्कार र मत विपरीत “नास्ति दत्तम्, नास्ति हुतम्, नास्ति परलोकम् इति,” (प्रसाद चढाउनु, यज्ञमा आहुति दिनु व्यर्थ छ, कुनै परलोक छैन) भन्ने मतावलम्बीहरू चार्वाक हुन् । आत्मा, मोक्ष तथा पारलौकिक सत्ताको सिद्धान्तलाई स्वीकार नगरेर प्रत्यक्ष इन्द्रिय ज्ञानभन्दा अन्य ज्ञान श्रोतलाई अस्वीकार गर्ने भौतिकवादी दर्शनवादी नै चार्वाक हुन् । यस अर्थमा बुद्धले पनि चार्वाक मत मानेको देखिन्छ । चार्वाक मतको सुरुवात या उत्पत्तिको कहाँ भयो या यस दर्शनका ऋषि को हुन् भन्ने कुरामा भने एकमत छैन ।

राम (रा आमु) को उपासना सगर जातिमा अति प्राचीन कालदेखि हुँदै आएको तथ्यलाई अस्विकार्न सकिन्न । तर वेदमा आश्विन जातिको वर्चस्व थियो, आश्विनले वेद विरोधी जातिलाई उपासनाको लागि स्वीकार गरेन, अपितु आश्विन समर्थक वामनलाई भने स्थान दियो । माधव जातिले यसैले पुराण कथाहरूमा राम, परशुराम र बलरामलाई कृष्णद्वारा पराजित गरेको देखाइएको छ । राम कथा एबरा (हिब्रु) भूमिबाट अनेकौँ जातिले सामूहिक रूपमा पूर्व ओसारेको देखिन्छ । राम कुनै वैदिक अवतार भएनन्, सगर जातिमा अति प्राचीन कालदेखि भए पनि वेदमा यसको उल्लेख नपाइनुले यसको प्राचीनता ठहर्दैन । वाल्मीकि रामायणको तुलनामा महाभारतलाई प्राचीन मानिएको छ । महाभारतमा जुन राम कथा छ त्यो पनि परावर्ती (पछि लेखिएको) हो, तुलसीदासको रामायण त झनै पछिको हो । महाभारतमा उल्लेखित राम कथाको स्थान गन्धमादन पर्वत वरिपरिको देखिन्छ, लङ्का (तिब्बती भाषाामा लङ्काको अर्थ द्विप हो, भारत खण्डमा यस्ता थुप्रै द्विप थिए) । वेद कालभन्दा अगाडिको राम कथाको मूल सुमेर भए पनि आर्यसँग मिसिएर आएका सुमेर जातिले यो कथालाई महाभारत कालमा ब्युँताए । महाभारतको राम कथामा रामलाई भगवान् मानिएको छैन, उनको हातबाट मरेकाहरू स्वर्ग गएका छैनन्, कुनै अवतारवादको अंश छैन, केवल महाबलिका रूपमा देखाइएको छ । तथापि, राम कथा वेद पूर्वको भए पनि वेदपछिको भए पनि नायक भने अनार्य जातिको नै भएको स्पष्ट छ ।  

विष्णु  

विष्णु ऋग्वेदमा गौण देवताका रूपमा देखिन्छन् । कुश द्विपमा रहेका माधव (मेडेस), मादेली (माद) र शक जाति जाति कृष्ण वर्णका थिए । यी जाति इ.पू. १४०० अगाडि नै मितान्नी राज्यमा मिसिइसकेको थियो । मितन्नीहरू काला थिएनन्, तर शासित प्रजा काला जातिका थिए । ऋग्वेद र एतरेय ब्राह्मण कथामा भनिएकोछ, “विष्णु आफ्नो शरीरले जति भूमि ढाक्न सक्छन् त्यति भूमि असुर देवहरूलाई दिनेछन्,” विष्णुले आफ्ना तीन पाइलालले तिनै लोक ढाकी दिए । वास्तवमा मितान्नी राजा सगरको राज्यमा गौण (वामन) रूपमा हुर्किएर रहिरहेका माधव, मादेली र शक तीन कृष्ण जातिका माधवीयहरूले छलले हराएका थिए । वामन (गौण) माधवीयहरूका तीन जाति (तीन पद) ले मितान्नीहरूको राज्य जितेको कथा नै वामन अवतारको कथा हो । वेदमा वामनलाई इन्द्रावरज भनेर इन्द्रभन्दा कान्छो मानिएको छ । यसको अर्थ इन्द्रको उदयपछि मात्र माधव जातिको उदय भएको भन्ने बुझिन्छ ।
      
विष्णुलाई बालकृष्ण पोखरेलले (खस जातिको इतिहासमा) माधव जातिका भनेका छन्, जुन विश्वसनीय छ । विष्णुको (कृष्णको पनि) एक नाम केशव पनि हो, पोखरेलले यसै आधारमा उनलाई कुश द्विपका भनेका छन् उनको तर्कलाई अझ पुष्टि गर्ने तथ्य भनेको विष्णुको निवास क्षीर सागर हुनु हो । पुराणमा कुश द्विपमा रहने जाति मध्ये नाग जाति पनि पर्दछ । विष्णुको निवास क्षीर सागर मानिएको छ जहाँ विष्णु शेषनागको शय्या माथि सुतेको छन् र शेषनागले आफ्नो नागफणाले छायाँ दिएर विष्णुलाई राखेका छन् । कुश द्विपमा बिभन्न जातिका मानिसहरू बस्दथे र तिनका गण नायकका रूपमा विष्णु (पद) थिए । यी मध्ये नाग (पणि) जाति समुन्द्रमा डुङा चलाउने व्यापारी जाति थिए ।
विष्णुलाई लक्ष्मी धनका पति मान्नुको पछाडि व्यापार नै कारण थियो । विष्णु सर्वप्रथम व्यक्तिगत सम्पत्तिवाला वर्ग तयार गर्ने भए भने दान लिनेमा भने ब्राह्मण भए । तैत्तिरीय आरण्यकमा विष्णुले देव सत्रमा गृह पतिको रूपमा देवताहरूसँग शत्रुता गरे, तब देवताहरूले विष्णुलाई (माधव जातिका गणनेतालाई) मारे र यज्ञपुरुष (यज्ञमा जम्मा भएका योद्धा) हरूलाई तीन भागमा बाँडेर अग्नि विश्वदेव र इन्द्रलाई दिए । यज्ञ पुरा भएन र आश्विनहरूले विष्णुको (गणपति विहीन भए भागेका माधव जातिहरूलाई) सिर जोडिदिए (एकत्र गरे) ।  

वशिष्ठका अनुसार दशराज्ञ युद्ध सिन्धुतिरमा भएको थियो । सिन्धुमा छरिएका आर्यहरू यसै युद्धमा एकजुट भएका थिए । यो युद्ध इन्द्रदेवहरू र शिश्नदेव मान्ने शम्बरका बीच भएको थियो । वशिष्ठले शिश्नदेव मान्नेलाई अनार्य भनेका छन् । वसिष्ठ र वामदेव ऋषिहरूका अनुसार इन्द्र र विष्णुले शम्बरको ९९ पुर नष्ट गरेका थिए । दशराज्ञ युद्ध पश्चात् आर्यहरू स्थिर भएका देखिन्छन् । ऋग्वेद पश्चात् ब्राह्मण कालको सूत्रपात भएपछि आर्यहरूको प्रमुख देव “इन्द्र” को ठाउँमा “विष्णु” आइपुगेका थिए, इन्द्रको महत्त्व घट्दै गयो र विष्णुको महत्त्व बढ्दै जान थाल्यो । यस कालमा यज्ञ “कर्मकाण्ड”को ठुलो महत्ता थियो । ब्राह्मण धर्मग्रन्थहरूमा रुद्रलाई कुनै सम्मान दिइएको छैन । अथर्ववेदको १५ औँ अध्यायमा उनलाई “व्रात्यदेव” अर्थात् “नीच जातिको देव” अर्थात् “अनार्य देव” भनिएको छ । (म्याक्समुलर द सिक्रेट बुक अफ द इस्ट) ।

राक्षस जाति आर्य र ब्राह्मण व्यवस्थाका विरोधी थिए । आर्यहरूसँग माधवीय जाति आर्य जतिसँगै सप्तसिन्धु आएका अनार्य थिए, उनीहरूले न त इन्द्रको विरोध गरे न त वेदलाई नै स्वीकार गरे । यी माधवेली (शक, मग र माद जातिहरू असुर र देव दुवै पक्षका विरोधी थिए । यिनै माधवीयहरूले ब्राम्हणकालमा इन्द्रको पतन पश्चात् ऋग्वेदको विष्णुलाई मूल सूत्र मानेर वैष्णव मतको सूत्रपात गरे । यिनै त्रिपद वामनहरूले वेदको विकल्पमा वैष्णव मार्ग निकाल्यो । अहिंसा, धर्म समन्वय र निर्गुण उपासनाको श्रोत भागवतवादबाट नै इब्रानी, इसाई र इस्लाम, वैष्णव, बौद्ध जैन परम्पराको श्रोत बन्यो । तथापि, अनात्मवादी बुद्धलाई भने यहाँ अपवादका रूपमा लिन सकिन्छ । विष्णुलाई दश अवतारमा देखाएर अन्त्यमा कृष्णा अवतारमा परिवर्तित गर्ने यिनै माधवेलीहरू हुन् । यसैले कृष्णलाई माधव पनि भनिन्छ । माधवेलीहरूको पुरातन इतिहासलाई स्पष्ट बुझेका दुर्योधनले महाभारतमा कृष्णलाई स्पष्ट रूपमा अनार्य भन्नुको कारण यही हो । सारांशमा भन्नु पर्दा काशी, पौलत्स्य, शक्र, हिट्टेली, मग, माद आदि जाति मध्ये माद जातिले (माधव) नै वेदको सबै भेउ बुझेर वेदभन्दा पनि उच्च बनाएर विष्णुलाई पेस गर्यो, वेदबाटै वेदको विकल्पमा वैष्णव मार्ग निकाल्यो, भागवत र पुराण कथाहरूमा इन्द्रको पतन गरायो, वेदभन्दा माथि कृष्णलाई राखेर आर्य र वेदको विरोध गर्यो, दश अवतार र विश्वरूप दर्शनबाट सर्वोच्च प्रमाणित गरिदियो ।

रुद्र

ऋग्वेद कालपछि आर्यहरूमा थप जातिहरू मिसिन पुगे, तिनीहरूका थुप्रै प्रचलनहरू गाभिन पुगे । माधवीयहरूको अभ्युदयपछि इन्द्रको गरिमा धुमिल हुँदै गयो । ऋग्वेद कालपछि आर्यहरूको स्थानीय अनार्य जातिहरूसँग रक्त समिश्रण बढ्दै गयो । ऋगवैदिक आर्यहरू पशुपालन थिए । यी आर्यहरूको सम्बन्ध धेरै अगाडि नै हिमाली भोगभन्दा परका (उत्तर कुरु) जातिहरूसँग भइसकेको थियो । त्यो भन्दा दक्षिणतिर हिमवतखण्ड (कर्णाली भेग, यसमा तिब्बत पनि पर्दछ) र त्यसको पश्चिमका पहाडी किरात, गन्धर्व, यक्ष आदि अनार्य जाति पनि प्रकृति पूजक नै थिए जसको साइनो हडप्पा सभ्यतासँग पनि थियो । ऋग्वेद कालको सुरुवातमा यी प्रकृति पूजकहरूलाई आर्यहरू घृणा गर्दथे, किनभने यी प्रकृति पूजक लिङ्ग पूजा गर्दथे । ऋग्वेदको एक ऋचामा इन्द्रसँग प्रार्थना गरिएको छ, "हे देव ! जो लिङ्गलाई देवता मान्दछन्, तिनलाई हाम्रो सीमामा प्रवेश गर्न नदेऊ ।"

दैत्य, यक्ष, राक्षस, गन्धर्व, नाग, सर्प, किन्नर, निषाद, व्याधा, ब्रात, किराँत, कुलाल, आदि जातिहरू हिमवतखण्डका पूर्ववैदिक अनार्य जातिहरू थिए । यक्ष तथा राक्षसको बलि मासु र मदिरा थियो, अर्थात् यिनीहरू प्रकृति पूजामा मासु र रक्सी चढाउँथे, यसैले यिनीहरू प्रकृति पूजक थिए । रक्सी, मासु आदि चढाएर पूजा गर्ने प्रचलन (तामसी पूजा) खस, नेवार र किरात आदिमा अझै हुनुको कारण यी जाति पहिला प्रकृति पूजक भएकाले नै हो । यक्षलाई पद्यपाणि भनिएको छ, बौद्धलाई बज्रपाणि । यिनै यक्ष पछिगएर बुद्धका रक्षक पनि भए र परिवर्तित कालमा बोधिसत्त्व ब्रजपाणि कहलाए । यस आधारमा पद्यपाणी बौद्ध कालभन्दा अगाडि प्रचलित कुनै प्रकृति उपासना हुन सक्छ । गन्धर्व जाति मुजवंत पर्वतमा बस्दथे । देव जाति यिनीहरूसँग सोम किन्थे । यजुर्वेदमा रुद्रलाई यही धनुष सहित जाने कामना गरिएको छ । यस अर्थमा रुद्र मुजवंत पर्वततिर बस्दथे भने गन्धर्व या अन्य अनार्य जातिका थिए । यसैले ऋग्वेदमा रुद्रलाई आकाशका असुर भनिएको छ । ऋग्वेदका केही सूक्तहरूमा रुद्रलाई “मरुत” अर्थात् “वायुदेव” सँगै स्तुति गरिएको छ । मरुतकै कारण आँधी, हिमपात, घोर वर्षा र बज्रपात (चट्याङ्ग या उज्ज्वल वाण) हुने गर्दछ । यी सबै प्रकृति स्पष्ट रूपमा उच्च पहाडसँग सम्बन्धित छ, त्यसैले ऋग्वेदमा रुद्रलाई “गिरित्र” अर्थात् पहाडमा बस्ने र “गिरीश” अर्थात् पहाडका मालिक भनिएको छ ।

विष्णु जस्तै रुद्र पनि ऋग्वेदमा गौण देवका रूपमा देखिन्छन् । ऋग्वेदमा रुद्रका जम्मा तीन सूक्तहरू छन् । यसदेखि बाहेक केही सूक्तहरूमा रुद्रलाई मरुतहरूसँगै भएको वर्णन गरिएको छ । ऋग्वेदमा वर्णित रुद्रको सम्बन्ध यसपछिका शिव, शङ्कर या महादेवसँग स्पष्ट रूपमा छैन । तथापि रामायणमा रुद्रको बारेमा लेखिएको वर्णन भने अति महत्त्वपूर्ण छ । रामायणमा रुद्रलाई इन्द्रको साथी, शिव तथा शिव पुत्रको सेवक र यमको मित्र भनिएको छ । वैदिक काल पूर्वदेखि किँरातहरूले पुज्दै आएका सिमे या शिमे (सि, शि देवता) भुमे (भू देवता) मध्ये सि, शि लाई चट्याङ्ग र पानीको देवता हुन् भने भू पृथ्वी । किरातहरूको सिमे, शिमे भुमे अझै नेपालमा पश्चिमदेखि पूर्वसम्म झाँक्रीहरूले मान्दै आएका छन् । सिमे, शिमे र भुमे कर्णाली प्रदेश हुँदै तिब्बती क्षेत्रसम्म सि, स्युँ या शिउ नामले बोलाइन्थ्यो । सि, शि ठेट किराँती शब्द हो, किरातहरू प्रकृति पूजक हुन्, उनीहरूले पुज्ने कुनै प्रकृति देव सि या शि नै शिव हुन भन्ने स्पष्ट देखिन्छ । पहाडमा बस्ने किँरातहरुका सिमे या शिमे देव जो चट्याङ्ग र पानीका प्राकृतिक देवता थिए, लाई नै ऋग्वेदमा गिरित्र र चट्याङ्ग पनि भनिनुले यसलाई अझ प्रमाणित गर्दछ । ऋग्वेदमा रुद्रलाई कपर्दी (माथिदेखि तलसम्मको लामो चोँगा जो शेर्पाहरू लगाउँछन्) र जटाधारी (उच्च पहाड र हिमालतिर पुरुषहरू अझै जुरो बान्छन्) भनिएको छ, यो पनि किरातहरूको झाँक्रीहरूको भेसभुसासँग मिल्दछ । शिवसँग जोडिएको भाङ धतुरो, उनका गणहरूका भूत, प्रेत, पिसाच (झाँक्री) आदिलाई ध्यान दिने हो भने शिव द्रविडहरूभन्दा कता हो कता किरातहरूसँग जोडिन्छन् । शिवलाई किरातेश्वर भन्नुको कारण पनि यही हो । रुद्रलाई शिव तथा शिव पुत्रका सेवक भनिनुले शिव अवश्य कुनै देव थिए भने ऋग्वेदमा देखिएका रुद्र यिनै शिवका प्रतिनिधि थिए । रुद्र कालान्तरमा “शिव” हुँदै जानुको आधार यही हो ।

बोन धर्म प्रकृति पूजासँग सम्बन्धित छ । बोनमा पृथ्वीलाई माता भनेर पूजा गरिन्छ । आदिम गणतन्त्रमा आमा प्रमुख हुने चलन थियो, पितृसत्तात्मकत समाज थियो जुन महाभारत कालसम्म पनि स्पष्ट देख्न सकिन्छ । पितृसत्तात्मकता समाज प्रकृति पूजक भएकोले हरेक गतिबिधि प्रकृतिसँग जोडिन्थ्यो । कृषि उपज प्रकृतिकै देन ठानिन्थ्यो भने पशुबृद्धिलाई पनि प्रकृतिसँगै लगेर जोडिन्थ्यो । सरल शब्दमा भन्नु पर्दा हरेक जीवजन्तु तथा वनस्पतिको श्रष्टिको मूलमा भाले र पोथीको समागमबाट नै सम्भव भएको ज्ञान पाएका यी प्रकृति पूजकहरूले पुरुष लाई शिव र नारीलाई शक्तिको रूपमा स्विकारेर पूजा गर्न थाले । विश्वका हरेक आदिमा सभ्यतामा देखिएका नारी चित्र मूर्ति या तिनका अवशेषहरू शक्ति उपासनाकै परम्परा हो । शिवशक्ति मान्नेहरूले प्रत्यक्ष रूपमा देखेको चराचर श्रष्टिको मूल भालेपोथि जनेन्द्रिय नै थियो, उनीहरूले त्यसैको पूजा गर्न थाले, भालेपोथि जनेन्द्रियको समागमपछि नै श्रृष्टि हुने भएकोले दुवैको समागम गराएर (शिवलिंग) पूजन गर्न थाले जसलाई आर्यहरूले शिश्न पूजा भने र पुज्नेलाई शिश्नपूजक । शिश्न पूजा अद्यापि संसारमा विभिन्न रूपमा प्रचलित नै छ । कैलाश, महामातृका, योनि र लिंगपूजन तिब्बती क्षेत्रका आर्यहरूको आदिम प्रकृति पूजा थियो जसको लहरो सिन्धु सभ्यतासम्म पुगेको थियो । महेन्जोदडोको उत्खननबाट प्राप्त भएका सामग्रीहरूलाई सिधा शिवसँग जोडेर हेर्न‘ भन्दा बोन धर्मसँग जोडेर हेर्दा उपयुक्त देखिन्छ । उत्खननबाट प्राप्त भएको एउटा तीन मुखे शिरवाला पुरुष भएको बीचको शिरबाट एउटा फूल बिरुवा लत्रिएको देखिन्छ । यो उब्जनी वा प्रजननसँग सम्बन्धित देव प्रतीत हुन्छ । (आर.सी. मजुमदार– वेदिक एज) । तीनमुखा सिङ समेतका पहिरनका र योगासनमा रहेका देव उब्जनी अर्थात् प्रजनन देवको प्रतीक हुन्छ । अनार्यका शिश्नदेव नै सम्भवतः उब्जनी देव थिए, जसलाई ऋग्वेदका ऋषिहरूले रुद्रका “वृष” रूपसँग तादात्म्य गराए । यसैले सिन्धुघाँटीको  सभ्यतासँग आर्यहरूलाई जोडेर या आर्यहरूका देवताहरू मूलतः शिव (रुद्र) सँग जोडेर हेर्नु गलत हुन्छ । मोहनजोदडो र हरप्पा क्षेत्रमा वैदिक आर्य आउनु अगाडि नै द्रविड, किरात आदि जातिहरू आएर बसिसकेका थिए र यहाँ बोन धर्मको छाप देख्न सकिन्छ । यसरी हेर्दा वैष्णव मत स्वैरकाल्पनिक देखिन्छ, कल्पित वैकुण्ठ या मोक्षको कामना गर्दछ भने शैव मत प्रत्यक्ष प्रकृतिसँग सम्बन्ध राख्दछ । यसैले शैवमार्गिहरु मृत्यु पश्चात् शिव शक्तिमा विलीन हुने कामना गर्दछन्, कैलाशमा समाहित हुने इच्छा राख्दछन् किनभने कैलाश पर्वत शिवलिंगको विशाल प्राकृतिक रूप हो ।

सारांशमा भन्नु पर्दा चाहे इन्द्र हुन्, विष्णु हुन् या कपर्दी रुद्र, यी तीनै ऋग्वेदमा गौण छन् । इन्द्र, विष्णु या रुद्रलाई ऋग्वेदमा गणपति या सेनापतिको रूपमा उभ्याइएको छ । ऋग्वेदका केही ऋचाहरूले इन्द्र चरनको लागि क्षेत्र खोज्दै युद्ध गर्दै हिँड्ने वेतनधारी योद्धाका नाइके जस्ता देखिन्छन् । वेद अनुसार विष्णुले जब यज्ञ (युद्ध पश्चात् विजित क्षेत्र र धन) एकलौटी गर्ने चेष्टा गरे तब त्यसलाई तीन भाग लगाएर इन्द्र, विश्वदेव र अग्निले बाँडेर लिए । यज्ञ एकलौटी गर्न खोजेको आधारमा विष्णु पनि इन्द्र जस्तै वेतनधारी योद्धा देखिन्छन् । रुद्रलाई शिव तथा शिवका सन्तानको सेवक भनिएबाट रुद्र पनि शिव (सिमेका) प्रतिनिधि मात्र हुन्, शिव नै होइनन् ।    

नाशदीय सूक्त

आदिम कालमा आर्यहरू समूहमा बस्दथे र आफू बसेको बस्तीलाई विशु भन्दथे । यिनीहरू सानो कुण्डमा अग्नि (विश्पति) प्रज्वलित गर्दथे, सामूहिक रूपमा अग्निको वरिपरि बसेर भोजन बाँडिचुँडी खान्थे, यसै कार्यलाई यज्ञ भनिन्थ्यो जसमा मासुको टुक्रा या बोसोको टुक्राबाट निस्किएको धुवाँ आफ्नो पितृ अग्निष्वात्तालाई प्रसन्न पार्न चढाउँथे । आगोको वरिपरि बस्नुले पनि यिनीहरू शीतोष्ण स्थानका वासी हुन भन्ने प्रस्ट हुन्छ । धूपको या धुवाँको प्रयोग गरिने प्रथा अझै पनि हिन्दुहरूमा छँदै छ, तिब्बती क्षेत्र, अफगानिस्तान, पाकिस्तानको पहाडी एरिया, भारतको पहाडी क्षेत्र र नेपालमा पनि यो प्रचलन अझै छ, गोकुलधुप यसैको प्रतीक हो, बौद्ध र इसाईहरूमा पनि धूपको धुवाँ गरिने प्रचलन यसैको अवशेष या अनुकरण हो । यी क्षेत्रहरूमा धूप धुवाँको प्रयोग हुनुको कारण देव (आर्य) जाति उत्तरी शीतोष्ण स्थानबाट सिधै अजरबैजान, इरान, अफगानिस्तान हुँदै सप्त सिन्धुमा पुगेका थिएनन् । यक्ष, गन्धर्व, नाग, किरात आदि जातिसँग आर्यहरूको सम्बन्धको वर्णनले सप्तसिन्धुसम्म पुग्दा यी जातिको पथ काश्मीर तिब्बत, नेपाल भुटान हुँदै भएको थियो । अझ त्रिविष्टप (तिब्बत) मा यी जातिको लामो बसाइ भएकोले यसैलाई स्वर्ग पनि मानिएको छ । तर यही एक लर्को मात्र सप्तसिन्धुमा पुगेको मान्नु भने गलत हुनेछ, आर्यका अनेक लर्को अन्य दिशा हुँदै पनि आएको इतिहासबाट प्रस्ट हुन्छ ।

आर्यहरूको यज्ञलाई सत्र या ऋतु भनिन्थ्यो, सबै यज्ञकर्ता थिए, सबै ऋत्विज् थिए र यजमान पनि थिए । पुरुष स्त्री र अग्नि नै आदिम ब्रह्म थियो । त्यस बेला आर्यहरू पत्थर र हड्डीको हतियार प्रयोग गर्दथे, यिनीहरूलाई धातुको ज्ञान थिएन । आर्यहरू यज्ञ गरेर हरेक कुराको निर्णय सामूहिक रूपमा लिन्थे, यज्ञ सामूहिक उत्पादन वितरण गर्ने बैठक थियो यज्ञ । त्यति बेला केवल देव (आदिम आर्य) मात्र यज्ञ गर्दथे, अन्य जातिहरू प्राय तप या पूजा गर्दथे, तथापि सबै जाति अग्नि पूजक थिए । यज्ञ फल अथात् यज्ञको लागि जुटाइएका खानेकुराहरू सबैलाई आवश्यकता अनुसार बाँडिन्थ्यो, सबै सामूहिक रूपमा आनन्दसँग मिलेर सुरा पिउँथे र यसरी नै एक भएर काम गर्नै भनेर एक ठाउँमा हात राखेर शपथ लिन्थे । यस बेला सबै एक अर्काका पतिपत्नी थिए, कुनै धार्मिक रुढी थिएन, कुनै बन्धन थिएन, कुनै धर्म थिएन, कुनै दर्शन थिएन, सत्य असत्य पनि थिएन । नासदीय सूक्तमा यसैलाई बिना झुट स्पष्ट भनिएको छ ।

नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा परो यत्
किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम्

"यी आर्यहरू पृथ्वीमा झर्नुभन्दा पहिले केही थिएन, अर्थात् सृष्टिभन्दा पहिले केही थिएन, ससानो गणमा बस्दथे, त्यसपछि ठुलो गण बन्यो, त्यसपछि राष्ट्र बन्यो । त्यसपछि  अनेक जातजातिहरू मिसिन थाले, रक्त शुद्धता हराउँदै गयो, आफ्नो पराइको भेद रहेन, समाज कठिन हुँदै गयो । आदिम कालमा जुन पुरुष स्त्री र अग्नि नै आदिम ब्रह्म थियो, त्यो लोप भयो अदृश्य भयो । फलतः विराट स्वरूप (विभिन्न जात जातिका मासिहरुको समाज) देखियो ।"

जातिय द्वेष

देव यज्ञ समर्थक थिए, असुर तप समर्थक, असुर मासु नखाने तथा रगत नपिउने थिए, आर्य यी दुवै गर्दथे, असुर मातृसत्तात्मक थिए, देव पितृसत्तात्मक, असुर अग्निलाई पवित्र भनेर लासलाई अग्नि दाह गर्दैनन् थिए, देव गर्दथे । दशराज्ञ यज्ञपछि अहुरमज्द मान्नेहरू र इन्द्र मान्नेहरू सर्लक्क छुट्टिए, इन्द्र मान्नेहरू सप्तसिन्धु आए । सप्तसिन्धुमा आएका आर्यहरू पनि सबै विशुद्ध एकल आर्य जातिका भने थिएनन् । अपितु, यसरी आएका आर्यहरूमा हित्ति, कस, पार्थ, यक्ष, सोकोल, राक्षस, कूर्म, गुप्त मात्र हैन गोफ, सुदामो जस्ता कृष्ण वर्णका जातिहरूका मानिस पनि मिसिएर आएका थिए । तथापि, सुरुमा इन्द्र समर्थक आर्यहरूको प्रधानता भए पनि पछि अन्य जाति पनि आर्यहरूसँगै सप्तसिन्धु आए । वेदका ऋचाहरू एक समान नहुनु र विचारमा विविधता या द्वन्द्व हुनुको कारण यही जातीय पृथक् मत हो । उदाहरणको लागि गोमांस भक्षणलाई लिन सकिन्छ । शीतोष्ण प्रान्तबाट आएका आर्यहरूले वेदमा गोमांसको समर्थन गरे । हिमाच्छादित प्रदेशमा धेरै टिक्ने भएकोले अधिक मांसधारी गोरु काटिनु स्वाभाविक हो र यसैको स्वाद प्रचलनका कारण गोमांस भक्षण मान्य भयो । तर यसको विपरीत उष्ण प्रदेशबाट आएका या रैथाने जातिको लागि भने यो अमान्य भयो । यसैले वेदमा गोमांसलाई लिएर पृथक् विचार वोकेका ऋषिहरूले पृथक् ऋचाहरू लेखेका छन् ।

ऋग्वेद कालमै ऋषिहरूमा जातिय द्वन्द्व र गुटबन्दी सुरु हुन थालिसकेको थियो र यो द्वन्द्व र गुटबन्दी जातिय र गणका आधारमै थियो । आशिवनद्वयले रामलाई वेदमा उल्लेख नगर्नुको कारण माथि लेखिसकिएको छ । विभिन्न जातिहरू मिलित ऋग्वैदिक आर्य समाजमा पनि कृष्ण र शुक्ल वर्ण, भारोपेली अभारोपेली, कोही इन्द्र (प्रेत) पूजक देव र कोही अहुरमज्द (एकेश्वर) पूजक असुर थिए । यो कुरा वैशम्पायन र याज्ञवल्क्यको कलहले पुष्टि गर्छ । यदुहरू हित्ती मूलका कृष्ण वर्णका पार्थ जाति थिए, जसको नाग जातिसँग वैमनष्यता थियो । महाभारतमा कालीय नाग दमन, खाण्डवदाह र सर्पेष्टि यज्ञ यसैको उदाहरण हुन् । ऋग्वेदमा अगस्त्यले यदु र तुर्वशु जातिको मङ्गलकामना गरेका छन् । आंगिरसले पनि नर्य, यदु, तुर्वशुको मङ्गलकामना गरेका छन् । कण्व र उनका पुत्र वत्स यदु तुर्वशुका पुरोहित थिए, यसैले यजमानको मङ्गलकामना गर्नु स्वाभाविक थियो । अवस्यु आत्रेय पनि यदुतुर्वशुका मङ्गल चाहने छन् । तर यसको ठिक विपरीत वसिष्ठ भने यदु तुर्वसुको अमङ्गलकामना गरेकाछन्, इन्द्रलाई यदु तुर्वशुलाई पराजित गर्न आह्वान गर्दछन् । भृगु इन्द्र र अग्निका प्रशंसक छन् । यसरी वेदका ऋचाहरू विभिन्न जातका विभिन्न ऋषिहरूले विभिन्न समयमा लेखेका हुँदा तिनमा एकरूपता छैन भने जातिय सङ्घर्षको बीज समेत देख्न सकिन्छ ।

ऋग्वेद कालपछि ब्राह्मण कालको सूत्रपात भयो, यस कालमा आर्यहरूको प्रमुख देव “इन्द्र” को ठाउँमा “विष्णु” आइपुगे । पहिले शिश्नपूजक भनेर घृणा र हेला गरिने किराँत जाति र किराँत सभ्यता आर्यहरूले यतिबेला भने सहर्ष स्वीकार गरिसकेका थिए । यी र अन्य स्थानीय जातिहरूसँग आर्यहरूको रक्त सम्बन्ध कायम भइसकेको थियो, जसबाट ब्रातआर्य को उदय भयो । माधवेली खेमा भित्री रूपमा आफ्नो जातिका विष्णु समर्थक थिए भने । यसको विपरीत इन्द्रको महिमा गुमाएका आर्यहरू भने ब्रातआर्यसँग जोडिएर अर्को अर्को खेमा बनाए । माधवेली खेमाका ऋषिहरूले ऋग्वेदपछिका वेदहरूमा विष्णुलाई प्रधानता दिँदै गए, भागवत, पुराण र अवतारलाई जन्म दिए । यसैको समकक्षमा आर्य खेमाका ऋषिहरूले पनि शिवलाई प्रधानता दिँदै गए, शिवको पनि अवतारका कथाहरू आए । इस्वी प्रथम शताब्दतिर श्रीविष्णु–उपासनाको पञ्चरात्र नामक सम्प्रदायको स्थापना भयो । यसको अनुसरण गर्दै ‘पाशुपत’ नामक शिव–उपासनाको आद्य सम्प्रदायको स्थापना भयो र यसपछि पाशुपतबाट शिव–उपासनाका तीन प्रमुख कपालिक, पाशुपत र शैव सम्प्रदाय भयो । वेदको मियो समातेर अघि बढेको वैष्णव र शैव सम्प्रदायमा पछि गएर विभिन्न उपसम्प्रदायहरू थपिँदै गए । यी दुवै सम्प्रदायले रचेका स्वैरकल्पित महिमा वर्णनका कथाहरू, अवतार, र परोक्ष रूपमा आफ्नो सम्प्रदाय सनातन देखाउने होडमा अर्को सम्प्रदायको महिमा मर्दन गर्ने कार्य पनि हुँदै गयो ।  

पुराणका कथाहरूलाई ध्यान दिएर पढ्ने हो भने वैष्णव र शैवमार्गी ऋषिहरूले बडो मिठो शब्दमा एक अर्काको महिमा मर्दन गर्ने कार्यहरू गरेका छन् । यस कार्यमा माधवीय पक्ष निक्कै अगाडि छ । ऋग्वेदमा इन्द्रको जुन महिमा र देवत्व थियो त्यसलाई माधवेलीहरुले अन्त्य गरिदिए । महाभारत कथामा कृष्णले गोवर्धन पर्वत उठाएर इन्द्रको देवत्व अन्त्य गरिदिएर कृष्णलाई देवता मात्र मनाएनन्, कृष्ण मार्फत् विष्णुको विश्वरूपको दर्शन गराएर विष्णुलाई नै परम देव प्रमाणित गरिदिए । गीताले त कृष्ण (विष्णु) नै सम्पूर्ण भनिदिएको छ । पुराणका अन्य कथाहरूमा पनि इन्द्रलाई कामी, लोभी, छली आदि देखाएर चरित्रहत्या गर्दै उछित्तो काढिएको छ । यसरी कृष्णको स्थापना र इन्द्रको पतन पछाडिको कारण यही जातिय द्वन्द्व थियो । पुराणमा जातिय द्वन्द्व को पराकाष्टा त वेदका प्रथम पङ्क्तिका देव अग्निलाई महादेवको वीर्य समेत निल्न लगाउनु हो । पुराणमा सप्त ऋषिका पत्नीहरू महादेवको लिङ्ग देखेर, “तप गर्दै बसेका हाम्रा कमजोर पतिहरूले काम सुख दिन सक्दैनन्,” भन्दै नाङ्गो शिवका लिङ्गदेखि कामोत्तेजित भएर महादेवको पछि लागेको र ऋषिहरूले आफ्ना पतिता स्त्रीहरू र महादेव दुवैलाई श्राप दिएको वर्णन पाइन्छ । लोभिएर पछि लाग्नुले एकातिर यो कथा लेख्ने ऋषिले जातिय चरित्र उजागर गरेको छ भने अर्कोतिर महादेव पृथक् जातिको देवता थिए भन्ने प्रस्ट देखिन्छ । तथापि, यसवाट के स्पष्ट हुन्छ भने ऋषिपत्नीहरूको अस्वाभाविक आस्था शिव भक्तिप्रति थियो, शिवोपासना चरममा थियो । ऋषिहरूको लागि यो असह्य थियो । यीनै आर्य पिता र अनार्य माताका सन्तानहरू विष्णोपासक र शिवोपासकका मध्यस्थ भए जसको फलस्वरूप कट्टर ब्राह्मणहरूले आफ्नो दृढतामा केही खुकुलोपन ल्याए र शिवलाई “ब्रात्यस्तोम”को विधिबाट चोख्याई पहिलोपल्ट आफ्ना देवहरूको बीचमा विष्णुभन्दा मुनी मान्यता दिँदै कर्मकाण्डका कट्टरतामा केही खुकुलोपन ल्याए । (राधाकृष्ण चौधरी– व्रात्यज अफ एन्सियन्ट इण्डिया) । पुराणमा एकातिर समुन्द्र मन्थनमा हलाहल विष पिएकाले शिवको कण्ठ निलो भएको कथा छ भने अर्कोतिर इन्द्रले शिवको ग्रिवामा बज्र प्रहार गरेकाले कण्ठ निलो भएको बिरोधाभाषपूर्ण कथा छ ।

सहिष्णुता या नालायकीपन !

सनातन धर्म वैष्णव र शैव गरेर दुई मतमा विभाजित भएर अगाडि बढेपछि ऋषिहरू प्रत्यक्ष रूपमा सहिष्णु देखिन्छन्, तर परोक्ष रूपमा यिनीहरूको नालायकीपनको माथि उल्लेख गरिसकिएको छ । दुई मतको द्वन्द्व महशुश गरेका ऋषिहरूले दुवैलाई समानान्तर लान अनेक कोशिश नगरेका पनि होइनन्, तर चुरो गाँठो अगाडि नै खुस्किसकेको थियो । तुलसी दासको समयमा यी मतावलम्बीहरूमा आ–आफ्नो देव महान् भन्ने अहम् पनि देखिन थालेकोले तुलसी दासले रामायणमा रामेश्वर स्थापना र नामकरणको कथामा रामको मुखबाट रामस्यः ईश्वरः रामेश्वर (रामको ईश्वर रामेश्वर) भन्न लगाएर वैष्णव मतावलम्बीलाई शिव ठूला हुन् भन्ने बोध गराए भने उता यसैलाई लिएर शिवको मुखबाट रामः ईश्वरोयस्यः (राम नै ईश्वर हुन्) भन्ने व्याख्या गरिदिए । पुराण कालपछि नाम सङ्कीर्तन नै धर्म प्राप्तिको उपाय बताईएको हुँदा नाम सङ्कीर्तन बढ्दै गयो ।

स्वयम् व्यासले वेद इतर र वेदसँग बाझिएका धर्मका सबै कुराहरू झुटा हुन् भनेका छन् । तर कतिपय सम्प्रदायहरू वेदको वास्ता नगरीकनै प्रचलनमा आए । वेद इतर भएकोले यो गलत हो भनेर भन्नेहरू सहिष्णुताको नाममा चुप लागेर बसे । तर यो सहिष्णुता भने थिएन नालायकीपन थियो र अझै शास्त्रको कुरा धर्माधिसहरु यसको खुलेर विरोध गर्न सक्दैनन्, यो भन्दा ठूलो विडम्बना अरू के होला ! नाम संकृर्तनकै कारण कृष्णसँगै राधाको नाम जोडिन गयो । मध्यकाल या भक्ति काल अगाडिसम्म कतै नदेखिएको राधाकृष्ण युगल पूजा र प्रेम वर्णनको सुरुवात मध्यकाल या भक्ति कालबाट सुरु भएको देखिन्छ । सीताराम उच्चारण गरे जस्तै राधेकृष्ण भनेर पनि उच्चारण गर्ने गरिन्छ । तर सीताराम र राधेकृष्ण जप्नुमा केही तात्त्विक भिन्नता भने अवश्य छ । भगवान् राम र माता सीता पति पत्नी हुन्, जब कि राधा र कृष्णको विवाहको कुनै प्रमाण बम्हवैवर्त पुराणमा बाहेक महाभारतमा या भागवतमा समेत पाइँदैन भने वेद त परको कुरा भयो । भगवान् कृष्णले आफ्नो जीवनकालमा रुक्मणि, जाम्बवती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा गरेर आठ जनासँग विवाह गरेको देखिन्छ तर राधासँग कहीँ कतै विवाह गरेको उल्लेख छैन ।

राधाकृष्ण युगल उपासनाको सुरुवात सर्वप्रथम १२५० ई.पू. मा जन्मिएका निम्बार्कले गरेका हुँदा राधाकृष्ण युगल आराधना या प्रेमकथाहरू १२५० ई.पू. पछिबाट मात्र भएको देखिन आउँछ । यिनै निम्बार्कको नाममा पछि यो निम्बार्क सम्प्रदायको नामबाट अझ विस्तारित हुँदै गयो । निम्बार्क पश्चात् वल्लभ सम्प्रदाय र राधाबल्लभ सम्प्रदायले पनि यसलाई निरन्तरता दिँदै गयो । यसै कालमा राधाकृष्ण युगल उपासनाको साथसाथै अनेकन् प्रेमकथाले विस्तार पाउनुका साथै बाल्यावस्थादेखि नै राधाकृष्णको प्रेम भएको वर्णनहरूमा पनि कविहरू निर्लिप्त रहे । निम्बार्क सम्प्रदायका अनुसार राधा अरू कोही नभएर कृष्णकै एक रूप हो । उनिहरूका अनुसार भगवान् कृष्णले लिलाका लागि दुई शरीर धारण गर्दै राधालाई प्रकट गरेका थिए ।

वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत  राधा उल्लेख या राधाकृष्ण सम्बन्धको बारेमा कतै पनि चर्चा गरिएको छैन तर ब्रह्मवैवर्त पुराणमा भने दुई प्रकारले गरिएको छ । यस पुराणको पाँचौँ खण्डमा राधा भगवान् कृष्णको अर्ध वामअंगबाट उत्पन्न भएको बताइएको छ । केही विद्वानहरूले भगवान् श्रीकृष्णको आफ्नै शरीबाट राधा उत्पन्न भएकीले उनलाई छोरी मान्नु पर्दछ भनेर तर्क गर्दछन् । यसै पुराणको प्रकृति खण्डको अठचालिसौँ अध्यायमा ब्रह्माजीले राधाको विवाह भगवान् श्रीकृष्णसँग गरिदिएको चर्चा छ । केही विद्वानहरू रायणलाई यशोधराका भाइ मान्दछन् र यस आधारमा हेर्दा राधा नातामा कृष्णको माइजू देखिन आउँछिन् । जन्मकै आधारमा हेर्दा मामा भएको नाताले रायण कृष्ण भन्दा जेठा देखिन्छन्, त्यसैले उनले विवाह गरेकी पत्नी राधा पनि जेठी नै हुने देखिन्छ । यसरी उमेर तथा नातासम्बन्धको आधारमा राधाकृष्णको प्रेमलाई सहजै स्विकार्न अप्ठेरो देखिन्छ । भागवत र महाभारतका अनुसार कृष्णको पालनपोषण नन्द गाउँमा भएको थियो भने ब्रम्हवैवर्त पुराण अनुसार राधाको जन्म या राधा भूमि बरसानामा भएको देखिन्छ । भागवत र महाभारतका अनुसार पनि श्रीकृष्ण ११ वर्षकै उमेरमा मथुरा गएका थिए । कंसबध पश्चात् जरासंधसँगको दुस्मनीका कारण द्वारिका निर्माण गरेर श्रीकृष्णले मथुरा त्याग गरेका थिए ।

सोलेपछि अत्यधिक चलेको “जय सन्तोषी माँ” फिल्मबाट सन्तोषी माताको व्रत लिने र पूजा गर्ने प्रचलन सुरु भयो । त्यो भन्दा अगाडि कुनै धार्मिक ग्रन्थमा सन्तोषी माताको कतै उल्लेख छैन । साइ पनि दुई वटा छन्, सिरडी साइ र पुट्टपर्तिका साइ । सिरडी साइलाई महान् बनाउनको लागि टेलि सिरियल नै प्रसारण हुँदैछ भने पुट्टपर्ति साइको त सङ्गठनहरू नै थुप्रै छन्, जसले उनलाई भगवान् नै बनाउने कुचेष्टा गर्दैछन् । ईश्वरको लागि प्रयोग गरिने ॐ मानवको लागि प्रयोग गर्ने यिनै पुट्टपर्ति साइ सङ्गठन हुन् ।अहिले पनि विभिन्न सम्प्रदायहरू यसरी नै बनी रहेका छन्, मतावलम्बीहरू पनि बढ्दै छन् । यिनीहरूले धर्मको प्रस्ट व्याख्या त गरेका छैनन् नै उल्टो सनातन धर्मको प्रतिष्ठा र दर्शनलाई हिलो छ्याप्ने काम भने गरिरहेका छन् । वेद, उपनिषद, महाभारत र भागवतमा उल्लेख नभएको राधा र राधाकृष्ण प्रेम लीला वेदले स्विकारेको श्रीकृष्ण चरित्रलाई मनन गर्ने हो भने अमिल्दो, काल्पनिक र तथ्यहीन देखिन्छ । यसलाई सनातन धर्मको सहिष्णुता भन्न अब भने नमिल्ला कि ?

श्रोत ग्रन्थहरूः
खसहरूको इतिहास वालकृष्ण पोखरेल
प्राचीन भारतीय परम्परा और इतिहास रंगेय राघव
वैदिक आर्य राहुल सांस्कृतायन
पि.ए. मेकडोलान्ड– वेदिक माइथोलजी
राधाकृष्ण चौधरी– व्रात्यज अफ एन्सियन्ट इण्डिया
आर.सी मजुमदार– वेदिक एज
म्याक्समुलर–सिरिज द स्यिक्रेट बुक अफ द इस्ट

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै