• २०८१ बैशाख १७ सोमबार

नेपाल अन्डर १९ विश्वकपमा छनौट हुन सकेन, बलिङमा सफल, ब्याटिङमा असफल

kharibot

नेपाल न्युजील्याण्डमा सन् २०१८ मा हुने अन्डर १९ विश्वकपको छनौटमा असफल भएको छ । सिंगापुरमा भएको अन्डर १९ विश्वकप छनौट खेलमा आज अफगानिस्तानसँग पराजित हुदै नेपाल विश्वकप छनौटमा असफल भएको हो । नेपालले प्रतियोगितामा ६ खेलमा ४ मा जित र दुइमा हार बेहोर्दै अंक तालिकामा दोस्रो स्थानमा रह्यो । अफगानिस्तानले प्रतियोगिताका सबै खेल जित्दै विश्वकपका लागि छनौट भएको छ ।

आज भएको खेलमा अफगानिस्तानले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ९९ रन बनाउदै अल आउट भएपछि ९६ रनले पराजित भएको हो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने पवन सराफ र प्रकास केसीले १०, १० रनको योगदान दिए । अफगानिस्तानका बलर मुजिब उर रहमान र युसुफ जाजीले ३, ३ विकेट लिएका थिए ।

यसअघि अफगानिस्तानले पहिला ब्याटिंग गर्दै ४६.५ ओभरमा  अल आउट हुदै १९५ रन बनाएको थियो । अफगानिस्तानका ब्याट्सम्यान इब्राहिम जाडरनले नेपाल विरुद्ध शतक हानेका छन् । उनले ११४ बल खेल्दै ७ चौका र ५ छक्काको मद्दतले १०१ रन बनाएका थिए भने अफगानिस्तानकाल लागि इकरम अलि खिलले २४ र नाभेद ओवेदले २२ रन बनाएका थिए । नेपालका लागि शाहाब आलमले सर्वाधिक ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए । सन्दीप लामिछाने र पवन सराफले एक एक विकेट लिएका थिए भने एक विकेट रन आउटको रुपमा नेपालले पाएको थियो ।

सन्दीपको चल्यो जादु :

नेपाली टिम विश्वकपमा छनौट हुन असफल भएपनि नेपाली टिमका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको सिंगापुरमा जारी विश्वकप छनौट खेलमा जादु चलेको छ ।
लामिछानेले ६ खेलेमा कुल २४ विकेट लिएर प्रतियोगितामा धेरै विकेट मात्र लिएका छैनन् उनले धेरै विकेट लिएको खेलमा नेपाल विजयी पनि बनेको छ ।
सन्दीपले सिंगापुरको विरुद्ध पहिलो खेलमा ५ र दोस्रो खेलमा ४ विकेट लिएका थिए भने मलेसियाविरुद्दको पहिलो खेलमा ५ र दोस्रो आजको खेलमा ७ विकेट लिएका छन् । त्यस्तै अफगानिस्तानसँग पहिलो खेलमा २ र दोस्रो खेलमा १ विकेट लिएका थिए । नेपालको बलिङमा सन्दीप बाहेक शाहब आलमले ५ खेलमा १२ विकेट लिए भने पवन सराफ ८ विकेट लिए । त्यस्तै किशोर महतोले ७ र दिपेन्द्रसिंह ऐरीले ५ विकेट लिए ।

ब्याटिंगमा असफल :

यस प्रतियोगितामा नेपालको सबै भन्दा कमजोर पक्ष ब्याटिंग देखियो । प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीको दुई इनिंग बाहेको अन्य कुनै ब्याट्सम्यान ब्याटिंगमा जम्न सकेनन् । नत नेपाललाई ओपनरले राम्रो सुरुवात दिन सके नत मध्यमक्रमका ब्याट्सम्यानले रन बनाउन सके । पिचमा टिकेर खेल्न नसक्नु र पार्टनरसिपमा ध्यान नदिनु नेपाली ब्याट्सम्यानको प्रमुख कमजोरी देखियो । प्रतिभा हुँदा हुँदै पनि नेपाली ब्याट्सम्यानले यस प्रतियोगितामा निराश बनाएका छन् ।

एकदिवसीय खेलमा अफगानिस्तानले दुवै खेलमा पहिलोमा १९१ रन र दोस्रो खेलमा १९६ रन चेज गर्न त्यति मुस्किल मानिदैन तर नेपाली ब्याट्सम्यान पहिलो खेलमा केबल ४९ रन मात्र बनायो भने दोस्रो खेलमा सय रन पनि बनाउन सकेन । क्रिकेट प्रशिक्षक र खेलाडी स्वयंले यस कुरालाई ध्यान दिन जरुरी देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय