• २०८१ बैशाख १७ सोमबार

निजी विद्यालयमा छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षक कारबाहीमा

kharibot

दुल्लू । दैलेखमा निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई कारबाही गरिएको छ ।

गुराँस गाउँपालिकाले तीन शिक्षकलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै कारबाही गरेको हो । गुराँस–५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ती शिक्षकलाई जनही रु १० हजार जरिवाना गरेको हो । 

गाउँपालिकाको विसं २०७५ चैत २५ गते निर्णय गर्दै गाउँपालिकाभित्रका सरकारी कर्मचारी र शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो । सो निर्णयमा गाउँपालिकाभित्रका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नपाइने र त्यसो गरेको पाइएमा १० हजार जरिवाना गरिने उल्लेख छ ।

उक्त निर्णयको पालना नगरेको भन्दै निर्णय अनुसार उनीहरुलाई कारबाही गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । विद्यालयमा कार्यरत शिक्षक पदमबहादुर नेपाली, रोशनी मल्ल र कमलाकुमारी चन्दले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै रु १० हजार जरिवानास्वरुप गाउँपालिकाको खातामा जम्मा गर्न भनिएको छ ।

विद्यालयलाई एक पत्र लेख्दै गाउँपालिकाको खातामा जनही ? १० हजारका दरले रकम दाखिला गर्न अनुरोध गरिएको पत्र प्राप्त भएको प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले कार्यपालिका बैठकले निर्णय गरी प्रत्येक सामुदायिक विद्यालयलाई जानकारीका लागि पत्र पठाए पनि ती  शिक्षकले अटेर गरेकाले जरिवाना तोकिएको बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै