• २०८१ बैशाख १७ सोमबार

डीपीएलको तेस्रो संस्करणको खेलाडी अक्सन आज हुदै

kharibot

काठमाडौँ । धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सन आज हुदै छ ।

यसपटकको अक्सन अघिल्लो संस्करणको भन्दा फरक तरिकाले हुन लागेको आयोजकले जानकारी दिएका छन् । अघिल्ला संस्करणमा खेलाडीलाई आयोजकले वर्गिकरण गरेर चार श्रेणीमा राखेर अक्सनमा बोलि लगाइएकोमा यसपटक खेलाडी दर्ता गर्दा नै उनीहरुले आफू कुन श्रेणीको खेलाडी भनेर छुट्याएर फर्म भराईएकोले यसपटकको अक्सन खुल्ला रुपमा हुने छ । जसमा हरेक टिमले आफूलाई चाहिएको खेलाडीमा खुला बोली लगाउनेछन् ।

यसपटकको अक्सनमा खेलाडीको बेस प्राइस ३० हजारदेखि दुई लाख ५० हजारसम्म तोकिएको छ । अन्नपूर्ण होटेलमा बिहान ११ बजेबाट हुने अक्सन अगाडि हरेक टिमको मार्की खेलाडीको पनि फाइनल हुनेछ ।

यसपटकको डीपीएलमा अघिल्लो संस्करणमा रहेका मार्की खेलाडी पनि परिवर्तन हुने भएका छन् । प्रतियोगितामा सहभागी ६ टिममा ५ टिमको मार्की खेलाडी फाइनल जस्तै भइसकेको छ भने रुपन्देहीको बाँकी रहेको छ ।

अघिल्लो संस्करणका रुपन्देहीका कप्तान शक्ति गौचनले क्रिकेटबाट सन्यास लिइसकेको अवस्थामा उनको स्थानमा नयाँ मार्की खेलाडी छनोट गरिनेछ । 

अघिल्लो संस्करणक मार्की खेलाडी :

विराटनगरको किंग्स - पारस खड्का
सीवाइसी अत्तरीया - दिपेन्द्रसिंह ऐरी
काठमाडौं गोल्डेन्स - ज्ञानेन्द्र मल्ल
महेन्द्रनगर युनाईटेड - विनोद भण्डारी
रुपन्देही च्यालेञ्जर्स - शक्ति गौचन
टिम चौराहा धनगढी - सोमपाल कामी

यसपटकको डीपीएलको अक्सनमा १८६ खेलाडी समावेश रहेका छन् । जसमा हरेक टिमले ११ खेलाडी अक्सन मार्फत छान्ने छन् । 

नेपाल र यूएईबीचको अन्तरराष्ट्रिय एक दिवसीय र टी–२० सिरिजका कारण यो प्रतियोगिता एक साता पछाडि सरेको थियो । जसका कारण अक्सन पनि एक साता पछि धकेलिएको हो ।
प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान रहेको छ । यसपटकको विजेताले पाउने पुरस्कार रकमको घोषणा हुन बाँकी रहेको छ । यसअघि डीपीएलको विजेताले २५ लाख रुपैयाँ पाएको थियो ।

तेस्रो संस्करणसम्म आइपुग्दा टिम चौराहा धनगढीले दुई पटक उपाधि जितेको छ । पहिलो संस्करणको उपाधि पारस खड्काको कप्तानीमा जितेको थियो भने दोस्रो संस्करणको सोमपाल कामीको कप्तानीमा उचालेको थियो ।

यसअघि माघ १९ गतेबाट फागुन ४ का लागि तोकिएको मिति अब माघ २६ गतेबाट हुने आयोजकले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै