काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बिहान साढे ११ बजेदेखि शुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मंगलबारको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टा छुट्टै महाधिवेशनको कार्यतालिका पेश गरेका छन ।
महामन्त्री थापाले फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्ने गरि पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् । थापाले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, २० गते सम्म क्रियाशील सदस्यता छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।
त्यसैगरी संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादवले मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने र त्यसपछि चुनावमा केन्द्रीत हुनुपर्ने प्रस्ताव गरेका छन् । त्यसपछि चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् ।
मंगलबारको बैठकमा थापा र यादवसहित कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।









