काठमाडौँ । रक्षा बम नेतृत्वको नेपाल जेन- जी फ्रन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीको राजीनामा मागेको छ । फ्रन्टले मंगलबार विज्ञप्ति निकाल्दै एन्फाले एर्को बर्ष मात्र ए डिभिजन लिग गर्ने भनेर नेपाली फुटबलको भविष्य माथि खुला हमला गरेको आरोप् लगाएको छ ।
साथै फ्रन्टले नेपाली फुटबललाई निरन्तर खोक्रो पार्ने र खेलाडीको भविष्यमाथि खेलवाड गर्ने, समयमै लिग आयोजना गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउने एन्फा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न चेतावनी समेत दिएको छ । साथै फ्रन्टले एन्फाको यो फुटबल विरोधी निर्णयविरुद्ध आवाज बुलन्द गर्न समेत आग्रह गरको छ ।
फ्रन्टको विज्ञप्ति:
अखिल नेपाल फुटबल संघ (एन्फा) र केही क्लबहरूबीच यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र 'ए' डिभिजन लिग आयोजना गर्ने सहमति भएको खबरप्रति नेपाल जेन-जी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ । यो नेपाली फुटबलको भविष्यमाथि गरिएको खुला हमला र एन्फाको अधोगति हो भन्ने हाम्रो बुझाइ छ । यो घटना पदीय दायित्व पूरा गर्न नसक्ने एन्फा नेतृत्वले पदको दुरुपयोग गर्दै समग्र फुटबल माथि गरेको भ्रष्टचार हो ।
नेपालको फुटबल लिग संरचना 'ए', 'बी' र 'सी' डिभिजनको एक चक्रमा आधारित छ । यी लिगहरू नेपाली फुटबलका मेरुदण्ड हुन् । यी लिग खेलाडीका सपना हुन् र फुटबलप्रेमी नेपाली दर्शकको आत्मा हो । तर यसलाई वर्षौंसम्म रोक्ने एन्फाको यो निर्णयले हामी नेपाल जेन - जी फ्रन्ट सहित सम्पूर्ण खेलकुदप्रेमी नेपालीलाई स्तब्ध बनाएको छ । नेपाली फुटबललाई निरन्तर खोक्रो पार्ने र खेलाडीको भविष्यमाथि खेलवाड गर्ने, समयमै लिग आयोजना गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउने एन्फा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुहुन अनुरोध गर्दछौं ।
हामी समस्त नेपाली फुटबल समर्थकलाई आह्वान गर्दछौंः अब चुप लागेर बस्ने समय छैन ! एन्फाको यो फुटबल विरोधी निर्णय विरुद्ध आवाज बुलन्द गरौं । नेपाली फुटबल बचाउन एकजुट होऔं । हामी सधैं खेल र खेलाडीको पक्षमा छौं, रहनेछौं ।









