काठमाडौँ । बलिउड निर्माता निर्देशक अनुराग कश्यपले निर्देशक दीपक रौनियारसँग फिल्ममा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
उनले सोमबार एक भिडियो सन्देशमा रौनियारको प्रशंसा गर्दै सहकार्य गर्न पाउँदा गर्व महसुस गरिरहेको बताएका हुन् ।
उनले भनेका छन्- 'म खुसीसाथ भन्नसक्छु, दीपकसँग सहकार्य गर्न पाउँदा गर्व महसुस गरिरहेको छु । नेपालमा दुई फिल्ममेकरलाई म निकै मान्छु । एक मीन बहादुर भाम र अर्को दीपक रौनियार ।'
उनले 'राजागंज' उत्कृष्ट फिल्म भएको भन्दै यो फिल्म भारतमा पनि सान्दर्भिक हुने बताएका छन् । उनले भनेका छन्- 'यो नेपालको फिल्म हो । यहाँ नेपाल देखिन्छ । यो कथा नेपालमा मात्र हैन, इन्डियामा पनि रिलेट गर्न सकिन्छ । जहाँ जान आवश्यक पनि छ । त्यो यस्तै फिल्ममार्फत् जान्छ । दर्शकले साथ दिए भने जान्छ । तपाईं यस्तै फिल्म बनाइराख्नुस्...।'
अनुराग फिल्म 'राजागंज' को कार्यकारी निर्माता समेत हुन् ।