काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित युएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र आसपासमा निषेधाज्ञा जारी गरेको छ । आइतबार जिल्ला सुरक्षा समिति, ललितपुरको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले ती क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरु आयोजना गर्दा उत्तेजित भिडबाट तोडफोड, आगजनीजस्ता उच्छृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको बताइएको छ ।
यसअघि काठमाडौँ जिल्ला प्रशासनले पनि संबेदनशील क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको थियो ।