काठमाडौँ । आइतबार अमेरिकी नौसेनाको विमानवाहक जहाज दक्षिण कोरिया आइपुगेको छ । उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणको केही दिनपछि अमेरिकाको विमानबाहक दक्षिण कोरिया पुग्नुलाई शक्ति प्रदर्शनको रूपमा हेरिएको छ।
दक्षिण कोरियाली नौसेनाले विज्ञप्ति जारी गर्दै यूएसएस कार्ल भिन्सन र यसको स्ट्राइक समूहको दक्षिण कोरियाको बुसान बन्दरगाहको भ्रमणको उद्देश्य उत्तर कोरियाली खतराहरूको सामना गर्दै अमेरिका-दक्षिण कोरिया सैन्य गठबन्धन प्रदर्शन गर्नु र उनीहरूको संयुक्त सम्पत्तिको अन्तरसञ्चालनशीलता बढाउनु रहेको बताएको छ ।
जुन महिनायता दक्षिण कोरियाको भ्रमण गर्ने यो पहिलो अमेरिकी विमान वाहक हो । अमेरिकी विमान वाहकको अस्थायी तैनाथीले उत्तर कोरियालाई थप आक्रामक बनाउन सक्ने विश्लेषण गरिएको छ । उत्तर कोरियाले अमेरिकी सम्पत्तिको तैनाथीलाई प्रमुख सुरक्षा खतराको रूपमा हेर्छ । अमेरिकी विमान वाहक, लामो दूरीका बमवर्षक र आणविक पनडुब्बीहरूको तैनाथीको जवाफमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।
जनवरी २० मा पदभार ग्रहण गरेदेखि, राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीति पुनः सुरु गर्न उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्पर्क गर्ने बताएका छन् । उत्तर कोरियाले ट्रम्पको प्रस्तावको प्रत्यक्ष प्रतिक्रिया दिएको छैन, तर ट्रम्पले पदभार ग्रहण गरेदेखि अमेरिकाले उत्तर कोरियाप्रति शत्रुता बढाएको आरोप लगाएको छ ।
उत्तर कोरियाले शुक्रबार आफ्ना शत्रुहरूलाई आफ्नो सैन्य क्षमता र आणविक अभियानको लागि तत्परताको संकेत दिन गत हप्ता रणनीतिक क्रूज क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ । किमले आफ्नो सेनालाई आणविक हतियार प्रयोग गर्न पूर्ण रूपमा तयार रहन आदेश दिएका छन् ।
युक्रेन विरुद्धको युद्धमा रुसलाई समर्थन गर्ने कुरामा केन्द्रित रहेकाले किमले ट्रम्पको प्रस्ताव तत्काल स्वीकार गर्ने सम्भावना कम रहेको विज्ञहरू बताउँछन् । उत्तर कोरियाको आणविक कार्यक्रमको भविष्यबारे छलफल गर्न २०१८-१९ मा ट्रम्पको पहिलो कार्यकालमा किम र ट्रम्पले तीन पटक भेटेका थिए । उत्तर कोरियामाथि अमेरिकी आर्थिक प्रतिबन्धको विवादका कारण उनको उच्चस्तरीय कूटनीति अन्ततः असफल भएको थियो ।