• २०८१ माघ ३० बुधबार

मस्कका विरोधी अल्टम्यान कसरी पुगे ट्रम्पको नजिक ?

kharibot

काठमाडौँ । अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति चुनावको समयमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेआम प्रचार गरे । राष्ट्रपति ट्रम्पलाई निर्वाचित हुन मद्दत गरेपछि मस्क अमेरिकाको एआई नीतिहरूमा प्रभुत्व जमाउन तयार थिए । तर मस्कका पुराना साझेदार तथा ओपन एआईका सिइओ साम अल्टम्यानले उनलाई चकित पारेका छन् ।

अल्टम्यानले ट्रम्पलाई आफ्नो पक्षमा पारे र ह्वाइट हाउसमा आफ्नो पकड जमाएपछि मस्क चकित परेको अमेरिकी मिडियामा चर्चा चलेको छ । ट्रम्पको शपथ ग्रहण समारोहमा अल्टम्यान पनि ओभरफ्लो कोठामा बसेका थिए, जबकि मस्क, मार्क जुकरबर्ग र जेफ बेजोस जस्ता अन्य अर्बपतिहरूले क्यापिटल रोटुन्डाको मञ्चमा आसन लिएका थिए ।

रिपोर्टहरूमा शपथ ग्रहण समारोहको केही दिन अघि वाशिंगटन जाँदै गर्दा अल्टम्यान र ट्रम्पले फोनमा कुरा गरेका थिए । २५ मिनेट लामो टेलिफोन कुराकानीमा, अल्टम्यानले ट्रम्पलाई अमेरिकालाई एआई क्षेत्रमा विश्वव्यापी नेता बनाउने खाका प्रस्तुत गरेको बताइएको छ । उक्त फोनवार्तासँग परिचित तीन जना व्यक्तिका अनुसार, अल्टम्यानले ट्रम्पलाई एआई क्षेत्रमा अमेरिकालाई चीनमाथि अग्रता दिने आश्वासन दिएका थिए । अल्टमानले ट्रम्पलाई यहि कार्यकालमा मानव सोच भएको एआई सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ । साथै अल्टम्यानले ट्रम्पलाई ठूलो योजना र ठूलो सम्झौताको लागि राजी गराए । अल्टम्यानले ट्रम्पलाई प्रविधिले मानिसजस्तै बुद्धिमत्ता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अल्टम्यानले ट्रम्पलाई आश्वासन दिएपछि चीनलाई हराउने योजनासहित ओपन एआई, ओरेकल र सफ्टबैंकले मिलेर ५०० बिलियन लगानी गर्ने गरि स्टारगेट परियोजनाको घोषणा गरिएको थियो ।  ट्रम्पको निर्वाचन पछि, सिलिकन भ्यालीका अर्बपतिहरूले नयाँ प्रशासनलाई प्रभाव पार्न प्रतिस्पर्धा गरेका छन् । सबैभन्दा सफल मस्क थिए, जसले ट्रम्प अभियानलाई २५ करोड डलर सहयोग गरेका थिए र अब संघीय सरकारमा सरकारी दक्षता विभाग नै खडा गरेर मस्कले त्यसको नेतृत्व गर्दै काम समेत शुरु गरेका छन् ।

अर्कोतर्फ ३९ वर्षीय अल्टम्यान लामो समयदेखि डेमोक्र्याटिक दाता र ट्रम्पको पहिलो कार्यकालमा उनको स्पष्ट आलोचक थिए । उनी मस्कको शत्रुहरूको सूचीमा शीर्ष स्थानमा अहिले पनि छन् । मस्कले ओपनएआइ नि: शुल्क हुने शर्तमा शुरुमा लगानी समेत गरेपनि अल्टम्यानले यसलाई कमर्सियल कम्पनी बनाएपछि यसको विरोध गर्दै आएका छन् ।
मस्क ट्रम्पको वरिपरी रहेकै समयमा राष्ट्रपति चुनाव अघि देखिनै अल्टम्यानले ट्रम्पको भित्री घेरामा चुपचाप आफ्नो स्थान बनाएको बताइएको छ । तर, उनले यसलाई कहिल्यै सार्वजनिक गरेनन् ।

तर यसबीचमा चीनको नयाँ एआइ कम्पनी डीपसीकको आगमनपछि भने अवस्था फेरिएको छ । अमेरिकी टेक तथा एआईमा काम गरिरहेका कम्पनीले चिनियाँ कम्पनी डीपसीकको आलोचना गर्दै अमेरिकी एआइ कम्पनीको तहको नभएको बताउन थालेका छन् । अमेरिकी टेक उद्योगको निन्द्रा हराम गरेको डिपसीकको आगमनपछि अल्टम्यानको अभियान र उनको ट्रम्पसँगको सम्बन्धमा भने कति असर गर्छ त्यो भने हेर्न बाँकी छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै