• २०८१ माघ २६ शनिबार

चर्चामा नेतान्याहूले ट्रम्पलाई दिएको 'गोल्डेन पेजर'

kharibot

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटका क्रममा दिएको विशेष उपहार 'गोल्डेन पेजर' को चर्चा अहिले विश्वभर भइरहेको छ ।  यो उपहार लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलको अपरेशनको प्रतीकको रुपमा नेतान्याहूले ट्रम्पलाई गोल्डेन पेजर उपाहार दिएको चर्चा छ । 

इजरायलले सेप्टेम्बर १७ मा हेजबुल्लाह लडाकुहरूलाई आक्रमण गर्न पेजरहरू प्रयोग गरेको थियो । यसमा करिब ४० जनाको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका थिए।

ट्रम्पलाई उपहार दिइएको सुनको पेजरको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । यो पेजर काठको बिचमा जडान गरिएको छ र यसमा कालो अक्षरमा लेखिएको छ - 'राष्ट्रपति डोनाल्ड ट्रम्प । हाम्रो सबैभन्दा ठूलो मित्र र सबैभन्दा ठूलो सहयोगी । बेन्जामिन नेतान्याहू ।' मिडिया रिपोर्टका अनुसार उपहार प्राप्त गरेपछि नेतान्याहूले ट्रम्पलाई भने- 'त्यो एउटा अद्भुत अपरेशन थियो ।'

ट्रम्पले नेतान्याहूलाई ट्रम्प र नेतान्याहू भएको तस्बिर पनि उपहार दिए । त्यसमा लेखिएको छ- 'बीबी, एक महान नेता ।' बीबी नेतान्याहूको उपनाम हो । दुवै नेताले यसमा हस्ताक्षर गरेका छन् ।

इजरायलले लामो समयदेखि हिजबुल्लाहले प्रयोग गर्ने पेजर आफैले विक्री गरेर योजनाबद्धरुपमा विस्फोट गराएर ठुलो अप्रेशन गरेको थियो । गाजा युद्ध सुरु भएपछि, हिजबुल्लाहले आफ्ना सदस्यहरूलाई मोबाइल फोन प्रयोग गर्न निषेध गर्दै पेजरको प्रयोग गरेको थियो । इजरायलको सम्भावित आक्रमणबाट बच्न यो मोबाइलबाट पेजरमा जाने हिजबुल्लाहको रणनीतिमा इजरायल एक कदम अगाडी पेजरको सप्लाई कम्पनि नै स्थापना गरेर आफैले पेजर सप्लाई गरेको खुलेको थियो ।

मिडिया रिपोर्टका अनुसार इजरायलले विगत १५ वर्षदेखि पेजर आक्रमणको योजना बनाइरहेको दाबि गरिएको छ ।  रिपोर्टमा हरेक पेजरमा २५-५० ग्राम विस्फोटक पदार्थ जडान गरिएको र यसलाई ट्रिगर गर्न रिमोटमा पनि जोडिएको बताइन्छ ।

विस्फोट भएको पेजरहरू हिजबुल्लाहले करिब ५ महिनाअघि खरिद गरेको थियो। त्यही समयमा, कुराकानीको लागि अर्को सञ्चार उपकरण, वाकी-टकी पनि खरिद गरिएको थियो, जसमा सेप्टेम्बर १८ मा विस्फोट भएको थियो ।

प्रारम्भिक रिपोर्टहरूले लेबनानमा विस्फोट भएका पेजरहरू ताइवानी कम्पनी गोल्ड अपोलोसँगको सम्झौता अन्तर्गत हंगेरीको कम्पनी बीएसी कन्सल्टिङले निर्माण गरेको दाबी गरेको थियो तर हंगेरी सरकारका प्रवक्ताले पेजरहरू बनाउने कम्पनीको देशमा कारखाना नभएको र पेजरहरू हंगेरीमा बनेका नभएको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै