काठमाडौँ । फिल्म लाज शरणमको नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा रहेको यो गीत सोमबार दिउँसो रिलिज गरिएको हो ।
मेयर शाहले पद सम्हालेपछि यो उनको पहिलो औपचारिक गीत हो। यसअघि उनी हिप-हप संगीतमा चर्चित भए पनि मेयर बनेपछि कुनै नयाँ गीत सार्वजनिक गरेका थिएनन् ।
फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनको तयारीमा रहेको लाज शरणम् टिमले केही दिनअघि मात्र हेर्दा हेर्दैमा... बोलको गीत सार्वजनिक गरिसकेको छ ।
हास्य टेलिश्रृंखला सक्किगोनि टिमले निर्माण गरेको यो चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा देखिनेछन् भने निर्देशन कुमार कट्टेलले गरेका छन् ।
चलचित्रमा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको यो चलचित्र नवीन श्रेष्ठले निर्माण गरेका हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा रहेका छन् ।