काठमाडौं । हमासले आज थप तीनजना इजरायली बन्धकलाई रिहा गर्ने जानकारी दिएको छ ।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत पाँचौं चरणमा हमासले तीन इजरायली बन्धक रिहा गर्न लागेको हो ।
हमासले रिहा गर्ने तीन जनाको नाम सार्बजनिक भएको छ । हमासले आज रिहा गर्नेमा ५६ वर्षीय ओहद बेन अमी, ५२ वर्षीय एली शराबी र ३४ वर्षीय ओर लेभी रहेको बीबीसीले उल्लेख गरेको छ ।
यसमध्ये अमी र शराबीलाई अक्टोबर २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको हमलामा किबुत्ज बेरी क्षेत्रबाट बन्धक बनाइएको थियो भने ओर लेभीलाई नोभा म्युजिक फेस्टिबलबाट बन्धक बनाइएको थियो ।
अहिलेसम्म युद्धविरामपछि हमासले १८ बन्धकलाई रिहा गरेको छ भने इजरायलले आफ्नो हिरासतमा रहेका ३८३ बन्दीलाई रिहा गरेको छ । जनवरी १९ देखि शुरु भएको युद्धविरामको पहिलो चरणको तीन साताको समयमा युद्धविराम सम्झौता अनुसार हमासले ३३ बन्धक रिहा गर्ने र इजरायलले १९०० बन्दीलाई रिहा गर्ने सहमति भएको थियो ।
हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको नाम भने रिहा हुने बन्धकको सूचीमा यस पटक पनि परेको छैन ।