काठमाडौँ । नेपालमा रैथाने खाना संरक्षणका अभियन्ता सेफ प्रेमलाल घिसिङको निधन भएको छ । करिब अढाइ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित घिसिङको सोमबार निधन भएको हो ।
दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नम्बर १ दूधपोखरीका स्थायी निवासी घिसिङ रेक्टम क्यान्सरबाट पीडित थिए । मेडिकेयर अस्पताल चाबहिलमा उपचार गर्दै आएका घिसिङ पछिल्लो समय कोटेश्वरस्थित निवासमै थिए ।
सेफ घिसिङ रैथाने खाना संरक्षणका अभियन्ता थिए । उनले नेपालका विभिन्न जातजातिहरूका मौलिक खाना वा रैथाने खानाको खोजिमा लागि १०१ दने अभियान नै चलाएका थिए । यहीक्रममा उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै आदिवासी जनजातिहरूको पाककला र परिकार बारे अध्ययन गरेका थिए ।
राजधानीका विभिन्न कलेजहरूमा कन्टिनेन्टल, इन्डियन, चाइनिजलगायत फुडबारे अध्ययन अध्यापनमा सङ्लग्न घिसिङको गहिरो रूची आदिवासी जनजातिहरूको मौलिक खाना रेस्टुरेन्ट देखि तारे होटलहरूको प्लेटमा पस्किनेमा थियो ।
उनकै नेतृत्वमा २०७९ सालमा हिमालयन हस्पिटालिटी अवार्ड कार्यक्रमको समेत आयोजना भएको थियो ।
नेपालमा सत्कार पेसामा काम गर्नेलाई सम्मानसहित नेपाली खानाको मेलाको सुरुआत पनि उनकै नेतृत्वमा भएको थियो । घिसिङको तामाङ खाना सम्बन्धि पुस्तक (०७८) प्रकाशित छ भने उनले रैथाने खाना सम्बन्धि गीत पनि लेखेका छन् ।