• २०८१ माघ २३ बुधबार

ग्वार्कोको फ्लाइओभर निर्माणको ठेकेदार सम्पर्कविहीन, काम रोकियो

kharibot

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम गर्ने ठेकेदार कम्पनी भागेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भनिएको फ्लाइओभर ठेकेदार कम्पनीले बीचमै काम छाडेर सम्पर्कविहीन भएपछि अहिले काम पुर्णरुपमा रोकिएको छ ।

सडक विभागले ग्वार्को फ्लाइओभरको काम करिब ८२ प्रतिशत सकिएको दाबी गरेको छ । बाँकी काम गरिरहेको आशिष-समानान्तर-रेलिगेर जेभीले काम छोडेपछि अहिले निर्माण कार्य रोकिएको सडक विभागले जनाएको छ ।

सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सकिनुपर्ने हो । तर यो समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो ।

यो समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । सो समयभित्र पनि काम नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो । निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो । 

सडक विभागका अनुसार निर्माण कम्पनीले ठेक्का रकमको ०.०५ प्रतिशतका दरले दैनिक ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको थियो । 

तर ८२ प्रतिशत मात्रै काम सम्पन्न गरेर निर्माण कार्य रोकिंदा पनि ठेकेदार कम्पनिले तिर्नुपर्ने हर्जना भने तिर्नैपर्ने हुन्छ । एक्कासी निर्माण कम्पनीले काम छाड्दा सडक विभागले भने अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरिएको छ ।

फ्लाइओभरको ठेक्का भएको करिब एक वर्षमा डिजाइनमा समस्या देखाएर काम रोकिएको थियो भने नयाँ डिजाइन बनाएर काम गरिरहँदा बर्खाको समयमा चार महिनासम्म काम रोकिएको थियो । त्यसपछि निर्माणले गति लिएपनि फेरी अहिले ठेकेदार कम्पनीले काम बन्द गरेका हुन् । फ्लाइओभर निर्माण शुरु भएदेखि नै सवारी जामको सास्ती खेप्दै आएका यात्रु र स्थानीय अब झन् बढी चिन्तित बनेका छन् ।

निर्माण सम्पन्न हुँदा ग्वार्को फ्लाइओभरमा ५ सय मिटर एमएसई वाल भएको सडक बन्नेछ । जसमा कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८० मिटर एमएसई सडक निर्माण हुने छ ।

ग्वार्को फ्लाइओभर निर्माणका लागि करिब १७ करोड ६ लाख ८८ हजार रुपैयाँ कुल लागतमा आशिष–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै