पोखरा । गण्डकी प्रदेशले आज प्रदेशको स्थापन दिवस मनाउदै छ । मन्त्रिपरिषदको बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले विभिन्न कार्यक्रम गरेर प्रदेश स्थापना दिवस मनाउने र आज प्रदेशमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
गण्डकी प्रदेश स्थापनाको अवसरमा आज प्रदेशका सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्बजनिक संस्थान बन्द हुने छन् ।
यस अघि भने फागुन ४ मा प्रदेश स्थापना दिवस मनाइदै आएको थियो । सुरुआतमा २९ माघ, २०७४ सालमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २०७४ फागुन ४ मा प्रदेश प्रमुख बाबुराम कुँवरसँग पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिनलाई सरकारले स्थापनाको दिवसको रूपमा मनाउँदै आएको थियो ।