काठमाडौँ । क्यानडा र मेक्सिको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ व्यापार कर लगाउने घोषणा गरेसँगै जवाफी कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने उत्पादनमा २५ प्रतिशत र चीनलाई १० प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए ।
यसको जवाफमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अमेरिकाको यो निर्णय अमेरिकीहरुका लागि महँगो पर्ने चेतावनी दिदै क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।
ट्रूडोले मंगलबारदेखि लागु हुनेगरी अमेरिकाबाट क्यानडामा आउने १५५ बिलियन डलर बराबरको उत्पादनमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका हुन् । साथै ट्रूडोले क्यानडाका नागरिकलाई स्वदेशकै उत्पादन प्रयोग गर्न अपिल समेत गरेका छन् ।
त्यस्तै मेक्सिकोले पनि ट्रम्पको आदेशमा जवाफ दिदै अमेरिकी उत्पादनमा कर लगाउने घोषणा गरेको छ । मेक्सिकोकी मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले ट्रम्पको आदेशको जवाफ दिदै आफुहरुले यसअघि नै तयारी गरेको प्लान बी अनुसार अगाडी बढ्न निर्देशन दिएको बताएकी छन् । तर उनले अमेरिकी उत्पादनमा कति कर लगाउने भने स्पष्ट गरेकी छैनन् ।
अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदार यी तीन देशलाई नयाँ कर लगाउने घोषणासँगै यी देशहरूसँग अमेरिकाको व्यापार सम्बन्ध प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।
ट्रम्पले अमेरिकी कम्पनिलाई प्रोत्साहित गर्न बाहिरबाट आउने उत्पादनलाई हतोत्साहित गर्न नयाँ कर लगाएको दलिल दिएका छन् । ट्रम्पले आफ्नो यस निर्णयले महंगी नबढ्ने दाबि गर्दै विश्वव्यापी अर्थतन्त्रमा कुनै नकारात्मक प्रभाव नपर्ने बताएका छन् ।
ट्रम्पले अवैध आप्रवासी समस्यामा क्यानडा र मेक्सिकोमाथि दबाब बढाउन नयाँ कर लगाएको समेत बताइएको छ । दुवै देशले अवैध आप्रवासन र फेन्टानिल तस्करीमा ट्रम्पसँग सम्झौता गरेमा यी कर फिर्ता हुनसक्ने बताइएको छ ।
अर्कोतर्फ विज्ञहरूले भने यी करका दर लामो समयसम्म जारी रहेमा यसले विश्वव्यापी व्यापारमा अस्थिरता निम्त्याउन सक्ने र मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिएका छन् ।