• २०८१ माघ ८ मंगलबार

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व चयनका लागि आज मनोनयन दर्ता जारी

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

आज बिहान ८ बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म चल्ने छ । उम्मेदवारी दर्ता अनलाइनमार्फत् भइरहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

२३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ । अध्यक्षमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, हेमन्त किराँती, सुदिन पौडेल र विश्वमणि थापालगायत दावेदार छन् ।

निर्वाचनमार्फत् नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहे पनि सहमतिको प्रयास पनि जारी रहेको नेताहरुले बताएका छन् ।

केन्द्रीय नेतृत्वमा अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ । जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रुतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।  

गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो । यसलाई गत पुस १३ गते मतदानमार्फत ३२ वर्षे उमेर हद लगाउने नीति बहुमतले पास गरिएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै