• २०८१ पौष १८ बिहीबार

महानगरले राष्ट्रिय सभा गृहमा पीएल सिंहको पूर्ण कदको शालिक बनाउने

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३९औँ कार्यपालिका बैठकले राष्ट्रिय सभा गृह परिसरमा महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल सिंहको पूर्ण कदको शालिक राख्ने निर्णय गरेको छ ।

आइतबार (पुस १४) प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजामा बसेको वैठकले स्व. सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पुर्एको योगदानको सम्मानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो ।  

वि. सं. १९९६ साल चैत ११ गते जन्मनुभएका सिंहको २०८१ पुस १ गते निधन भयो । वि. सं. २०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर उनी नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएको थियो । २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उनले सहरलाई स्तरोन्नति गराएका हुन् । उनको कार्यकाल २०५३ चैत २४ गतेसम्म रह्यो ।

वैठकले ‘सहकारी ऐन २०७४’, ‘शिक्षा ऐन २०७५’, ‘राजस्व ऐन २०७५’, ‘विवाद निरुपण कार्यविधि ऐन २०७५’, ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७’, ‘कर्मचारी सेवा ऐन २०७७’, ‘महानगर प्रहरी ऐन २०८०’, ‘जनप्रतिनिधिहरुको सुविधा सम्बन्धी ऐन २०७९’, ‘होस्टेल कार्यविधि २०७९’ लाई पुनलेखन तथा संशोधनका लागि सहमति दिएको छ । यस्तै ‘सञ्चार तथा सूचना ऐन २०८१’ को नियमावली तथा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

बैठकमा योजना अनुगमन तथा मूल्याङ्क एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले ‘स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा आर्थिक वर्ष २०७९/०८० का लागि गरिएको मूल्याङ्कनमा महानगरपालिकाले ८२.७५ अङ्क प्राप्त गरेको विवरण पेश गरेका थिए । यो प्रारम्भिक प्रतिवेदनलाई वैठकले अनुमोदन गरेको छ । 
यस्तै वडा वर्गीकरणमा वडा नम्बर १२ लाई मझौला वडा बनाउने निर्णय गरेको छ । वडालाई यसअघि सानो वडामा राखिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै