• २०८१ पौष १५ सोमबार

ठग सुकेसको ज्याक्लिनलाई फ्रान्सको वाइनयार्ड उपहार, पत्र लेख्दै भने- म तिम्रो प्रेममा पागल छु

kharibot

काठमाडौँ । २०० करोडको मनी लान्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले बलिवुड अभिनेत्री ज्याकलिन फर्नानडिसलाई फेरी उपहार पठाएका छन् ।

क्रिसमसको अवसरमा सुकेशले ज्याकलिनको नाममा फ्रेन्च वाइनयार्ड किनेर पठाएको एक पत्रमार्फत जानकारी दिएका छन् । उनले लेखेको चिठ्ठीमा आफु बाहिर आउन्जेल पर्खिन आग्रह गरेका छन् ।

हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार सुकेशले चिठ्ठीमा लेखेका छन्, ‘तिमीबाट टाढा बस्दा मलाई तिम्रो लागि सान्ता क्लज बन्नबाट रोक्न सक्दैन । मेरो प्रिय, यो वर्ष म तिम्रो लागि विशेष उपहार छ । आज म तिमीलाई वाइनको बोतल मात्र होइन, फ्रान्समा रहेको एउटा वाइयार्ड पनि उपहार दिन चाहन्छु । जसको बारेमा तिमीले कहिल्यै सोचेको पनि नहुन सक्छ ।'

सुकेशले पत्रमा थप लेखेका छन्, ‘तिम्रो हात समातेर यो बगैँचामा हिँड्न पाउँदा उत्साहित छु । सारा दुनियाँलाई म पागल लाग्ला तर म तिम्रो मायामा पागल छु । म बाहिर नआउञ्जेल पर्खिनु । त्यसपछि सारा संसारले हामीलाई सँगै देख्नेछ ।'

सुकेशले ज्याकलिनका लागि जेलबाट धेरै पटक उपहार पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सुकेश चन्द्रशेखर दुई सय करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा विगत केही वर्षदेखि जेलमा छन् । मनी लान्ड्रिङ प्रकरणमा अनुसन्धानका क्रममा ज्याकलिन सुकेशसँग सम्बन्धमा रहेको खुलासा भएको थियो, जसका कारण अभिनेत्री पनि अनुसन्धानको घेरामा परेकी थिइन् । सुकेशले ज्याक्लिनलाई धेरै महँगो र बहुमूल्य उपहारहरू दिएको विषयमा प्रहरीले अनुसन्धान गरेको थियो । ज्याकलिनले प्रहरीलाई दिएको बयानमा सुकेश ठग भएको आफुलाई थाहा नभएको बताएकी थिइन् ।

विगत केही महिनादेखि सुकेश चन्द्रशेखर जेलबाट ज्याकलिनलाई विशेष अवसरमा प्रेमपत्र लेख्दै आएका छन् । ज्याकलिनका वकिलले पनि यी पत्रमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । यसले उनको छविमा नराम्रो असर परेको वकिलको दाबि रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै