काठमाडौँ । भिम रावललाई अन्तत: एमालेले बाहिरको ढोका देखाइदिएको छ । करिब तीन बर्ष भीम रावलले आफु एमालेमै रहेको दाबि गरिरहे र एमाले नेतृत्वको आलोचना गरिरहे । पार्टीले दिएको जिम्मेवारी अस्वीकार गर्दै पार्टी सदस्यको रुपमा मात्र रहेका रावललाई अब त्यसबाट पनि एमालेले निकालिए पछि अब उनको राजनीतिक भविष्य एमालेमा सकिएको छ ।
बुधबार बसेको नेकपा एमालेको सचिवालय बैठकले रावलको संगठित सदस्यबाट मुक्त गर्दै एमालेमा सधैक लागि ढोका बन्द गरिदिएको छ ।
सचिवालय बैठकको निर्णय सार्बजनिक गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले भने- ‘कमरेड भिम रावलले उहाँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभो । उपाध्यक्षका लागि आग्रह गरिएकामा उहाँले मान्नुभएन। त्यसपछि हाम्रो केन्द्रीय सदस्यमा पनि नआउनुभएपछि वैधानिक व्यवस्थाअनुसार सल्लाहकारमा रहनुभयो । अभिव्यक्तिहरू पनि पार्टीलाई बलियो बनाउने भन्दा पार्टीलाई निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले उहाँलाई संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय भएको छ ।’
एमालेले कारवाही गरेर सदस्यबाट निकालेपछि भीम रावलले यो निर्णय अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गरेका छन् । तर उनले आफ्नो राजनीतिक भविष्यको बारेमा स्पष्ट बताएका छैनन् । राष्ट्रवादी नेताको छबी बनाएका रावल अब पार्टी बिहिन बनेपछि उनले अब एकीकृत समाजवादीमा प्रवेश गर्ने, क्षेत्रीय दल खोलेर सुदूरपश्चिममा राजनीति गर्ने वा अन्य दलमा जानसक्ने अनुमान समेत शुरु भएको छ । पछिल्लो समय एमाले भित्र पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय बनाइरहेको समेत चर्चा भइरहेका बेला ओली पक्षले उनलाई पार्टी बाटै निष्काशित गरेको छ ।
२०१३ मा अछाममा जन्मिएका रावल २०३० सालमा कम्युनिस्ट विद्यार्थी राजनीतिमा लागेका थिए । राधाकृष्ण मैनालीबाट नेकपा मालेको सदस्यता पाएको बताउने रावलले २०४८ मा एमालेको प्रचार विभाग सदस्य बनेका थिए । २०४८ को संसदीय निर्वाचनमा पराजित भएका रावल ०५१ मा भने निर्वाचित भएका थिए । त्यसयता उनी पटक–पटक मन्त्री देखि उपप्रधानमन्त्रीसम्म बनेका छन् । एमालेको छैठौं (०५४) र सातौं (०५९) महाधिवेशनमा केन्द्रीय सदस्य बनेका रावल आठौं (०६५) महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए । नवौं (०७१) महाधिवेशनमा भने रावल उपाध्यक्षमै सर्वाधिक मतसहित विजयी बनेपछि उनको एमालेमा प्रभाव बढेको थियो ।
१० वर्ष सेती अञ्चल इञ्चार्ज र प्रदेश संरचनामा गएपछि उनी पार्टीको प्रदेश इन्चार्ज नै बनेका थिए । यस्तै माओवादी केन्द्रसँग एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको समेत सुदूरपश्चिम इन्चार्ज बनेका थिए ।
२०७४ को स्थानीय तह निर्वाचन र संसदीय निर्वाचन रावल र एमालेका लागि सुदूरपश्चिममा राम्रो नतिजा आएको थियो । जसको जस एकलौटी रावलले लिएका थिए । २०७४ को संसदीय निर्वाचनपछि बनेको सरकारमा आफूलाई मन्त्री नबनाएपछि रावल ओलीको आलोचना गर्न शुरु गरेका थिए ।
त्यसपछि उनी ओलीको आलोचक बन्दै खासगरी माधव नेपालको पक्षमा रहेका थिए । तत्कालिन नेकपा बिभाजन भएर पुरानै अवस्थामा फर्किए पछि माधव नेपालले एकीकृत समाजवादी पार्टी खोले पछि रावल एमालेमै बसेका थिए । एमाले विभाजनलाई रोक्न समेत प्रयास गरेपनि अन्तत: उनले माधव नेपाललाई साथ नदिएर उनीसहितका १० नेताले‘१० बुँदे सहमति’ गरेर उनीहरू एमालेमै बसेका थिए ।
यसैक्रममा २०७८ मंसिरमा भएको एमालेको १०औं महाधिवेशनमा ओलीको सर्वसम्मत् अध्यक्ष हुने प्रयासमा रावलले अवरोध गर्दै उम्मेदवारी दिएका थिए । निर्वाचनमा ओलीले एक हजार ८३७ मत पाएर अध्यक्षमा विजयी भए भने रावलले २२३ मत पाएक थिए ।
अध्यक्षमा पराजित भएपछि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका थिए । त्यसपछि लगातार ओलीको आलोचना गरिरहेपछि रावलले स्थानीय तहको निर्वाचनमा कुनै जिम्मेवारी पाएनन् भने २०७९ को प्रतिनिधिसभा निर्वाचनमा टिकट पनि पाएनन् । अछाम–१ बाट एकल नाम सिफारिस भएर आउँदा पनि उनलाई एमालेले टिकट दिएन् । रावलले प्रतिनिधि सभामा कुनै भूमिका नै पाएनन् । त्यसयता रावल सधै एमालेको आलोचकको रुपमा बोल्दै आएका थिए ।
अब पार्टीले सदस्यबाट समेत निकालेपछि अब रावलको राजनीतिक यात्रा कसरी अगाडी बढ्छ त्यो भने आगामी दिनमा स्पष्ट हुनेनै छ ।