काठमाडौं । नेकपा (एमाले) बाट निश्काषित भएपछि भीम बहादुर रावलले असन्तुष्टि पोखेका छन् । उनले आफूलाई केपी शर्मा ओलीले सत्ताको उन्मादमा कारबाही गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा रावलले आफूलाई एमालेको साधारण सदस्यबाट हटाउने निर्णयलाई अध्यक्ष ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको टिप्पणी गरेका छन् ।
रावलले लेखेका छन्-
'नेकपा (एमाले) को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने के.पी. ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो । कतिपय भ्रष्ट, अनैतिक, फौज्दारी मुद्धा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरुलाई काखि च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन । सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले के.पी. ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।'