• २०८१ भदौ २८ शुक्रबार

सिधाकुराको अडियो प्रकरणका समाचार स्रोत तिमल्सिना पक्राउ

kharibot

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्ममी र पत्रकार समेतलाई आरोपित गरी फेक अडियो बनाएको प्रकरणमा फरार आरोपित राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

तिमल्सिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ  काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । 

तिमल्सिनाले तयार गरेको फेक अडियो 'स्टिङ अपरेसन'को नाममा सीधा कुरा अनलाइनमार्फत् सार्वजनिक गरिएको थियो । उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा तिमल्सिनासहित तीन जनालाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये तिमल्सिनासहित फेक अडियो सार्वजनिक गर्ने अनलाइन 'सीधाकुरा'का प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना थिए ।

कँडेल र ढुंगाना भने यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । फरार रहेका तिमल्सिनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । ‘डार्क फाइल’ नाम दिएर प्रसारण गरिएको अडियो फेक भएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले उनीहरूबाट कसुर भएको अभियोगसहित सरकारी वकिलको कार्यालयमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन पेस भएको थियो ।

यस प्रकरणमा सर्वोच्चमा पनि तीनै जनाविरुद्द अदालतको अबहेलनाको मुद्दा समेत विचाराधीन छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै