• २०८१ कार्तिक ८ बिहीबार

अमेरिका र रुसबीच कैदी आदानप्रदानको सहमति: २६ जनालाई टर्की पुर्याइयो

kharibot

काठमाडौँ । अमेरिका र रुस कैदी आदानप्रदान गर्न सहमत भएका छन् । मिडिया रिपोर्टका अनुसार यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकको रिहाइको विषयमा छिट्टै निर्णय हुने अपेक्षा गरिएको छ ।

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले रुसमा थुनिएका बन्दीहरूमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, मरिन पल ह्वेलन र रुसी-अमेरिकी रेडियो पत्रकार आल्सु कुर्मशेवा रहेको पुष्टि गरेका छन् ।

भेलान र गेर्शकोविच दुवै जासुसीको आरोपमा रुसमा जेल परेका थिए । अमेरिकाले पनि यी गिरफ्तारीको विरोध गर्दै आएको थियो ।

कुर्मशेवा एक अमेरिकी र रुसी नागरिक हुन् जसलाई रुसी सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा जुन २०२३ मा रुसमा हिरासतमा राखिएको थियो ।

संयुक्त राज्य अमेरिका, रुस, जर्मनी र अन्य तीन युरोपेली देशहरूबीच भएको यो सम्झौताअनुसार कुल २६ जनालाई रिहा हुनेक्रममा टर्कीको अन्करा पुर्याइएको बिबिसीले उल्लेख गरेको छ । जसमा रुसमा बन्दी रहेका कम्तीमा १२ जनालाई जर्मनीमा रिहा गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै जर्मनीको हिरासतमा २०१९ देखि रहेका रुसी इन्टेलिजेन्सका कर्नेल भाडिम क्रासीकोभलाई पनि टर्की पुर्याइएको बताइएको छ । उनीसहित ८ रसियनलाई विभिन्न देशबाट छोड्न लागिएको बताइएको छ ।

यस अघि अमेरिका र रुसबीच कैदीको सबैभन्दा ठूलो आदानप्रदान सन् २०१० मा भएको थियो, जब रुसका लागि जासुसी गरेको आरोपमा अमेरिकामा १० जना पक्राउ परेका थिए । त्यसपछि यी १० कैदीलाई भियना विमानस्थलमा अन्य चार बन्दीसँग साटासाट गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै