काठमाडौँ । भारतीय सुपरस्टार क्रिकेटर विराट कोहली र कप्तान रोहित शर्मा घरेलु क्रिकेटमा फर्किएका छन् ।
पछिल्ला महिनाहरूमा लगातारको खराब प्रदर्शनपछि रोहित र विराट घरेली लिग रणजी ट्रफी खेल्ने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतले हालै अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा हार बेहोरेपछि कप्तान रोहित र विराटको टेस्ट क्रिकेटमा भविष्य बारे प्रश्न उठेको थियो । मिडिया र आम प्रशंसकले प्रश्न उठाइरहेका बेला दुवैले फर्मको खोजीमा घरेलु लिग खेल्ने निर्णय गरेका हुन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पनि राष्ट्रिय टिमबाट खेल्ने खेलाडीले खाली समयमा घरेलु लिगमा अनिवार्य खेल्नुपर्ने नियम लागु गरेकाले पनि अहिले धेरै जसो राष्ट्रिय टिमका खेलाडी घरेलु क्रिकेटमा फर्किएका छन् । अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका बेला घरेलु क्रिकेट नखेल्ने खेलाडीलाई छनौट प्रक्रियामा समावेश नगर्ने भन्दै बोर्डले कडा रवैया अपनाउन थालेको छ ।
रोहित शर्माले मुम्बईको टिमबाट रणजी ट्रफी खेल्ने बताइएको छ भने विराट कोहलीले दिल्लीको टिमबाट रणजी खेल्ने भएका छन् । विराट कोहली १२ बर्षपछि फर्स्ट क्लास क्रिकेट खेल्न लागेका छन् । उनी जनवरी ३० देखि फेब्रुअरी २ सम्म हुने दिल्लीको रेलवेविरुद्धको खेलमा खेल्ने निश्चित भएको दिल्लीका प्रशिक्षक सरनदीप सिंहले जानकारी दिएका छन् ।
त्यस्तै रोहित शर्मा भने जनवरी २३ मा शुरु हुने मुम्बईको जम्मु कश्मिरविरुद्धको खेलमा खेल्ने भएका छन् । रोहित शर्माले पछिल्लो पटक २०१५ मा रणजी ट्रफी खेलेका थिए ।