• २०८१ श्रावण १२ शनिबार

समय नभएको भन्दै बेलायतका राजा चार्ल्सले छोरा ह्यारीलाई भेटेनन् !

kharibot

काठमाडौँ । बेलायतका राजा चार्ल्सले आफ्ना छोरा राजकुमार ह्यारीलाई भेट्न अस्वीकार गरेका छन् । छोरालाई भेट्न अस्वीकार गरेका राजा चार्ल्सले फुटबलर डेभिड बेकह्यामलाई भेटेपछि यो विषय चर्चामा रहेको छ ।

शाही परिवार र राजकुमार ह्यारीका प्रवक्ताले राजा चार्ल्सको व्यस्त कार्यक्रमका कारण भेटघाट हुन नसकेको बताएका बेला राजाले बेकह्यामलाई भेटेपछि दुवैको सम्बन्धको विषयमा प्रश्न उठेको छ ।

युके एक्सप्रेसले आफ्नो रिपोर्टमा लेखेको छ, राजा चार्ल्सले समय अभावका कारण आफ्ना छोरा प्रिन्स ह्यारीलाई भेटेनन् तर उनले डेभिड बेकह्यामलाई भेट्ने समय पाएका छन् ।

प्रिन्स ह्यारी इनभिक्टस खेलको १० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मे ७ मा लण्डन पुगेका थिए । यस समयमा उनले आफ्नो बुबा राजा चार्ल्सलाई भेट्ने विश्वास गरिएको थियो ।

युके एक्सप्रेसका अनुसार इङ्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान डेभिड बेकह्याम र राजा चार्ल्सबीच निजी भेटघाट भएको थियो । दुबैले शाही परिवारको परोपकारी फाउन्डेसनको बारेमा छलफल गरेका थिए । बेकह्यामको बेलायती शाही परिवारसँग लामो समयदेखि बलियो सम्बन्ध छ। उनी यसअघि राजकुमार ह्यारी र राजा चार्ल्स दुवैसँग धेरै अवसरमा देखिएका छन्।

बुबालाई भेट्न नसकेपछि राजकुमार ह्यारीले भने, 'बुवासँग काममा प्रतिबद्धता छ भन्ने मैले बुझेको छु । म उहाँलाई छिट्टै भेट्ने आशा गर्छु ।'

प्रिन्स ह्यारी र पत्नी मेगन मार्कलले जनवरी २०२० मा शाही परिवार छोडेका थिए । यसपछि राजकुमार ह्यारीको जीवनी ‘स्पेयर’ रिलिज भयो । यसमा शाही परिवारविरुद्ध धेरै खुलासा भएको थियो । ह्यारी र मेगनले एक डकुमेन्ट्रीमा शाही परिवारको बिरूद्ध पनि बोलेका थिए । जसका कारण राजा चार्ल्स राजकुमार ह्यारीसँग रिसाए ।

यसैबीच राजा चार्ल्सलाई क्यान्सर भएको खबर बाहिरियो । यसपछि पनि ह्यारीले आफ्नो बुबालाई भेटेनन् । यो अर्को कारण हो जसका कारण यी दुईको भेट हुने विश्वास गरिएको थियो ।

ह्यारी आफ्नी श्रीमती मेगन र आफ्ना दुई छोराछोरीसँग घर छोडेर सन् २०२० मा अमेरिकाको क्यालिफोर्निया गएका थिए । तर, क्यालिफोर्निया छाडेर पनि उनी बेलाबेलामा बेलायत आउने क्रम जारी छ । यसअघि उनी सन् २०२३ मा बुवाको राज्याभिषेकमा सहभागी हुन लण्डन आएका थिए । उनी सेप्टेम्बर २०२२ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन यहाँ आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै