• २०८१ जेठ ६ आइतबार

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

kharibot

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरुको शव स्वदेश ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी घाइतेको उपचारको व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहनेलाई कूटनीतिक पहल गर्न आग्रह गरेको हो ।

आयोगले आमरण अनशनमा बसेका कृतु भण्डारीलगायतको जीवन रक्षा गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

नेपालीहरु जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरुको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने आयोगले स्मरण गराएको छ । 

रुस र युक्रेनबीच चलिरहेको युद्धमा रुसी सेनामा कार्यरत ३९ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । केही घाइते भई उपचाररत छन् ।

जोखिममा रहेका कतिपयको यथाशीघ्र उद्धारका लागि पहलको माग राखेर युद्ध प्रभावितका आफन्त विगत १७ दिनदेखि काठमाडौँमा अनशनमा छन् ।  यस विषयमा आयोगमा उजुरी प्राप्त भएपछि रत्नपार्कमा जारी आमरण अनशनस्थलको आयोगले अनुगमन गरेको छ ।

अनशनरत व्यक्तिको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको आयोगले जनाएको छ । जोखिममा रहेका व्यक्तिहरुको उद्धार गर्न र गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गर्न गत १ पुसमा आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै