काठमाडौँ । भारतको दिल्लीमा अरविन्द केजरीवाल सरकारकी मन्त्री आतिशीले भारतीय जनता पार्टीले आफुलाई आफ्नो पार्टीमा सामेल हुन प्रस्ताव गरेको दाबी गरेकी छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्ना निकटहरुसँग भाजपामा प्रवेश गर्न प्रस्ताव पठाएको दाबि गर्दै त्यसो नगरेमा पक्राउ गर्ने चेतावनी समेत दिएको खुलासा गरेकी हुन् ।
आफुलाई एक महिनाको समय दिइएको बताउदै उनले भाजपाले अब आम आदमी पार्टीलाई ध्वस्त पार्ने रणनीति मन बनाएको बताएकी छन् ।
उनले भनिन्- 'आम आदमी पार्टीका शीर्ष नेताहरूलाई पक्राउ गरिएको छ । पहिले सत्येन्द्र जैन पक्राउ परेका थिए । त्यसपछि मनिष सिसोदिया, सञ्जय सिंह र मुख्यमन्त्री अरविन्द केजरीवाललाई गिरफ्तार गरियो । अब मसँगै सौरभ भारद्वाज, दुर्गेश पाठक र राघव चड्डालाई पनि पक्राउ गरिदै छ ।'
मन्त्री आतिशीले बीजेपीले आम आदमी पार्टीका नेताहरूलाई गिरफ्तार गर्ने हो भने यो पार्टी ध्वस्त हुन्छ भन्ने अनुमान गरेको बताउदै कार्यकर्ताले त्यस्तो हुन नदिने बताएकी छन् ।
आतिशीले भनिन्, ‘अब मेरो घरमा ईडीले छापा मार्नेछ । ईडीले मेरा आफन्तको घरमा छापा मार्नेछ। हामीलाई समन जारी गरी जेल पठाइनेछ। तर हामी डराउँदैनौं। हामी संविधान र देश बचाउन लड्नेछौं ।'