• २०८१ बैशाख २७ बिहीबार

इलाम-२ उपनिर्वाचनमा महिला सहभागिता उत्साहजनक

kharibot

फिक्कल । इलामको माङसेबुङ गाउँपालिका-२ हुलाककी ७९ वर्षीया ज्येष्ठ नागरिक महिला गङ्गादेवी राई बिहानै लठ्ठी टेक्दै नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुगिन् । ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने भएकाले स्वयम्सेवकले प्रवेशद्वारबाटभित्र मतदानस्थलमा प्रवेश गराए । उनले आफूले मन परेको उम्मेद्वारको चिन्हमा मतदान गरेर बाहिर निस्कइन् ।

“यतिका उमेरसम्म दर्जनौँ पटक मतदान गरियो, आफूले मतदान गरेकाले  जितेर पनि गए, तर गाउँको विकास भएन,” उनले भनिन्, “यस पटक पनि मैले मत दिएको उम्मेद्वारले जितोस्, तर यस पटक जितेर गएकाले गाउँमा विकासको चाँही गर्नुपर्छ ।” गाउँमा बिजुली, खानेपानी र बाटोघाटोको समस्या समाधान गर्नुपर्ने उम्मेद्वारसँग उनको अपेक्षा छ । 

माङसेबुङ गाउँपालिका-२ डाँडागाउँकी अर्की एकल महिला आशमति लिम्बूले पनि उत्साहका साथ मतदान गरिन् । पञ्चायतकालदेखि मतदान गर्दै आएकी उनले राम्रो मान्छे जिताउन मतदान गर्न आएको बताइन् । लठ्ठीको सहारामा आधा घण्टा पैदल हिँडेर मतदान केन्द्रसम्म आइपुग्नुभएकी उहाँले बेलाबेलामा मतदान गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने गरेको बताइन् । “आफूलाई मन परेको उम्मेद्वारले जितोस् भन्न सधैँ मतदानमा सहभागी हुने गरेकी छु,” उनले भनिन्, “यसरी बेलाबेलामा मतदान गर्न पाउँदा भाग्यमानी ठान्दछु ।”

माङसेबुङ गाउँपालिका-३ सुवाचेनकी ८१ वर्षीय वृद्ध नारायणश्वरी राईको भनाइ पनि उस्तै थियो । “उम्मेद्वारमध्ये राम्रो र योग्य मान्छेलाई जिताउन मतदान गर्न आएकी छु,” उनले भनिन्, “राम्रो र योग्य उम्मेद्वार जिताउन मेरो एक मत अमूल्य रहन्छ ।”

उल्लेखित पात्रहरु प्रतिनिधि उदाहरण मात्र हुन् । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज जारी मतदानमा महिला मतदाताको उपस्थिति उत्साहजनक रहेको छ । बिरामी, अशक्त, वृद्धवृद्धाले अप्ठ्यारोसमेत बिर्सेर उपनिर्वाचनमा मतदान गर्न मतदान केन्द्रमा पुगेका छन् । महिला मतदाताको सक्रिय उपस्थिति देखिएको थियो । 

त्यस्तै माङसेबुङ गाउँपालिका-२ स्थित इभाङ माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि स्थानीय ८४ वर्षीया वृद्धा मैतमाया लिम्बूलाई निर्वाचनको रोनक निकै मन प-यो ।  “सबै एकैठाउँ भेला भएको देख्न पाएँ, यसरी बेलाबेला निर्वाचन आउँदा त खुब रमाइलो लाग्छ,” उनले भनिन् । 

यस निर्वाचन क्षेत्रमा कूल मतदाता एक लाख १५ हजार आठ सय ८९ रहेकोमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई तेस्रो लिङ्गी मतदाता छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै