• २०८१ श्रावण १२ शनिबार

मस्कको कम्पनीद्वारा मानव मस्तिष्कमा चिप जडान, कस्ता व्यक्तिमा हुदैछ परिक्षण ?

kharibot

काठमाडौँ । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कको स्टार्टअप न्यूरालिंकले शल्यक्रियामार्फत मानव मस्तिष्कमा एउटा चिप प्रत्यारोपण गरेको छ । यो यन्त्र एउटा सानो सिक्काको आकारको रहेको छ, जसले मानव मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्ने बताइएको छ । मस्तिष्कमा चिप प्रत्यारोपण गरेको यो पहिलो घटना हो ।

यदि मानव परीक्षण सफल भयो भने, अन्धा व्यक्तिहरूले चिप मार्फत हेर्न सक्षम हुने बताइएको छ । पक्षाघातका बिरामीले हिँडडुल गर्न र कम्प्युटर चलाउन सक्नेछन् । कम्पनीले चिपको नाम ‘लिङ्क’ राखेको छ । मस्कले आफ्नो सोशल मिडिया ह्यान्डलमा यो जानकारी दिएका हुन्

मस्कले आफ्नो एक्स-पोष्टमा लेखेका छन्, ‘पहिलो पटक हाम्रो कम्पनी न्यूरालिङ्कले मानिसमा उपकरण प्रत्यारोपण गरेको छ । बिरामी निको भैरहेको छ । प्रारम्भिक नतिजा आशाजनक छ ।'

सेप्टेम्बर २०२३ मा, मस्कको ब्रेन-चिप कम्पनी न्यूरालिंकले आफ्नो पहिलो मानव परीक्षणको लागि स्वतन्त्र संस्थागत समीक्षा बोर्डबाट भर्ना स्वीकृति प्राप्त गरेको थियो । अर्थात्, अनुमोदन पछि, न्यूरोलिंकले मानव परीक्षणका लागि मानिसहरूलाई भर्ती गर्नेछ र तिनीहरूमा यो उपकरण परीक्षण गर्नेछ ।

न्युरालिंकका अनुसार यो परिक्षण मेरुदण्डमा चोटपटक वा एमियोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस) का कारण क्वाड्रिप्लेजिया भएका व्यक्तिहरूमा भइरहेको छ । यस परीक्षणमा सहभागीहरूको उमेर न्यूनतम २२ वर्ष हुनुपर्छ । अध्ययन पूरा हुन करिब ६ वर्ष लाग्नेछ । यस अवधिमा सहभागीले प्रयोगशालामा जाने र फर्किने यात्रा खर्च प्राप्त गर्नेछन् ।

परीक्षणहरू मार्फत, कम्पनीले बिरामीहरूमा कसरी काम गरिरहेको छ भनेर हेर्न चाहन्छ । तर, ट्रायल कहिलेबाट सुरु हुन्छ वा कति जना सहभागी हुनेछन् भन्ने कुरा कम्पनीले बताएको छैन । यसअघि मे महिनामा कम्पनीले परीक्षणका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति प्राप्त गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै