• २०८१ बैशाख १८ मंगलबार

तीनतले झरना- काभ्रेको नयाँ पर्यटकीय गन्तव्य

kharibot

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिकामा तीनतले झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ । तर धेरै समय भएको छैन, आन्तरिक पर्यटकले तीनतले झरनाको सौन्दर्यतामा रम्न थालेको । 

बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीस्थित तीनतले झरनामा यतिखेर आन्तरिक पर्यटक दैनिक बढ्न थालेका छन् । उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकालका बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम तथा फाइमराङको बीचमा रहेको झरनामा गत वर्षभन्दा यस वर्ष पर्यटक निकै बढेको स्थानीय सञ्चारकर्मी नवराज सापकोटा बताउँछन् । 

उनी भन्छन्, “झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेराबार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेराबार निर्माण गरिएको छ, सुरक्षित मनोरञ्जनमा रमाउने पर्यटक दिनभर रमाउने र पुनः दोहोरिने गरेको पनि पाइयो ।”

महाभारत पर्वत शृङ्खलाको जङ्गलमुहान रहेको चिसो पानी बग्ने झरना तीन तला भई बगेका कारण नै तीनतले झरना नामकरण गरिएको हो । झरनाको दोस्रो तलासम्म पुगी दोस्रो तला तथा सबैभन्दा तलकोे तलाको झरनासँगै निर्माण गरिएको पोखरी अवलोकन गर्न सकिन्छ । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आर्कषण हो । प्राकृतिक झरनाको अवलोकन तथा सँगैको पोखरीमा डबुुल्कीको अनुभव लिनेहरु जो–कोही दोहोरिएर आउने गर्छन् नै ।

केही महिनादेखि झरना अवलोकन तथा केही दिन बिताउन चाहनेहरू काभ्रेपलाञ्चोककै बनेपा, धुलिखेल र पनौती सहरलगायत काठमाडौँ उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष मधुसुदन तिमल्सिनाले बताउँछन् । उनका अनुसार झरनामा जिल्लाका विभिन्न क्षेत्रका अलावा काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुरसँगै अन्य जिल्लाबाट समेत पर्यटक आउन थालेका छन् ।

पछिल्ला केही महिनादेखि झरना बालबालिकादेखि वयस्कसम्मको आकर्षणको केन्द्र नै बनेको पाइन्छ । झरनासम्म पुगेर खिचिएका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सबैखाले पर्यटक लालायित हुने गरेको देखिन्छ ।

हाल तीनतले झरना जानेका लागि झरना नपुग्दै स्थलबाट केही वर होटल–लजकोसमेत व्यवस्था छ । झरनाको अवलोकन, पौडीका बाहिरी जिल्लाबाट आउनेहरूले स्थानीय मौलिक खानाको चासो राख्ने गरेकोसमेत स्थानीयको भनाइ छ । 

स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । झरना अवलोकनको रमाइलोसँगै स्थानीय मौलिक खानाले झरनासम्म पुग्नेको यात्रा अविस्मरणीय बनाएको पर्यटकले आफूलाई सुनाएको स्थानीय व्यवसायी सुमन दाहाल बताउँछन् । 

झरनासम्म पुग्न क्षेत्रअनुसार फरक–फरक मार्गको उपयोग गर्न सकिन्छ । काभ्रेपलाञ्चोककै पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडकयात्रा गर्नुपर्ने हुन्छ । जुन सडकको पनौती–ढुर्खक करिब १३ किलोमिटर सडक ग्राभेल तथा पक्की छ भने त्यसपछि १२ किलोमिटर सडक उकाली–ओरालीमा गाडी तथा मोटरसाइकलमा यात्रा गर्न खासै कठिनाइ भने छैन ।

बेथानचोक गाउँपालिकाकै ढुुङ्खर्कदेखि तीनतले झरनासम्मको यात्रा थप रोचक बन्न सक्छ । किनभने हिमाली हावासँगै उत्तरतर्फ लहरमा मिलेर बसेका सेताम्मे हिमाल निकटबाट झैँ नियाल्दै गुवा भन्ज्याङबाट यात्रा सुरु गरेपछि रमणीय बस्ती र वनपाखाका घुमाउरो सडकले थप मन रोमाञ्चित बनाउने छ । विशेषगरी लालीगुराँस फुल्ने मौसममा उक्त क्षेत्रले नयाँ यात्रुहरूलाई मोहनी नै लगाउने गर्छ ।

त्यसैगरी झरना पुग्ने अर्को सडक ललितपुर जिल्लाबाट पनि छ । ललितपुरको दक्षिणी क्षेत्र गोट्टीखेलबाट चन्दनपुर, कालेश्वर हुँदै करिब १० किलोमिटर ओरालो यात्रापछि च्याम्राङ्गबेँसी पुगिन्छ । यो मार्ग पनि चन्दनपुरसम्मको पक्की सडक तथा त्यसपछिको कच्ची भएपछि बाटो खासै कठिन भने छैन । त्यसैगरी हिउँदको समयमा पनि बागमती प्रदेशको राजधानी हेटौँडासम्म पुग्ने बेथानचोक–फापरबारी सडक पनि यही झरना नजिकबाटै पर्छ ।

पहाडी जङ्गल क्षेत्रको मुहान भएकाले पनि यस झरनामा हिउँदको समयमा पानीको मात्रा केही घटे पनि झरना नसुक्ने भएकाले हिउँदको समयमा पनि झरनाको अवलोकन गर्न र पोखरीमा नुहाउँदै मनोरञ्जन गर्नेहरूका लागि यो स्थल अन्त्यन्तै आकर्षक बन्दै गएको छ । पहाडी मनोरम दृश्यको साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा, कञ्चन र सङ्लो पानीले भरिएको पोखरीमा पौडीको मज्जा लिनेहरूको भीड नै झरनाको पहिचान बन्दै गएको छ ।

झरनास्थलमा थप पूर्वाधारको विकासका लागि बेथानचोक गाउँपालिकाले पर्यटकको सुरक्षा र आकर्षणका लागि रु २० लाखको संरचना निर्माण गरेपछि केही सहजताको महसुस गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै