• २०८१ बैशाख १८ मंगलबार

जब ‘झरनाको चिसो पानी’ गुञ्जियो...

kharibot

बालेवा । झरनाको चिसो पानी...सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी...झरनाको चिसो पानी...

बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेल मैदानमा भरिभराउ दर्शकको अघि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको सुरुआत गरे । 

शर्माले सिर्जना गरेका हजारौँ गीतमध्ये सहारा खेल मैदानमा यो गीत प्रस्तुत गर्नुको आफ्नै कारण छन् । बागलुङको जैमिनी र बागलुङ नगरपालिकाको सङ्गममा पर्ने नियालमारे खोलाको छेउमा तारेभिरको सानो चौतारीमा बसेर शर्माले अहिलेभन्दा ३० वर्षअघि यो गीत सिर्जना गरेका हुन् । बुधबार शर्माले यही गीत गाउँदै गरेको खेल मैदान र उनले यो गीत सिर्जना गरेको ठाउँ पैदलयात्रा गर्दा आधा घण्टाको दूरीमा पर्छ ।

“घर छाउने ढुङ्गा बोकेर हिँडेको जोडी, श्रीमान् नियालमारे खोलापारी पुगेका थिए । श्रीमती चौरीमा बिसाइ मारेर भारी बोक्दै थिइन् । असिनपसिन, ठूलो भारी बोकेका खेताला भिरको बाटो निरन्तर हिँडिरहेको देखेपछि मैले गीत बनाएँ”, शर्माले भने ।  

विसं २०५० तिर बागलुङको दक्षिण क्षेत्रमा अर्मपर्म र खेताला हालेर घर छाउने र ढुङ्गा बोक्ने प्रचलन थियो । कैयौँ मजदुरहरु यही घर छाउने पाटे ढुङ्गा बोकेर गुजारा चलाउँथे । त्यही देखेका उनले खेतालाको जिन्दगानीको गीत बनाएको सुनाए । 

महोत्सवमा शर्माले झण्डै एक घण्टा आफ्ना गीत गाए । मैदानमा उपस्थित अधिकांश दर्शक उहाँका गीतमा झुमे । शर्मालाई उनकी जीवन सङ्गिनी निलिमा पुनले साथ दिइन् । जीवन र जगत्का जल्दाबल्दा विषयवस्तु गीतमार्फत प्रस्तुत गर्ने शर्माले ३० वर्षदेखि हरेक वर्ष जैमिनीमा हुने माघे सङ्क्रान्ति मेलामा प्रस्तुति दिन्छन । 

स्थानीय हेमलाल शर्माले भने, “उहाँका गीत कहिलै पुराना भएनन् । सधैँ सुनौँ, सुनौ लाग्छन् ।” उहाँका गीतले जहिले जनताको दुःख बोल्यो । जसको परिणाम अहिले उनी जनवादी गायकको परिचयले बाँचेका छन् । साङ्गीतिक यात्राको पहिलो खुड्किलो उनको बाँसुरी हो । वनजङ्गलमा घाँस, दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उनले बाँसुरीको धुन राम्रोसँग निकाल्थे । 

शर्माको पहिलो गीतिएल्बम जनसाङ्गीतिक यात्रा रक्तिम भाग–१ हो । त्यसयता दुई हजार बढी गीत उनले जनताकै पक्षमा गाएका छन् । मेला महोत्सव हुन वा अन्य कुनै साङ्गीतिक कार्यक्रम शर्माका गीतले तताउँछन् । शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाएका छन् । ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ देखि ‘झरनाको चिसो पानी’सम्मका गीत उनले गाएका छन् । ती गीत सबैले रुचाएका लोकप्रिय गीत हुन् ।

“मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्याङ्कन गरुँ”, शर्माले भने, “समयसँग सम्झौता होइन, सङ्घर्ष गर । सङ्घर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकालाई रोकेका उदाहरण छन् ।”

सिमली छायाँ उनको गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ । शर्मा अहिले पनि सङ्गीत साधनामै छन् । परिवर्तनका लागि सङ्गीत उपयुक्त माध्यम भएको भन्दै लागेका शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देखेका छन् । जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र साङ्गीतिक बजारमा जीवन शर्माका नामले परिचय बनाएका व्यक्ति हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै