• २०८१ बैशाख २५ मंगलबार

विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया

kharibot

काठमाडौँ । ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ ।

आगामी छ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ ।

कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित सो आयोजनाको कूल क्षमता एक सय छ मेगावाट छ । स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित सो आयोजनाको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले केही दिन पहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई समग्र आयोजनाको अवस्थाबारेमा जानकारी गराउँदै छ महिनाभित्र निर्माणमा लैजाने तयारी गरिएको जानकारी गराएका थिए । उनले हाल आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम भइरहेको र अन्य प्राविधिक तयारी समेत अन्तिम चरणमा रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेशमा निर्माण हुन लागेको सो आयोजनाले समग्र प्रदेशलाई उज्यालो बनाउने लक्ष्य राखिएको छ । आयोजनास्थल पुग्नका लागि पहुँचमार्ग निर्माण तथा अन्य पूर्वतयारीको काम अन्तिम चरणमा छ ।

आयोजनाबाट वार्षिक रुपमा छ सय २३ दशमलव ४७ गिगावाट घण्टा बराबरको विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।आयोजना अर्धजलाशय प्रकृतिको हो । यसको डिजाइन बहाव १६ दशमलव सात घनमिटर प्रतिसेकेण्ड छ ।

यस्तै कूल ग्रस हेड सात सय ८९ दशमलब ६० रहेको छ । आयोजनाको मुख्य संरचना नगदुल्ला नदीको बाँया किनारामा छ । पानी फर्काउनका लागि निर्माण हुने बाँधको लम्बाइ ९३ मिटर बराबर निर्माण गरिनेछ । ‘क्रङ्क्रिट ग्राभिटी टाइप’ को बाँध निर्माण हुने र समुद्री सतहबाट दुई हजार छ सय ९६ मिटरमा रहनेछ । 

आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको  ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने बाफिकोट सवस्टेशनमा जोडिनेछ ।

सो आयोजनामा सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड( एचआइडिसिएलल)ले रु चार अर्ब बराबरको लगानी गर्ने भएको छ ।

गत भदौ ९ गते एचआइडिसिएल र प्रवद्र्धक कम्पनीकाबीच ऋण स्वीकृत पत्र आदानप्रदान भएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका थिए । सो आयोजना निर्माणका लागि करिब रु २३ अर्ब लाग्ने अनुमान छ । सबै खालका अध्ययन सकिएको यो आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नविल बैंकलगायतले लगानी गर्ने तयारी गरिएको छ ।

आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार पाँच कित्ता शेयरको रु ११ करोड ७१ लाख ५० हजार उपलब्ध गराइसकेको छ ।

त्यस्तै दोस्रो चरणमा छ करोड चालु आवमा नै भुक्तानी गरिसकेको छ । आयोजनाको कूल लगानीको ५ प्रतिशत शेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ ।

विद्युत् खरिदबिक्री सम्झौतामा तोकिएको तालिकाअनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत् उत्पादन गर्ने सुुरु हुनेछ ।

आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशतले हुन आउने १६ अर्ब ९२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ ।

ऋण बाहेकको ३० प्रतिशत रु सात सात अर्ब २५ करोड स्वपुँजी लगानी जुटाउने तयारी गरिएको छ । सोही कम्पनीले नै ८२ दशमलब तीन मेगावाट क्षमताको को जगदुल्ला ‘ए’ आयोजना पनि निर्माण गर्ने तयारी गरेको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनीमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

यस्तै, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत शेयर स्वामित्व छ । बाँकी रहने ४९ प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

हाल पहुँचमार्ग निर्माणको काम जारी छ । आयोजनाको विस्तृत इञ्जिनीयररिङ अध्ययन सम्पन्न भइसकेको छ । आयोजनाका लागि दुई सय दुई सय ६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै