• २०८१ बैशाख १५ शनिबार

क्रिकेट समर्थकको साथ खेलाडीको जित उपहार !

kharibot

काठमाडौँ । नेपाली क्रिकेटको इतिहासमा आइतबार विशेष रह्यो । किर्तिपुरस्थित टियु क्रिकेट मैदान एउटा ऐतिहासिक खेलको साक्षी बन्यो ।

नेपालले युएईलाई फराकिलो अन्तरले पराजित गर्दै एकदिवसीय मान्यता आगामी चार बर्षका लागि सुरक्षित बनायो । नेपाल अहिले क्रिकेट इतिहासमै सर्बाधिक उत्कृष्ट समयमा छ भन्दा अन्यथा हुदैन । नेपालले आइसीसी विश्वकप लिग-२ मा खेलेका पछिल्ला १० मध्ये ९ खेलमा जित हासिल गरेको छ । यो आफैमा ठुलो सफलता हो । जसको कारण एक समय एकदिवसीय मान्यता के हुन्छ भनेर प्रश्न उठिरहेको अवस्थालाई परिवर्तन गर्दै आज एकदिवसीय मान्यता कायम राखेको छ ।

कप्तान रोहित पौडेलले हरेक खेलमा फरक खेलाडीले जिम्मेवारी लिएर प्रदर्शन गरेका कारण यो सम्भव भएको बताउछन् । अहिलेको टिमको सफलताको लागि कप्तान रोहितले आफुले जस लिन चाहन्नन । उनी भन्छन्- 'मैले गर्दा भएको हो म भन्दिन, किनभने हरेक खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको छ । हरेको खेलमा नयाँ खेलाडीले प्रदर्शन गरेकोले नै यो सम्भव भएको हो । हरेक खेलमा फरक खेलाडीले राम्रो खेलेका कारणले पनि एक खेलाडीमाथि दबाब छैन र राम्रो नतिजा आइरहेको छ ।'

कन्सिस्टेन्ट नदेखिएका ब्याट्सम्यानले जिम्मेवारी लिएको देखिएको छ, बलरहरुले अनुशासित बलिङ गरेको देखिएको छ र अझ भन्दा नेपाली क्रिकेट टिम अहिलेसम्मकै एक टिम भएर खेलेको देखिएको छ । यसको पछाडी प्रशिक्षक मोन्टी देसाईको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । उनले मैदान बाहिर र मैदान भित्र खेलाडीलाई एक बनाएर उच्च मनोबलका साथ खेल्ने वातावारण बनाएका छन् । जसको नतिजा हो अहिलेको नेपाली क्रिकेट ।

खेलाडी र प्रशिक्षक बाहेक नेपाली क्रिकेटमा अर्को पक्ष छ यसका समर्थक । आइतबारको खेलमा पनि क्रिकेट मैदानमा पुगेका हजारौं समर्थकले नेपाली क्रिकेटमा यसका समर्थकलाई बाहिर राखेर हेर्नै नमिल्ने प्रमाणित गरिदिएका छन् । हजारौंको संख्यामा उपस्थित रहेका दर्शकले युएईका खेलाडीलाई नर्भस मात्र बनाएनन नेपाली खेलाडीको उत्साहलाई दोब्बर बनाएका थिए । दर्शकको अपार समर्थनलाई खेलाडीले पनि सुन्दर जितको उपहार दिएर नेपाली क्रिकेटलाई नयाँ मोडमा लागि दिएका छन् ।

अब आइसीसी विश्वकप लिगमा खेल्न बाँकी रहेका दुई खेल जितेमा नेपाल विश्वकप क्वालिफायर खेल्न पाउने छ । प्रशिक्षक देसाईले सोमबारको खेलमा मात्र आफ्नो ध्यान रहेको बताएका छन् । नेपाल शिर्ष तीनमा पर्न नसकेमा पनि प्लेअफ खेल्दै विश्वकप क्वालिफायरमा पुग्ने अवसर भने बाँकी नै रहन्छ ।


      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै