• २०८१ बैशाख ८ शनिबार

लेखक डा. तारालाल श्रेष्ठको “बन्दीपुरदेखि बन्दीपुरसम्म” माथि अन्तरक्रिया सम्पन्न

kharibot

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा “बन्दीपुरदेखि बन्दीपुरसम्म” पुस्तकका लेखक डा. तारालाल श्रेष्ठसँग पुस्तक वार्ता सम्पन्न भएको छ ।

विभागका प्रमुख प्रा.डा. अम्माराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम क्रियटिभ लिट्रेररी फोरमले आयोजना गरेको हो । पुस्तक वार्तामा प्रा. डा. अनिरुद्र थापा, डा.रेवती न्यौपाने, कैलाश राई, शंकर सुवेदी, केशव सिग्देल, महेश पौड्याल, राजकुमार बराल, खेमराज खनाल, जीवनाथ लम्साल लगायतको उपस्थिति रहेको थियो ।

डिस्कोर्स पब्लिकेशनले हालसालै प्रकाशित गरेको पुस्तक नपाली हाइड्रोपावर क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने बलराम प्रधानको जीवनी हो । केन्द्रीय अंग्रेजी विभागमा प्राध्यापन समेत गराउंदै आएका श्रेष्ठको यसअघि “सपनाको समाधि”, “शक्ति स्रस्टा सबाल्टर्न” लगायतका चार पुस्तक प्रकाशित छन् ।

पुस्तकप्रति आफ्नो धारणा राख्दै जोशीले भने, ‘पुस्तकमा चितवन, बन्दीपुर, बुटवल लगायतका स्थानको ऐतिहासिक विकासक्रमको चर्चा भएको छ । लेखकले त्यी स्थानलाई ट्रान्सेन्ड गर्न सफल भएका छन् साथसाथै मानवीय समवेदनाको पक्षलाई पनि उतार्न सफल भएका छन्’ । उनले लेखकलाई आगामी दिनमा पनि अझ शक्तिशाली पुस्तकहरु ल्याउन प्रोत्साहन दिए ।

यसैगरी कार्यक्रममा बोल्दै मार्टिन चौतारीको बोर्ड मेम्बर समेत रहेकी स्वतन्त्र अनुसन्धानकर्ता कैलाश राईले पुस्तकको सामाजिक तथा अन्य पाटाहरुको चर्चा गरिन् । उनले भनिन्, “पुस्तकमा बन्दीपुरको मानव वस्तीको सुरुवात कस्तो भयो देखि लिएर त्यहाँ हुने जात्राहरुको पनि सजीव चित्रण गरिएको छ । बन्दीपुर शैक्षिक र राजनैतिक हिसाबले केन्द्र रहेको थाहा हुन्छ ।‘ तर केहि ठाउँमा भने विवरण लामो हुनपुगेको उनले टिपोट गरिन् ।

पिछडिएका वर्गको आवाज उठाउदै आएका लेखकले किन यो पुस्तकमा बलराम प्रधानजस्तो पुँजीपति वर्गको व्यक्तिलाई जीवनी लेख्नको लागि छाने भन्ने प्रश्नमा उनले भने, “हाइड्रोपावरजस्तो महत्वपूर्ण क्षेत्रमा त्यति धेरै योगदान पुर्याउने व्यक्तिको नाम कसैले सुनेको रहेनछ । उनको कतै चर्चा भेटिन मैले । साहित्यकारहरुले सुनेका छैनन् ,पत्रकारहरुले सुनेका छैनन्, कुनैपनि बौद्धिक समुदायले नामनै सुनेको पाइन । यस्तो मान्छे पनि नेपालमा रहेछ । उर्जा विकासमा सुरुवातदेखि नै त्यत्रो योगदान पुर्याउन सक्ने मान्छे पनि गुमनाम हुनसक्छ भने नेपालको इतिहास कति कठोर रहेछ भन्ने लाग्यो । यसर्थमा बलराम प्रधान सबाल्टन हो जोसँग सम्पत्ति बाहेक अरु केहि छैन ।‘

कार्यक्रमलाई सृजना लामिछाने तथा समीर दवाडीले संचालन गरेका थिए । पुस्तक वार्तामा उल्लेख्य संख्यामा दर्शकहरुको सहभागीता रहेको थियो । विश्वविद्यालयमा साहित्य लेखन तथा पठनको सस्कारलाई प्रवर्द्धन गर्ने हेतु क्रियटिभ लिट्रेररी फोरमले नियमित रुपमा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै