• २०८१ बैशाख १७ सोमबार

भारतको राष्ट्रपतिमा विपक्षी दलबाट यशवन्त सिन्हा बने उम्मेदवार

kharibot

काठमाडौँ । पूर्वमन्त्री यशवन्त सिन्हा भारतको राष्ट्रपति पदको उम्मेदवार बन्ने भएका छन् । तृणमूल काँग्रेसका उपाध्यक्ष यशवन्त सिन्हालाई विपक्षी दलहरुले राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा गरेका हुन् ।

यशवंत सिन्हा अटल बिहारी बाजपेयीको सरकारमा अर्थ र विदेशमन्त्री भइसकेका छन् ।

मंगलबार दिल्लीमा विपक्षी दलहरूको बैठकमा यो निर्णय गरिएको हो । एनसिपी अध्यक्ष शरद पवारको घरमा भएको बैठकमा १७ विपक्षी दलको सहभागिता रहेको र यशवन्त सिन्हाको नाममा सहमति गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बैठकअघि नै यशवन्त सिन्हाले ट्विट गर्दै उम्मेदवारी दिने संकेत दिएका थिए । उनले मंगलबार बिहान ट्विट गर्दै लेखेका छन्, ‘म ममता जीप्रति कृतज्ञ छु उनले मलाई टीएमसीमा दिएको सम्मान र प्रतिष्ठाका लागि । अब ठूलो राष्ट्रिय उद्देश्यका लागि पार्टी बाहिर बृहत्तर विपक्षी एकताका लागि काम गर्नुपर्ने समय आएको छ । म पक्का छु कि उसले यो कदम स्वीकार्छ ।'

जुन १५ मा दिल्लीमा विपक्षी दलहरूको बैठकमा राष्ट्रपति पदका लागि शरद पवारको नाममा सहमति भएको थियो तर उनले चुनाव लड्न अस्वीकार गरेका थिए । उनीपछि पूर्व गभर्नर गोपालकृष्ण गान्धी र नेशनल कन्फ्रेन्सका अध्यक्ष फारुक अब्दुल्लाको नाम पनि आएको थियो तर उनले पनि उम्मेदवार बन्न अस्वीकार गरेपछि सिन्हाको नाममा सहमति भएको छ । विपक्षी दलमा प्रमुख भूमिका मानिएका आम आदमी पार्टी लगायत भने सहभागी रहेका छैनन् ।

भारतीय सत्तारुढ दल बिजेपीले भने अहिलेसम्म आफ्नो उम्मेदवार टुंगाएको छैन । भारतमा आगामी जुलाई १८ मा राष्ट्रपति पदको निर्वाचन हुदै छ । चुनावका लागि यहि जुन २९ मा मनोनयन दर्ता हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै