• २०८१ बैशाख १७ सोमबार

काश्मिरमा गाडी दुर्घटनामा परी ९ जनाको मृत्यु, ४ जना घाइते

kharibot

श्रीनगर । काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।

भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च जिल्लाको बाफियाज क्षेत्रमा गाडी अनियन्त्रित भइ बिहीबार साँझ गहिरो खोल्सामा खसेको र उक्त घटनामा वैवाहिक कार्यक्रम गएका व्यक्तिहरूको निधन भएको हो । 

“गत साँझ विवाह भोजमा सहभागी मानिसहरूलाई गाडीको सीट क्षमताभन्दा बढी लिएर गुडिरहेको समय उक्त सवारी साधन पहाडी बाटोबाट करिब ३०० फिट गहिरो खोल्सामा खसेको थियो । 

एक प्रहरी अधिकृतका अनुसार छ जना घटनास्थलमा र अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

“दुर्घटनामा चालकसहित अन्य चार जना गम्भीर घाइते भएका र उनीहरूको अस्पतालमा भर्ना गरी उपचार भइराखेको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घुमाउरो बाटो काट्दै गर्दा चालकले गाडीमाथि नियन्त्रण गुमाएको बताइएको छ ।

नौ जना यात्रुको क्षमता भएको उक्त गाडीमा १३ जनाले यात्रा गरिरहेको बुझिएको प्रहरी स्रोतले बताएको छ । 

दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरीले घटनास्थलबाट मृत शरीर तान्न र घाइतेको उद्धारको प्रयास शुरु गरेको प्रहरीले बताएको छ ।  

भारतमा अक्सर क्षमताभन्दा बढी भार लिएर सवारी साधन सडकमा गुड्नु, सडकको खराब अवस्था र चालकको लापरवाहीका कारण दुर्घटना हुनेगर्छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै