• २०८१ बैशाख १७ सोमबार

'झूटो समाचार' लेख्ने चर्चित अमेरिकी मिडियालाई डोनाल्ड ट्रम्पले दिए फेकन्युज अवार्ड ! 

kharibot

उत्तर अमेरिका । आफूबारे झूटा समाचार लेखेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै मिडियाविरुद्ध आगो ओकल्दै आएका छन् ।

ट्रम्प र मूलधारका अमेरिकी मिडिया हाउसबीच एक किसिमको ‘वार’ नै चलेको थियो । सोही कारण ट्रम्पले अमेरिकी मिडियाहरु न्युयोर्क टाइम्स, वासिंग्टन पोष्ट, सीएनएनजस्ता चिरपरिचित मिडियाको खेदो खन्दै आएका छन् । 

सोही क्रममा ट्रम्पले आफूविरुद्ध खनिने मिडिया र रिपोर्टरलाई केही समयदेखि फेकन्युज अवार्ड दिने बताउँदै आएका थिए । सो क्रममा बिहीबार ट्रम्पले जीओपी डटकममार्फत फेकन्युज अवार्ड विजेता सूची सार्वजनिक गराएका छन् । जसअनुसार पहिलो नम्बरमा न्युयोर्क टाइम्सका पल क्रुग्म्यान परेका छन्, उनले ट्रम्प निर्वाचित भएपछि अमेरिकी अर्थतन्त्र डुब्ने समाचार लेखेका थिए । त्यसको ठीक उल्टो अमेरिकी अर्थतन्त्रमा नाटकीय सुधार आइरहेको छ । 

त्यस्तै दोस्रो नम्बरमा एबीसी न्युज परेको छ । एबीसीका रिपोर्टर ब्रायन रोसको गलत समाचारकै कारण उक्त दिन अमेरिकी स्टक मार्केट दुर्घटनामा परेको थियो । त्यस्तै क्रमशः तेस्रो, छैटौँ, सातौँ र नवौँ स्थानमा सीएनएन परेको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पको फेक न्युज अवार्ड सूचीमा उक्त मिडियामात्रै नभएर टाइम, द वासिंग्टन पोष्ट र न्युजविक पनि परेका छन् । उनीहरु ट्रम्पको राष्ट्रपतीय शपथग्रहणमा उपस्थित मानिसको संख्यालाई लिएर लेखिएका समाचार र पोल्याण्ड भ्रमणका क्रममा ट्रम्पसँग पोलिस फष्र्ट लेडीले हात नमिलाएको झूटो समाचारलाई लिएर अवार्डको सूचीमा परेका हुन् । 

रिपब्लिकन नेशनल कमिटीको वेबसाइटमा फेकन्युज अवार्ड विजेता भनी ठूला अमेरिकी मिडियाको गल्तीहरु खुलाइएको हो । यसअघि ट्रम्पले गन जनवरी २ मा फेकन्युज अवार्ड व्यक्तिगत रुपमा आफैँले चुन्ने बताएका थिए ।

कुनै रातो कार्पेट र टेलिभिजनमा प्रसारणविनै ट्रम्पीज (अवार्ड) ले राष्ट्रव्यापी रुपमा ध्यानाकर्षण गराउन सफल भएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय