हरारे । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले अन्तत: राजीनामा दिएका छन् । पछिल्लो ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन् ।
मुगावेको राजीनामासँगै राजधानी हरारे लगायतका देशका विभिन्न ठाउमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ ।
मुगावेले दिएको राजीनामाको पत्र संसदमा सभामुखले पढेर सुनाएका थिए । मुगावेले आफूले स्वतन्त्र रुपमा तथा राजी खुशीले राजीनामा दिएको पत्रमा उल्लेख गरेका थिए । यस्तै सत्ताको सहज हस्तान्तरणका लागि पनि आफू तयार रहेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
सन् १९८० देखि लगातार सत्तामा रहँदै आएका मुगावेको ठाउँमा अब पूर्वउपराष्ट्रपति एम्मर्सन मन्नगागावाले सत्ता सम्हाल्ने सत्तारुढ जानु–पिएफ पार्टीले जनाएको छ ।
यो महिनाको सुरुमा मुगावेले मन्नगागावालाई बर्खास्त गरेपछि जिम्बाबेमा राजनीतिक संकट गहिरिएको थियो । यस्तै गएको हप्ता सेनाले मुगाबेलाई घरमै नजरबन्दमा राखेर नदेखिने गरी सत्ता आफ्नो हातमा लिएको थियो । त्यसपछि मुगाबेमाथि राजीनामा दिन दबाब पर्दै आएको थियो ।
उनलाई जानु–पिएफ पार्टीले नेताबाट पनि बर्खास्त गरेको थियो । तर मुगाबेले भने राजीनामा नदिने बताउँदै आएका थिए । महाभियोग लागाउने तयारी सुरु भएपछि उनले राजीनामा पत्र संसदमा पठाएका थिए ।