• २०८१ जेठ २ बुधबार

रोहिंग्या चरमपन्थीले गत अगष्टमा हिन्दूहरुको नरसंहार गरेको एम्नेष्टी इन्टरनेशनलको खुलासा

kharibot

यो तस्बिर गत अगष्ट २७ को हो, जतिखेर मौंगदा अस्पतालमा हिन्दू परिवार आफ्ना परिवारका सदस्य खोजिरहेका थिए ।

काठमाडौं । म्यान्मारको रोहिंग्या चरमपन्थीले गत वर्षको अगष्टमा दर्जनौँ हिन्दूहरुको हत्या गरेको खुलासा भएको छ । मानवअधिकार संगठन एम्नेष्टी इन्टरनेशनले गरेको जाँचका क्रममा यस्तो खुलासा भएको हो । 

एम्नेष्टीका अनुसार आरसा नाम संगठनले गरेको दुई नरसंहारमा ९९ हिन्दूहरुको हत्या गरेको भेटिएको हो । यद्यपि उक्त संगठनले भने यसको जिम्मा लिन अस्वीकार गरेको छ । यो नरसंहार उक्त संगठनले त्यहाँको सेनाविरुद्ध सुरु गरेको विद्रोहसँगै भएको थियो । उता सेनाविरुद्ध पनि अत्याचार गरेको आरोप लागेको छ । 

म्यान्मारमा पछिल्लो वर्ष अगष्टपछि सात लाख रोहिंग्या र अन्य मानिसहरु हिंसाको कारण पलायन हुनुपरेको थियो । संघर्षकै कारण म्यान्मारका बहुसंख्यक बौद्ध र अल्पसंख्यक हिन्दू आवादी विस्थापित भएका थिए । 

एम्नेष्टीले बंगलादेश र रखाइनमा थुप्रै अन्तर्वार्ता गरेको थियो । सोहीअनुसार अराकान रोहिंग्या साल्भेसन आर्मी (आरसा)ले हिन्दूहरुमाथि गरेको अत्याचार पर्दाफास भएको हो । यो नरसंहार उत्तरी मौगदा कस्बेनजिकै गाउँमा भएको थियो । जाँचअनुसार अन्य स्थानका हिंसामा पनि आरसाको हात रहेको खुलेको छ । आरसाका सदस्यहरुले धेरै हिन्दू महिला, पुरुष र बच्चाहरुलाई पक्राउ गरी गाउँबाहिर लगेर मार्नुअघि हायलकायल पारेका थिए । 

यो घटनामा बचेर भागेका हिन्दूहरुले एम्नेष्टीसँग आफ्ना नातेदारको हत्या गर्दा आफू प्रत्यक्षदर्शी भएको बताएका थिए । 

९९ हिन्दूहरुको नरसंहार 
गाउँका एक महिलाका अनुसार उनीहरुले पुरुषलाई मार्दा आफूहरुलाई दृश्य नहेर्न भनेका थिए । घरेलु हातहतियारद्वारा नरसंहार गरिएको थियो । कतिले आफ्नै परिवारका सदस्यको नृशंस हत्या हेर्नुपरेको बताएका छन् । आरसामाथि २० पुरुष, १० महिला र २३ जना बच्चा मारेको आरोप छ । जसमा १४ जनाको उमेर ८ वर्षभन्दा पनि कम रहेको थियो । 

एम्नेष्टीका अनुसार पछिल्लो सेप्टेम्बर महिनामा सामूहिक रुपमा ४५ जनाको शव निकालेका थिए । अन्यको शव अझै नमिलेको बताइएको छ । जसमा ४६ जना छिमेकी गाउँ ये बौक क्यारका रहेको बताइएको छ । अह नौक खा मौंग सेकमा आक्रमण गरेकै दिन ये बौक क्यारमा नरसंहार गरिएको थियो । मारिने संख्या कुल ९९ रहेको छ । 

सेप्टेम्बरमा म्यान्मारबाट रोहिंग्या मुस्लिमहरु भागेर बंगलादेश आएका थिए । उनीहरुले म्यान्मारका सुरक्षा बलले अत्याचार गरेको बताएका थिए तर सोही समयमा रोहिंग्या चरमपन्थीले मारेको अवस्थामा सामूहिक शवहरु बरामद भएको बताएको थियो । म्यान्मार सरकारले मारिनेमा हिन्दू रहेको बताएको थियो । 

त्यतिबेला सरकारले पत्रकारलाई समेत सामूहिक शव देखाउनलागे पनि स्वतन्त्र मानवअधिकार शोधकर्तालाई भने अनुमति दिएको थिएन । सोही कारण यो नरसंहारलाई एकीनसाथ भन्न नसकिएको बताइएको छ । त्यसपछि त्यहाँको सेनामाथि रोहिंग्यामाथि अत्याचार गरेको आरोप व्यापक भएपछि हिन्दूहरुको नरसंहारबारे खासै बाहिर आउन नसकेको बताइएको छ । 

रोहिंग्यामाथि दमन गरेको भन्दै त्यहाँको सेनाको आलोचना भएको थियो । उता म्यान्मारले भने एकतर्फी रिपोर्टिंग गरेको आरोप लगाउँदै आएको छ । पछिल्ला वर्षको नरसंहारबारे बीबीसीलगायतका मिडियाले भने समाचार पनि लेखेका थिए । 

खासगरी रोहिंग्या आवादीमा सेनाले अभियान चलाएपछि आरसाले आक्रमण गरेको थियो । रोहिंग्या म्यान्मारको अल्पसंख्यक मुस्लिम समुदाय हो । म्यान्मारमा रोहिंग्यालाई बंगलादेशका अवैध प्रवासी मान्ने गरिन्छ । तर यो समुदायका थुप्रै पुस्ता म्यान्मारमै बस्दै आएका छन् भने बंगलादेशले पनि उनीहरुलाई नागरिक मानेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै