• २०८१ बैशाख १७ सोमबार

'फेसबुक प्राइभेसी'मा ठूलो परिवर्तन, आफ्ना सूचना राख्नेदेखि हटाउनेसम्ममा प्रयोगकर्तालाई पूर्णअधिकार

kharibot

काठमाडौं । एकपछि अर्को स्क्यान्डलमा तानिएपछि फेसबुकले प्रयोगकर्ताको गोप्यतासँग सम्बन्धित तथ्यांक, पोष्ट या अन्य महत्वपूर्ण कुरा हटाउन चाहेमा अनुमति दिने भएको छ । केही दिनअघि मात्रै फेसबुकले पाँच करोडभन्दा बढी ग्राहकको फेसबुक प्रोफाइल बेलायतको डाटा विश्लेषण फर्म क्याम्ब्रिज एनालिटिकालाई राजनीतिक उद्देश्यका लागि दिएको खुलेपछि चर्को आलोचना भएको थियो । 

सोही विवादका कारण फेसबुकका सीईओ मार्क जुकरबर्गले सार्वजनिक माफी नै मागेका थिए । द गार्जियन, न्युयोर्क टाइम्सजस्ता मिडियाहरुले यसबारे समाचार छापेपछि फेसबुकमााथि कडा अनुसन्धान गर्नुपर्ने बेलायती र अमेरिकी संसद्मा आवाज उठ्न थालेको छ । साथै प्रयोगकर्ताको गोप्यतालाई फेसबुकले नजरअन्दाज गरेको भन्दै त्यसको चर्को आलोचना बढ्दै गएको छ । 

फेसबुकले बुधबारमात्रै नयाँ फिचर ल्याउने बताएको हो । यसले प्रयोगकर्तालाई गोप्यताबारे अझै कडा हुन अनुमति दिनेछ । 

प्राइभेसी सेटिंग चुस्त
फेसबुकले प्रयोगकर्ताको गोप्यतालाई लिएर नयाँ कदम चालेको छ । प्राइभेसी सेटिंगलाई सजिलै प्रयोग गर्न मिल्ने र प्राइभेसी कन्ट्रोलका सबै कुरा एकै ठाउँमा राख्ने गरी नयाँ फिचर उपलब्ध गराउनेछ । यसमा अरुले देख्नेबाहेक व्यक्तिगत सूचनाहरुसमेत पर्नेछन् । 

खासगरी अब प्रयोगकर्ताले आफ्नो फेसबुक प्रोफाइल वा टाइमलाइनबाट प्रयोगकर्ताले आफूले चाहेको कुनै पनि पोष्ट, वा अन्य कुरा डिलेट गर्न पाउनेछन् भने त्यो फेसबुकले जम्मा गरेको तथ्यांक संकलनबाट समेत हट्नेछ । 

यसअघि फेसबुकमा प्राइभेसी सेटिंगहरु भेट्टाउनै मुस्किल परेको भनी चर्को आलोचना हुने गरेकोमा अब यो समस्या कम्पनीले हटाउने भएको छ । 

यी कुराहरुमा सजिलो 

एकै ठाउँमा प्राइभेसी सेटिंग : यसले सेटिंगलाई सहज बनाउनेछ । 
प्राइभेसी सर्टकट मेनु : यसले टु फ्याक्टोर अथेन्टिकेसन (दुईतर्फी आधिकारिकता)लाई सँगै ल्याउनेछ, नियन्त्रण थप्नेछ भने आफूले सेयर गरेको पोष्टलाई पुनः रिभ्यु (हेर्न र परिमार्जित गर्न) पनि सहज बनाउनेछ । 
इन्फरमेसन टुलमा सहजता : यसले आफ्नो प्रोफाइल वा टाइमलाइनका पोष्ट, रियाक्सन (प्रतिक्रिया), कमेन्ट र सर्च हिष्ट्री (खोजी गरेका कुराहरु)लाई व्यवस्थापन गर्न तथा डिलेट नै समेत गर्न सकिनेछ । 
सबै फेसबुक डाटा डाउनलोड सुरक्षित : फोटो, फोन नम्बर र पोष्टहरुको डाउनलोडलाई सुरक्षित गर्नेछ । 

यो फेसबुकमा अहिलेसम्मकै ठूलो परिवर्तन हुनलागेको हो । फेसबुकले वर्षौँदेखि हाम्रा पोष्टहरु, सेयर गरेका तथ्यहरु सबै भण्डारण गरी राखेको छ । ५, ७ वर्षअघिका पोष्टहरु समेत पुनः प्राइभेट रुपमा फेसबुकले प्रयोगकर्तालाई तत्तत् मितिमा सम्झाउने गरेको छ ।

अब भने फेसबुकमा रहेका आफ्नै सम्पूर्ण सूचना विवरण प्रयोगकर्ताले समेत डाउनलोड गर्न पाउनेछन् । त्यस्तै पहिले पहिले सेयर, पोष्ट गरिएका कुनै पनि कुरा अब भने डिलेट गर्न पाइनेछ । यसअघि यस्तो सुविधा प्रयोगकर्तालाई दिइएको थिएन । 

पछिल्लो समय यिनै विवादका कारण फेसबुकको सेयरमा ठूलो गिरावट आएको छ भने एकपछि अर्को विवादमा मुछिनथालेको छ । डिलेटफेसबुक जस्ता ह्यासट्याग अर्को सामाजिक सञ्जाल ट्विटरमा समेत देखिनथालेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय