• २०८१ बैशाख १२ बुधबार

अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका धनि व्यक्ति

kharibot

काठमाडौँ । गौतम अडानी भारतको सबै भन्दा धनि व्यक्ति बनेका छन् । अडानी मुकेश अम्बानीलाई पछि पार्दै भारतको सबैभन्दा धनि व्यक्ति बनेका हुन् ।

पछिल्ला दुई दिनदेखि भारतीय सेयर बजारमा भएको उथलपुथलको फाइदा अडानीलाई भएको छ । रिलायन्सको सेयरमा भारी गिरावट आएका कारण अम्बानीको कमाईमा ठूलो गिरावट आएको हो । २५ जनवरी २०२२ मा गौतम अडानीले उनलाई कमाईको मामिलामा पछि पारेका हुन् । फोर्ब्सको वास्तविक-समय नेट वर्थ डाटा अनुसार, गौतम अडानीको सम्पत्ति ९० बिलियन डलर रहेको छ भने मुकेश अम्बानीको कुल सम्पत्ति ८९.८ बिलियन डलर रहेको  छ । यस तथ्याङ्क अनुसार आम्दानीका हिसाबले विश्वमा अडानीको नम्बर ११औं स्थानमा रहेका छन् ।

दुई दिनमा रिलायन्सको सेयरमा १५५ रुपैयाँ घट्यो

बम्बई स्टक एक्सचेन्ज (बीएसई) को तथ्यांक हेर्दा रिलायन्स इन्डस्ट्रिजको शेयर दुई दिनमा १५५ रुपैयाँले घटेको छ । पछिल्लो पाँच कारोबार सत्रमा रिलायन्सको शेयर २ सय रुपैयाँ घटेको छ । फोर्ब्सको तथ्यांक अनुसार मुकेश अम्बानीको सम्पत्ति दुई दिनमा ७ अर्ब डलर अर्थात ५२ हजार करोड भारतीय रुपैयाँले घटेको छ ।

फोर्ब्सको वास्तविक-समय डाटा अनुसार, गौतम अडानीको कुल सम्पत्ति डिसेम्बर ३१, २०२१ मा ७८ बिलियन डलर थियो, जुन जनवरी १८, २०२२ मा बढेर ९३ बिलियन डलर पुगेको थियो । यस समयमा अर्थात जनवरी २५ मा अडानीको कुल सम्पत्ति ९० बिलियन डलर रहेको छ । यसअनुसार नयाँ वर्षमा गौतम अडानीको नेटवर्थले दैनिक ६ हजार करोडभन्दा बढीले बढिरहेको छ ।

अडानी समूहका ६ कम्पनी भारतीय शेयर बजारमा सूचीकृत छन् । यसै वर्षको जनवरीमा नै यी सबै कम्पनीले ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म प्रतिफल पाएका छन् । विशेषगरी समूहका ऊर्जा कम्पनी सबैभन्दा बढी नाफामा रहेका छन् । यसमा पनि अदानी ग्रीन इनर्जीले ४५ प्रतिशतभन्दा बढी वृद्धि दर्ता गरेको छ । यसबाहेक अडानी ट्रान्समिसन र अडानी पावरका लगानीकर्ताले पनि कम समयमा बढी प्रतिफल पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै