• २०८३ मङ्सिर १३ आइतबार

बिल गेट्सको चेतावनी: एआईबाट अस्पताल, बैंक र विद्युत् प्रणालीमा साइबर आक्रमणको जोखिम बढ्यो

बिल गेट्सको चेतावनी: एआईबाट अस्पताल, बैंक र विद्युत् प्रणालीमा साइबर आक्रमणको जोखिम बढ्यो

काठमाडौं । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा गम्भीर जोखिम बढिरहेको चेतावनी दिएका छन् ।

उनका अनुसार नयाँ एआई उपकरण र विशेषगरी खुला संरचनाका एआई नमुनाको दुरुपयोग गरेर ह्याकरहरूले अस्पताल, बैंक तथा विद्युत् प्रणालीजस्ता अत्यावश्यक सेवाका सफ्टवेयरमा रहेका कमजोरी पत्ता लगाई आक्रमण गर्न सक्छन् ।

फाइनान्सियल टाइम्सको ‘फ्युचर अफ एआई’ सम्मेलनमा बोल्दै गेट्सले आधुनिक एआई उपकरण प्रयोग गर्ने आक्रमणकारी समूहले अहिले नै महत्त्वपूर्ण डिजिटल प्रणालीलाई निशाना बनाउन सक्ने बताएका छन् । यस्ता प्रणालीका सफ्टवेयर सुरक्षित बनाउन ठूलो काम आवश्यक पर्ने र कमजोरी हटाउन प्राथमिकताका साथ काम गर्दा पनि करिब पाँच वर्ष लाग्न सक्ने उनको भनाइ छ ।

गेट्सले खुला संरचनाका एआई नमुनाबाट सुरक्षा निगरानीसम्बन्धी सुविधा हटाउन सकिने भएकाले जोखिम अझ बढ्ने बताए । एआईले सफ्टवेयरका कमजोरी तीव्र गतिमा पत्ता लगाउन सक्ने भएकाले गलत हातमा पुगे यसको दुरुपयोगबाट ठूलो क्षति हुन सक्ने उनको चिन्ता छ ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले पनि एआईले सफ्टवेयरका कमजोरी छिटो पत्ता लगाउन थालेपछि सुरक्षा सुधारका उपाय तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

गेट्सले आगामी वर्षहरूमा फिरौतीका लागि गरिने साइबर आक्रमण बढ्न सक्ने चेतावनी दिँदै एआईको दुरुपयोगबाट कोभिडभन्दा पनि गम्भीर जैविक जोखिम सिर्जना हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

उनले एआई कम्पनीलाई मात्रै सुरक्षा नियम बनाउने जिम्मेवारी दिन नहुने बताउँदै सरकारले खुला संरचनाका एआई नमुनाको प्रयोग र नयाँ एआई प्रणालीको सुरक्षा परीक्षणका लागि स्पष्ट मापदण्ड बनाउनुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै